बैशाख ९ः जनयुद्धको अन्तिम फौजी मोर्चाको सम्झना

-जानुका धमला

म अहिले त्यही पेरिस कम्यूनको मझेरी र आँगनमा छु । राज्यसत्ताविरुद्धको विद्रोहको युगीन पाठशाला मानिने पेरिस कम्युनको आँगनबाट नेपालको युगीन विद्रोहको अनुभव बाँड्न पाउने भाग्यमानी हूँ आजको दिनमा म । यसैले म आज यहाँबाट माओवादी जनयुद्धको अन्तिम मोर्चा मानिने चौतारा मोर्चाको गर्त उधिनिरहेको छु ।

यहाँ पनि कोरोना भाइरसको कहरले कोठामा कैद छु । आफैंलाई बन्दी बनाएर बस्नुको पीडा अनेक छन् । यस्तो बेलामा म स्मृतिका पानाबाट विस्मृत हुँदै गरेका पुराना अनुभवका पाना पल्टाउने जमर्को गरिरहेको छु ।

यो पृष्ठमा जनयुद्धका आँधीमय पछिल्ला दिनका अनुभूति छन् । त्यस्तो आँधिमय दिनको साक्षी हुनुको ग्लानी होइन, पीडा पनि होइन, गर्वका श्रृंखला कुँदिएका छन् मनभरी ।

ठोकर्पाबाट जिउँदै र सग्लो भएर लगत्तैको अर्को चौतारा मोर्चाको साक्षी हूँ म । सेनाको स्थल र हवाई आक्रमण छिचोल्दै त्यही सेनाविरुद्ध गौरवशाली आक्रमणमा सहभागी हुन पाउने भाग्यमानी मान्छु म आफूलाई ।

सिन्धुपलाञ्चोक जिल्लाको ठोकर्पामा तय गरिएको हतियार प्रर्दशन कार्यक्रम शाही नेपाली सेनाको हवाई आक्रमणका कारण बिथोलियो । यो त्यही कार्यक्रम थियो जहाँ वर्तमान सभामुख अन्निप्रसाद सापकोटा बालबाल बाँचेका थिए । संयोगले त्यो त्यही कार्यक्रम थियो जहाँ बाँचेका पार्टीका दुई जना शीर्ष नेतृत्व देशको सभामुख भए । ठोकर्पाको विषयमा अर्को आलेखमा चर्चा गरौंला । यो पाली चौतारा मोर्चाको सम्झना गरौं ।

२०६३ बैसाख ९ गतेको चौतारा मोर्चा । यसलाई माओवादी जनयुद्धको अन्तिम फौजी मोर्चा भनिन्छ । यही मोर्चापछि राजतन्त्रविरुद्ध सात राजनीतिक दल र विद्रोही नेकपा माओवादी सुगठित र संगठित भएर विस्तृत शान्ति सम्झौताको चरणमा कटिबद्ध भएका थिए । र, त्यसपछि शाही नेपाली सेना र माओवादीले गठन गरेको जनमुक्ति सेनाबीच ‘अहो !’ भन्ने भीषण लडाई भएन ।

रणनीतिक प्रत्याक्रमणको चरण थियो । ढाडमा टेकेर टाउकोमा ठोक्ने भनिएको थियो । तर ठोकर्पामा झण्डै झण्डै माओवादीले ठूलो धक्का खाएन । तर त्यहाँ राज्यपक्षीय सेनाले जितेन । जितेको हुँदै होइन । बरु ठोकर्पाको सहायक लडाईमा राज्यपक्षीय सेनाले हार खाएको हो । माओवादीविरुद्ध राज्यको लागेशक्तिको बल खेर गएकै हो ठोकर्पामा । यहाँ विद्रोही धुलिसात भएको हुँदो हो त जनयुद्धको अन्तिम फौजी मोर्चाको रुपमा चौताराको परिकल्पना हुँदैनथ्यो सायद !

