‘ओलीले संविधान भत्काए, सत्तामा रहने नैतिकता छैन’

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेताहरुले स्थीर सरकारको नारा दिएर सत्तारोहण गरेका बर्तमान प्रधानमन्त्रीसंग अव सरकारमा वसिरहने नैतिक आधार वांकी नरहेको निश्कर्ष निकालेका छन् ।

उनीहरुले आज बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै संविधान बनाउँदा अत्यन्त सुझवुझका साथ राखिएको प्रावधानहरूलाई भत्काएकाले सत्तामा रहने नैतिकता प्रधानमन्त्री केपी ओलीसँग नभएको ठहर गरेका हुन् ।

सरकारले जारी गरेका दुवै अध्यादेशबाट कुनै दल विशेषको विषय वा कानून परिमार्जनको विषयमा मात्र सिमित नभई संविधानले परिकल्पना गरेको सिंगो राजनीतिक व्यवस्थामाथी प्रहार गरेको उनीहरुले दावी गरेका छन् ।

युवा ११ नेताहरुले वक्तव्य मार्फत् सोधेका छन्, “संविधानले व्यवस्था गरेको संवैधानिक परिषदको नियुक्तिको प्रावधानलाई संविधानकै खिलाप हुनेगरी अध्यादेश ल्याउने अधिकार सरकारलाई कसरी भयो ? के मनसुवाका साथ त्यो प्रावधान हटाइयो ?”

केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ्ग, रत्ना शेरचन, गगन कुमार थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव, सरिता प्रसाइले जारी गरेको वक्तव्यमा संविधानलाई कुल्चेर ल्याइएको जालझेल र षडयन्त्रपुर्ण अध्यादेश प्रधानमन्त्रीको आफ्नो स्वार्थ पूर्ति गर्न र आफ्नो महत्वकांक्षा पुरा गर्नको लागि हो भन्ने प्रष्ट भइसकेको उल्लेख गरिएको छ ।

उनीहरुले संवैधानिक अंगहरूमा कब्जा गर्ने मनोकांक्षाका साथ कार्यकारी व्यक्तिको चाहना वा निर्णयबाट संवैधानिक निकायको नियुक्ति गर्ने प्रावधानहरूले संवैधानिक निकायको स्वायत्ततामाथिको निर्मम प्रहार, संविधानले व्यवस्था गरेको सन्तुलन र नियन्त्रणको समेत पूर्णत वर्खिलापमा रहेको जनाएका छन् ।

वक्तव्यमा लेखिएको छ, “जनताले गरेको वलिदानवाट प्राप्त संविधान न कुनै नेता, गुट वा पार्टी विशेषको सत्ता लिप्साका निम्ति थियो नत यो कुनै व्यक्तिको लहड र सनकको अस्त्र बनाउनका लागि हो ।”

लोकतान्त्र र संविधानमाथी नै प्रहार गर्ने कुत्सित मनसायबाट उत्प्रेरित अध्यादेश सरकारले अबिलम्ब फिर्ता लियोस्, अन्यथा यस विरुद्धको प्रतिरोध आन्दोलनको परिणाम भोग्न तयार रहोस् भन्ने चेतावनी पनि वक्तव्य मार्फत् काँग्रेसका युवा नेताहरुले दिएका छन् ।

सरकारको यो कदममा राष्ट्रपतिको भूमिकालाई अस्वभाविक हतारो र संलग्नता आश्चर्यजनक मात्रै होइन संशयपूर्ण पनि रहेको उनीहरुको ठहर छ । यस घटनाले राष्ट्रपति जस्तो गरिमामय संस्थालाई पुनः एकपटक कुनै दल भित्रको गुट विशेषको सहयोगी जस्तो बनाएको युवा नेताहरुले आरोप लगाएका छन् ।

यतिवेला आफुहरु कोरोना विरूद्धको लडाई र सरकारको असंवैधानिक कदम विरुद्धको लडाई गरी दुई मोर्चाको लडाईमा रहेको काँग्रेसका युवा नेताहरुले वक्तव्यमा उल्लेख गरेका छन् ।

कोरोना महासंकटको बाहनामा सरकारले विषयान्तर गर्न खोजेपनि आफुहरुले सरकारलाई छुट नदिने र अध्यादेश फिर्ता गराई छाड्ने अठोट उनीहरुले व्यक्त गरेका छन् । कोरोनासँगै संविधानलाई जोगाउन पनि एक जुटभएर लड्नेगरी तयार रहन आम नागरिकलाई पनि युवा नेताहरुले आह्वान गरेका छन् ।

लोकतन्त्र र संविधान जोगाउन इतिहासले सुम्पेको अर्को एक दायित्व निर्वाह गर्न प्रविधि मार्फत छलफल गर्नेगरी नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको वैठक अबिलम्ब बोलाउन पनि उनीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

टिप्पणी थप्नुहोस्