भारतीय परिवार नेपालमा भोकभोकै

-राधेश्याम विश्वकर्मा

भैरहवा । कालो बादल मडारिंदा खुल्ला चौरमा त्रिपालको भरमा बसेका महबुबको परिवारको अनुहार पनि डरले कालोनिलो हुन्छ । आकाशबाट पानी प¥यो भने कहाँ जाने भन्ने चिन्ताले पिरोलिन थाल्छ । हावा, हुरी, पानी, असिना जस्ता आपतबाट जोगाउन उनको १७ जनाको परिवारको आश्रय स्थल नै यही त्रिपाल बनेको छ ।

महबुबको परिवारमा बस्ने समस्या भन्दा पनि पेटको जोहो गर्ने समस्या ठूलो छ । चार महिनाको शिशु समेत रहेको उनको परिवारमा सुत्केरीलाई पोषणयुक्त खानेकुराको त कुरै छाडौ पेट भर्न पनि धौधौ परेको छ । लकडाउनको मारमा नराम्ररी परेको छ महबुबको परिवार ।

महबुब नेपाली हैनन् उनी भारत हैदराबादका हुन् । उनको परिवार बिभिन्न धातु पगालेर सुन्दर आकृति काम गर्दछ । बर्षौदेखि नेपाल आउने जाने गरेको उनी काम चलाउ नेपाली भाषा बोल्न सक्छन् । तर उनलाई राहत दिलाउन नेपाली भाषा नै पर्याप्त रहेन । नेपाली नगरिकताकै अभावमा उनले राहत पाउन सकेका छ्रैनन् ।

काम गरेर कमाएको रकम सकिएको छ भने उनको झुपडीमा अन्नको गेडो पनि छैन । देवदह नगरपालिका वडा नम्बर ११ सिक्टहनमा अस्थायी आश्रय स्थल बनाएर बसीरहेका यी भारतीय नागरिकलाई देवदह नगरपालिकाले नागरिकता नभएकै कारण राहत दिएन ।

नगरपालिकाको वडा नम्बर ११ मा ४ सय ९ घरधुरीलाई राहत बितरण गरियो । तर राहतको वास्तविक हकदार महबुबको परिवार नागरिक नभएकै कारण एकदाना अन्न पाएन । नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अमर बहादुर चौधरीले ब्यक्तिगत राहत दिन पहल गर्ने बताए । उनले वडाको विपन्नहरुको सूची पठाएकोले उनीहरुलाई सरकारी राहत दिन नसक्ने बताए ।

लकडाउनकै कारण भारतमा नेपालीहरु र नेपालमा भारतीयहरु फसेका छन् । लकडाउनको अवधिमा भारततर्फका नेपालीलाई भारतले र नेपालतर्फका भारतीयलाई नेपालले संरक्षण एवम हेरचाह गर्नुपर्ने हो । अन्य स्थानमा त्यस्तो भएको पनि छ तर देवदह नगरपालिकामा भारतीयले सरकारी स्तरबाट नै हेपिएका छन् ।

घुमाहा टोली भएकोले कहिले कहाँ कहिला कहाँ यो टोली घुमिरहेको हुन्छ । यसै क्रममा लकडाउन परेपछि टोली भारत जान सकेन । जान नसकेपछि अहिले सिक्टहनमा अस्थायी बास बसेको छ । अहिले आफुसित भएका नगद र अन्न सबै सकिएको घरका मुखिया महबुबले बताए । उनले स्थानिय गाउँलले केही अन्न दिए दिएकोले परिवार पालिएको बताए ।

स्थानीय पुरुषोत्तम मुनंकर्मीले यस परिवारको बारेमा नगरपालिकालाई जानकारी गराएको बताए । “नेपाली नभए पनि अति विपन्न परिवार भएकोले नगपालिकालाई सहयोग गरिदिन आग्रह गरेका थियौं तर नगरपालिकाले अहिलेसम्म हेरको छैन ।”

यस बिषयमा देवदह नगरपालिका प्रमुख हिरा केसीलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच अफ भएको कारण सम्पर्क हुन सकेन ।

आठ महिला ६ पुरुष र तीन जना बालबालिकासहित १७ जनाको यो परिवारले अहिले नेपाली अन्नदाता खोजी रहेको छ । पेटको जोहो गर्न भारतबाट नेपाल आई पुगेको यो टोलीले सरकारी राहत नपाएपछि लकडाउन अवधि धरआफ्नो जिवन रक्षाको लागी स्थानिय दातालाई सहयोग गरिदिन आग्रह गरेको छ ।

टिप्पणी थप्नुहोस्