बागलुङमा ६५ वर्षीया महिलाले जितिन कोरोना

काठमाडौं । नेपालकी छैटौं कोरोना संक्रमित महिलालाई कोरोना निको भएको छ ।

बागलुङ नगरपालिका–३, गौडाकोटकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको तेस्रो र चौथोपटकको ‘रिपोर्ट नेगेटिभ’ अर्थात् कोरोना निको भएको आएपछि धौलागिरि अञ्चल अस्पताल बागलुङमा १७ दिनदेखि उपचाररत् उनको ‘डिचार्ज’ गर्ने तयारी भइरहेको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र वि पोखरेलले जानकारी दिए ।

गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी उनलाई चैत १७ गते कोरोना संक्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको ‘आइसोलेसन’मा भर्ना गरी उपचार भइरहेको थियो ।

कोरोना संक्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत् महिलाको यसभन्दा पहिले दुईपटक स्वाब परीक्षण गर्दा ‘पोजिटिभ’ आएपनि तेस्रो र चौथोपटक ‘नेगेटिभ’ आएका कारण उनलाई कोरोना ठीक भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले जानकारी दिए ।

‘चौथो रिपोर्ट पनि नेगेटिभ आएको छ’–गुरौँले भने–‘दुईपटकसम्म नेगेटिभ रिपोर्ट आउनु भनेको कोरोना निको हुनु हो ।’ अस्पतालबाट डिस्चार्ज भएकी महिलालाई अझै केही समय घरकै ‘क्वारेन्टाइन’मा बस्नुपर्ने डाक्टरहरुले बताएका छन् । नेपालमा ती महिला कोरोना निको हुने तेस्रो संक्रमित हुने बताइएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री