शान्त लुम्बिनी

शब्द/तस्वीर: राधेश्याम विश्वकर्मा

“कुहु कुहु स्वर तानी कोईली गीत गाई
हरर पवन वग्ने फूल नाना नचाई
कति सुखद छ शालोद्यानको माझ गाउ
टहलिन मन लागे लुम्बिनी घुम्न जाउ”

यतिबेला उपेन्द्र अधिकारीले नै भने जस्तै छ लुम्बिनी । बुद्ध जन्मस्थल, बिश्व शान्तिको मुहान । शान्ति स्थल । स्वदेशी बिदेशी पर्यटकको चहलपहल संधै भैरहने यो स्थान अहिले शान्त छ । कोइलीले एकोहोरो ‘कोहो कोहो’भन्दै बोलाए पनि अहिले उसको सुरिलो आवाज सुनिदिने पनि कोही छैन ।

पबित्र उद्यान क्षेत्र, जता हेरयो त्यतै शान्त छ लुम्बिनी । बाटाका छेउमा फुलहरु ढकमक्क छन् । तर ती फुलहरु त्यसै ओइलाएर गईरहेका छन् उनीहरुको सुगन्धमा बहकिने कोही छैन । मायादेबी मन्दिर, पबित्र पुष्करनी कुन्ड, बिश्व शान्ति द्धिप, केन्द्रिय नहर मात्र होईन, त्यहाँ रहेका बिभिन्न बिहारहरु पनि पूर्ण रुपमा खाली छन् ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नागरिकलाई जोगाउन देशब्यापी लकडाउन भएपछि लुम्बिनी शान्त बनेको हो ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवम लुम्बिनी बिकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रेयले लुम्बिनीको यो शान्तीलाई गौतम बुद्धको जन्मसित जोडेका छन् । उनका अनुसार अहिले गौतम बुद्ध जन्मेको समयको रमाइलो उद्यान जस्तै अहिले भएको बताए ।

लकडाउनको पूर्ण प्रभावमा रहेको लुम्बिनीमा हुने सम्पूर्ण आध्यात्मिक गतिविधि समेत अहिले शुन्य प्रायः छ । लकडाउनकै कारण बुद्ध जयन्ती पनि स्थगित गर्ने मनस्थितिमा लुम्बिनी बिकास कोष पुगेको छ ।

विश्व नै कोरोनाको कारण आक्रान्त रहेको अवश्थामा लुम्बिनीमा खुशीयाली मनाउन सकिने अवश्था नरहेको यहाँका पदाधिकारी बताउँछन् । लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मेत्तेय) ले बुद्ध पूर्णिमालाई ध्यान दिवसको रुपमा मनाउने बताए ।

 

 

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री