कोरोनाबाट मुक्त भएकी युवतीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती उपचारपछि निको भएर घर फर्किएकी छन् ।

गत चैत १० गते कोरोना संक्रमण पुष्टि भएकी काठमाडौंकी १९ वर्षीया युवती शनिबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट ‘डिस्चार्ज’ भएकी हुन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ‘आइसोलेसन वार्ड’मा उपचाररत् ती युवतीको सबै ‘रिपोर्ट नेगेटिभ’ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । ती युवती चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन् ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमति व्यक्ति स्वस्थ भइ अस्पतालबाट ‘डिस्चार्ज’ भएकामा उनको आरोग्यको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले उनको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरूलगायतलाई बधाइ तथा धन्यवादसमेत व्यक्त गरेका छन् ।

‘कोरोनाभाइरसबाट संक्रमित दोस्रो बिरामी आज पूर्ण स्वस्थ भइ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा सम्बद्ध सबैलाई बधाइ तथा धन्यवाद ।’–प्रधानमन्त्री ओलीको ट्वीटमा लेखिएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री