ठोकर्पालगत्तै कमाण्ड इन्र्चाज बर्षमान पुन (अनन्त) को अध्यक्षतामा मध्य कमाण्ड अन्र्तगतको महत्वपूर्ण वैठक बस्यो । वैठकमा सम्बन्धित जिल्ला इन्चार्जहरु र तत्कालीन जनमुक्ति सेनाको डिभिजन, ब्रिगेड र बटालियनका कमिसार, कमाण्डर र सहकमाण्डर कमाण्डरलगायतका थिए । त्यही वैठकले राजधानी वरीपरि कै जिल्लाको सदरमुकाम कब्जा गर्ने रणनीतिलाई कार्यान्वयनको दिशामा लगेको हो ।

धेरैलाई ऊ बेला माओवादी र सात राजनीतिक दलबीच राजतन्त्रविरोधी आन्दोलनमा फौजी आक्रमण पनि गर्ने सहमतिको विषय पत्यार लाग्दैन । पुष्पकमल दाहाल प्रचण्डले यस विषयमा अभिव्यक्ति गरेका अनभुवमाथिको टिकाटिप्पणी हेर्दा र सुन्दा धेरैले पत्याएको जस्तो लाग्दैन । तर सात राजनीतिक दलले सडकमा राजतन्त्रविरोधी अभियान चलाउने र जनमुक्ति सेनाले राजधानी वरिपरी नै शाही सेनाको ब्यारेकमाथि फौजी धक्का दिने कुरा राजनैतिक दल र बिद्रोही (माओवादी) दलका नेताहरु सहमत भएकै हुन् । यही सहमतिकै सेरोफेरोमा सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित रिपिटर टावर आक्रमणको योजना तय भएको हो ।

त्यो बेला वातावरण रातो र तातो दुबै थियो । बेथान स्मृति ब्रिगेड, बासु स्मृति ब्रिगेड, प्रताप स्मृति ब्रिगेडबाट प्लाटुन सहकमाण्डर सम्म र जिल्ला पार्टीको तर्फबाट एरिया कमिटी सदस्यसम्मको उपस्थितिमा सिन्धुपाल्चोकको बाफलनजिकै घ्याङ्घडाँडामा एउटा प्रशिक्षण कार्यक्रम भयो । त्यसलाई कमाण्ड इन्र्चाज बर्षमान पुन, क्षेत्रिय ब्युरो इन्र्चाज अग्निप्रसाद सापकोट र जनमुक्ति सेनाको व्रिगेड कमाण्डर एवम् कमिसारहरुले प्रशिक्षण दिए ।

प्रशिक्षणमा अनन्त भन्दै थिए ‘हामी बिजय निकट छौ । अन्तिम धक्का दिने बेला नजिक आएको छ । त्यसपछि निरंकुश राजतन्त्रको अन्त्य भएर लोकतान्त्रिक गणतन्त्र नेपाल उदय हुनेछ ।’ डिभिजन कमाण्डर विबिधले ‘ हामीले लडेको यो लडाईको अन्तिम मोर्चासँगै नेपालको शासन ब्यवस्थाको स्वरुप फेरिने र जनताको हक अधिकारको नयाँ युग शुरु हुने’ दावी गरे । डिभिजन सहकमाण्डर सञ्जीवले ‘युद्धको नयाँ मोर्चालाई नयाँ युद्धकलासहित सजाएर सुनौलो नेपालको शुरुवाती दिने’ सपना लडाकूको आँखाभरी सजाइदिए ।

लडाकू छापामारका रुपमा कमाण्डरका यस्ता भनाईले रगत उमाल्छ । दृढ बनाउँछ । कठोर बनाउँछ । उसै मान्छे बलिदानीका लागि तयार कहाँ हुन्छ ? हिजो के भयो, आज के भयो र भोली के हुन्छ भन्ने प्रश्नहरुलाई असरल्लै छाडौं । तर, लडाई लडियो त्यही यथार्थ हो ।

