राहत वितरणमा राजनीतिक आस्था र पहुँचको आधारमा भेदभाव : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राहत वितरणमा सर्वदलीय समिति बनाउन माग गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकन्ठमा शनिबार बसेको पदाधिकारी बैठकले राजनीतिक आस्था र पहुँचको आधारमा राहत वितरणमा भेदभाव भएको निष्कर्ष निकाल्दै सर्वदलीय समिति बनाउन माग गरेको हो ।

बैठकले ‘लकडाउन’का कारण दैनिक ज्यालादारी गर्ने श्रमिक, आर्थिकरुपमा विपन्न समुदाय, डेरा गरी बस्ने विद्यार्थी र सर्वसाधारणका लागि अत्यावश्यक सामाग्री आपूर्तिमा देखिएको समस्यालाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

बैठकमा सहभागी पार्टी सहमहामन्त्री डा.प्रकाशशरण महतले ज्यालादारी श्रमिक र न्यून आय भएका व्यक्तिहरु खाना र बासको अभावले १० दिन हिँडेर काठमाडौंबाट टाढा–टाढाको दूरीमा पैदलयात्रा गर्न बाध्य भएको भन्दै यस्तो अवस्थामा पनि सरकार संवेदनशील हुन नसकेको टिप्पणी गरे ।

यस्तै, बैठकले सडकमा अलपत्र परेका नागरिकलाई तत्काल खान र बस्नको व्यवस्था गर्न, कोरोनाभाइरस परीक्षणमा दायरा बढाइ तीव्रता ल्याउन र खाडी मुलुक तथा विदेशमा समस्यामा परेका नागरिकको सहयोगका लागि सम्बन्धित देशका सरकारसँग कूटनीतिक पहल गरी समस्या समाधान गर्न सरकारसँग माग गरेको सहमहामन्त्री डा। महतले जानकारी दिए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री