‘फुटाउँछु भन्नेलाई जुटेर देखाइदियौं’

काठमाडौं । बुधबार राति मात्र एकीकृत भई नयाँ बनाइएको जनता समाजवादी पार्टी नेपाल, निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान सवा ११ बजे निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी नेपाल’ १३८८ छ नम्बरमा दर्ता भएको हो ।

दल दर्ताका लागि दुबै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेका थिए । उनीहरुले आयोगका अधिकारीहरुलाई पार्टी एकताको औपचारिक जानकारी दिएका छन् ।

नव एकीकृत पार्टी जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताए ।

सरकारले दल विभाजन गर्न रातारात अध्यादेश ल्याएपछि समाजवादी र राजपाबीच बुधबार राति नै पार्टी एकता भएको थियो ।

एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राखिएको छ भने झण्डा समाजवादीको र चुनाव चिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ । दल दर्तापछि एकीकृत पार्टीका नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई निर्वाचन आयोगको प्रांगणबाटै धन्यवाद दिन भ्याएका छन् ।

दल फुटाउन प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपनि आफूहरु तत्काल एकता गर्न सफल भएको भन्दै तत्कालीन राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलका संयोजकले व्यंग्यात्मक धन्यवाद दिएका हुन् । प्रधानमन्त्रीले पार्टी फुटाउने भनेर अध्यादेश ल्याएपनि आफूहरू जुटेको उनले बताएका हुन् ।

दल दर्ताको निवेदन आयोगमा पेश गरेलगत्तै राजपाकै अर्का नेता राजेन्द्र महतोले पार्टी नफुट्ने जिकीर गदै एकताका बाँकी काम लकडाउनपछि पूरा गर्ने बताए । उनले समाजवादी र राजपाबीच सम्मानजनक एकता भएको दाबी गर्दै राजपा र समाजवादीमा फुट हुने कुनै सम्भावना नभएको प्रष्ट गरे ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री