ठोकर्पाबाट बाँचेका पार्टीका दुई जना शीर्ष नेतृत्वले देशको संसद्को सभामुखको भूमिका निभाउने संयोग बनाए । चौतारा अर्को त्यस्तो संयोग हो जहाँ जनयुद्धको पहिलो फौजी मोर्चादेखि अन्तिम मोर्चासम्म एउटा महिला छापामारको भूमिका भेटिन्छ । ओनसरी घर्ती यसकै उदाहरण हुन् । चौतारा मोर्चाको स्मृतिभित्र हामीले जनयुद्धबाट उठेकी ओनसरी र तारा घर्तीहरुको भूमिकालाई अन्देखा गर्नहुँदैन भनेर सम्झिएको हो ।

माओवादीले राखेको संविधानसभाको बटमलाइनमा संसदवादी राजनीतिक दलहरु भित्रभित्रै सहमति भइसकेको त्यतिबेला चर्चा थियो । काठमाण्डौलगायतका शहरका सडकमा राजतन्त्र विरोधी असन्तुष्टीले गति लिंदै थियो । राजनीतिक दल र माओवादीबीचको सहकार्यले अब राजतन्त्र रहँदैन भन्ने विश्वास जनतालाई दिएको थियो । तर ठोस परिणाम निकाल्न मध्यकमाण्डलाई जतिसक्दो छिटो तर सफल फौजी आक्रमण रचना गर्नु थियो ।

यसैलाई मूर्तिकृत गर्न सिन्धुपाल्चोकको बाफलबाट बेथान स्मृति व्रिगेडका,बासु स्मृति व्रिगेड,प्रताप स्मृति व्रिगेडका जनमुक्ति सेना युद्धस्तरमा युद्धसामाग्री तयार गरेर चौतारातर्फ अगाडि बढे । प्रचण्डले भन्नेगरेको दलहरुबीच फौजी र सडक प्रदर्शनको समन्वयबीच मध्यकमाण्डको हतारो यसैमा अड्किएको थियो भन्ने लाग्छ अहिले । परिणामतः सेनाको गण, प्रहरी, प्रशासन, कारागार र दूरसञ्चारलगायतका सरकारी कार्यालयहरुमा सयौं जनमुक्तिसेनाले एकसाथ हमला बोले ।

संसदवादी सात दलहरुले सक्रिय राजतन्त्रको विरोधमा शान्तिपूर्ण आन्दोलन शुरु गरेयता माओवादीले गरेको त्यो ठूलो सशस्त्र आक्रमण थियो, जसलाई पछि दल र माओवादीको सहमतिमै भएको भन्ने दावी गरिंदै आएको छ । तर, लडेको हामीले हो, जनमुक्ति सेनाको एक्लो बलमा ।

खैर, चौतारा मोर्चा हामीले लडेका युद्धहरुबीच सबैभन्दा रोमाञ्चक थियो । मनोभावना नै के तयार गराइयो भने त्यही (चौतारा) नै अन्तिम युद्ध हो र त्यसपछि हाम्रो मुक्तिको ढोका खोलिने छ । पुरानो व्यवस्थाविरुद्धको घृणा र आक्रोशको त्यो तुफानी आवेग हामीले त्यसअघि सायदै अनुभव गरेका थियौं ।

मैले त्यो युद्धमा म भएर भनेको होइन, हामीबीचका युद्ध संवादको सारांश अहिले बाँडेकी हूँ ।

डिभिजन कमाण्डर, सहकमाण्डर र तीनवटै व्रिगेडका कमाण्डर आफ्नोआफनो फर्मेशन लिएर ठोर्कपाबाट बलेफीको सुनकोशी नदी तरेर जलबिरे आसपासका घरहरुमा सेल्टर लिएर बस्यौं । ती दिन माओवादीको जनमुक्ति सेनाको आऊजाऊ निक्कै बाक्लो थियो । शत्रु सेनाको नाकैमुनीबाट हामी अन्तिम युद्धको घनिभूत तयारीमा थियौं । उसलाई हाम्रो बारेमा थाहा होस् नहोस्, त्यसको पर्वाह नै कम थियो ।

हो, यसैले त्यो युद्धको रोमाञ्चकता बढी थियो भनेकी हूँ मैले । यस्तो लाग्थ्यो मानौं सबैखाले मुक्तिको ढोका खुल्दैछ । दलहरुबीच सम्झौताको ढोका त खोल्यो तर जनयुद्धकै ढोका त्यति सजिलै बन्द होला भन्ने हामीलाई लागेको थिएन । पछि मात्र थाहा भो ।

२०६३ बैशाख ९ गते बेलुकीे सांझ ७ बजेपछि जनमुक्ति सेना जलबिरे बजारमा जम्मा भए । आधुनिक र सुविधासम्पन्न सेना र प्रहरीसँग, मुख्यालयसँग जोडिएको क्षेत्रमा, सडक र हवाई दूरीको निकटतामा पनि नजिक क्षेत्रमा रहेको जिल्ला सदरमुकाममा विद्रोही पक्षको एउटा डिभिजनको तहले फौजी कारबाही गतिशील बनाउनु जनमुक्ति सेनाको फौजी गुणस्तरीयताको सवालमा पनि महत्वपूर्ण थियो ।

डिभिजन कमाण्डर विविधको उपस्थितिमा रोलकलमा निर्देशन प्राप्त भयो । सबै व्रिगेड, मताहतका एसल्ट कमाण्डरहरु र फोर्सलाई लिएर अगाडि बढे । सबै आफ्नोआफ्नो आर्कमा पुगे । आक्रमणको अन्तिम तयारीबारे डिभिजन कमाण्डरको सञ्चार सेटमा कुरा भयो ।

त्यो समय आयो । डिभिजन कमाण्डरले आक्रमणको तयारी आदेश दिए । रातको १० बजे युद्धको बिगुल बज्यो र सबै जनमुक्ति सेनाले आफ्नो तर्फबाट फायर खोल्यो ।

मोर्चाको पूर्ण कमाण्ड डिभिजन कमाण्डर आफैले गरेका थिए । फिल्डलाई डिभिजन सहकमाण्डर सञ्जीवले हाँके । सैन्य क्याम्प ब्लक कमाण्ड क. सबिनले सम्हाले । जिल्ला प्रहरी कार्यालय ब्लकलाई क.अशोकले । मुख्य मिसन चाही सेनाको क्याप नजिकै रहेको रिपिटर टावर पूर्ण रुपमा कब्जा गर्नु नै थियो । यसको फिल्ड कमाण्ड क.जिवित, क विकल्पको कमाण्डमा थियो ।

युद्ध भीषण चल्यो । डिभिजन कमाण्डरले फिल्ड कमाण्डरहरुलाई सञ्चार सेटमार्फत काम गरिरहेका थिए ‘युद्ध जित्नपर्छ, तर कम क्षतिमा धेरै उपलब्धी हासिल गर्नपर्छ ।‘

यहीबेला सेनाको नाइटभिजन हेलिकप्टरले माथीबाट फायर गर्यो । ८१ एमएमका सेलहरु आकाशबाट खस्न थाल्यो । तर त्यसको प्रभाव जनमुक्ति सेनामा परेन । यसैले उनीहरु निरन्तर लडिरहे ।

रातको करिब १ बजेतिर डिभिजन कमाण्डर भएको ठाउमा सञ्चार सेटमार्फत सबै ठाउँको रिपोर्ट संकलन भयो । सबैतिर आक्रमण भीषण अगाडि बढिरहेका थियो । करिब १५ मिनेटपछि क बिकल्प र क जिवितको सञ्चार सेटबाट ‘सोचेभन्दा बलियो फोर्टिफिकेसनका कारण मोर्चा अघि बढ्न कठीन भएको र चारजनाको शहादत भएको’ खवर आयो ।

त्यहाँ केही बेरका लागि फायरिंग रोकियो । आफनो आफनो कमाण्डमा रहेको साथीहरुलाई घाइते र शहादत प्राप्त गरेको साथीहरुको शव लिएर फर्कने आदेश गयो । सबै कमाण्डरहरु फर्कने तयारीमा रहँदा शाही नेपाली सेनाले बमबाड शुरु गर्यो । त्यो ज्याजै भीषण थियो । उसले आकाश र जमीनबाट आफूसँग भएको सम्पूर्ण शक्ति प्रयोग गरिरहेको थियो । फर्कने क्रममा नै क विबिध ८१ सेलको टुक्रा लागेर घाइते भए । मोर्चामा बिजयकुमार न्योैपाने (क.शैलेस) क.जीवन्त, क. क्षितिज, क.असिमले शहादत प्रापत गरे । क.रन्जन, क.जिबन, क.रञ्जितलगायत ५० जना कमरेड गम्भीर घाइते भए ।

युद्धका अनेक परिस्थिति हुन्छन् । तात्कालीन बिग्रेड कमाण्डर ऋखेश्वर बुढामगर (क.सविन) सम्झन्छन्, ‘त्यो निकै प्रतिअनुकूल परिस्थितिको बीचमा तय भएको युद्धमोर्चा थियो, हामीले रेकि गरेर फर्किएपछि उनीहरुले फौजी फोर्टिफिकेसन झन् बलियो बनाएका रहेछन् । उनीहरुले आक्रमणभन्दा प्रतिरक्षामा जोड दिएका रहेछन् । उनीहरुलाई माओवादी हमला हुन्छ भन्ने कुरा राम्रैसँग थाहा थियो । किनकी उनीहरुकै क्षेत्रमा प्रायः नयाँ अनुहारका मानिसहरुको चहलपहल केही दिनदेखि निकै थियो ।’

‘जनयुद्धको बिसर्जन, जनमुक्ति सेनाको बिसर्जन, जनसरकारहरुको बिसर्जन र जनअदालतहरुको बिसर्जन जायज थियो कि थिएन ?’ अहिले यो मिठो प्रश्न होइन ।

जनयुद्धको शान्तिपूर्ण अवतरण ‘पार्टी, क्रान्ति र जनताप्रति घात भयो कि भएन ?’ यो प्रश्नको औचित्य पनि अहिले उस्तो छैन ।  जनयुद्धककै बलमा मुलुकमा ठूलो राजनीतिक परिवर्तन भएको ध्रुवसत्य हो । तर त्यसको फाइदा कसले कसरी लियो वा कसले किन पाएनन् ? यो तीतो प्रश्नको उत्तरको अपेक्षा पनि आज छैन ।

जसका लागि गणतन्त्र आउनपर्ने थियो तिनका लागि गणतन्त्र साँच्चै आयो कि आएन ? जो बलिया थिए र जोसँग पहूँच थियो तिनलाई मात्र गणतन्त्र लाग्यो भन्ने आरोपहरुमा सत्यता छ कि छैन ? यस्ता प्रश्नहरु अहिले तयार गर्नुको महत्व र अर्थ दुबै छैन ।

संघीयताको फूल र गाउँगाउँमा सिंहदरबारको फल युद्धलाई आदर्श मानेर लड्ने भोका, निमुखा, विपन्न, सीमान्तकृत पिछडाबर्गसम्म पुग्यो कि पुगेन ? अहिले यस्तो सवाल उठाएर अरिंगालहरुको कठघरामा जाने रहर पनि म पाल्दिन । अर्थ चाँहि के मा रहेछ भने युद्धमा लागेको घाऊले दुखाएको शरीरको उपचार हुने रहेछ तर मनै दुखेपछि ओखतीको अपेक्षा पनि नहुने रहेछ ।

चौतारामा देखिएका सपना देउरालीसम्म किन पुग्न पाएन ? म आफैंसँग प्रश्न गर्छु । भर्चुअल संसारमा सँगैका सहयोद्धाहरुसँग पनि सोधें चौताराको स्मृति । धेरैका धेरैखाले उत्तर आए । तर चित्त बुझ्ने उत्तर आफैंसँग नभएको बेलामा अरुको उत्तरमा अल्झनु पनि त जायज छैन ।

अन्तमा चौतारा मोर्चाका महान शहिद बिजय न्यौपाने (क.शैलेस) किरण लामा (क.जीबन्त) क.असिम र क.क्षीतिज प्रति हार्दीक श्रदासुमन तमाम घाइते कमरेडहरु प्रति उच्च सम्मान छ ।

(पुरुषोत्तम लम्सालको सहयोगमा)

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री