महबुबको परिवारलाई राहत

समाचार प्रभाव :

भैरहवा । देवदह नगरपालिकामा अस्थायी रुपमा बसोबास गरिरहेका भारतीय परिवारलाई देवदह नगरपालिकाले राहत प्रदान गरेको छ ।

नगरले अलपत्र अवस्थामा रहेका सात भारतीय परिवारलाई प्रति परिवार १५ किलो चामल, डेढ किलो दाल, नुन, तेल, साबुन लगायतको खाद्यन्न सामाग्री राहत स्वरुप प्रदान गरेको छ ।

बिभिन्न धातुका सामाग्री पगालेर मूर्ति बनाउने कामदारको रुपमा नेपाल आएका महबुब लगायतको परिवारलाई देवदह नगरपालिकाले राहत प्रदान गरेको नगरप्रमुख हिरा केसीले जानकारी दिए ।

यसअघि देवदह नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अमर बहादुर चौधरीले नागरिकता नभएकै कारण भारतीय परिवारलाई राहत प्रदान गर्न नसक्ने बताएका थिए ।

अस्थायी रुपमा त्रिपालमुनि बसिरहेका महबुबको परिवार स्थानीयहरुले दिएको अन्नको भरमा बसिरहेका थिए ।  नगर प्रमुख केसीले नगरपालिकाले राहत प्रदान गरेपनि यसलाई प्रचारमा नल्याईएको बताए । उनले नगरपालिकामा अहिले पनि कोही यस्ता बिचल्लीमा परेका वा विपन्न परिवार भएको जानकारी पाए अविलम्ब राहत पुर्‍याइने बताए ।

सरकारकै नीतिको कारण बेरुजु नदेखिने काम गर्नुपर्ने भएको हुँदा नागरिकता खोजिएको बताउँदै केसीले नागरिकताकै अभावमा भने राहतबाट बञ्चित नगर्ने प्रतिवद्धता समेत जनाए ।

रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ११ मा रहेका महबुबको परिवारलाई राहत नपाएकोले रुपान्तरण डटकमले “भारतीय परिवार नेपालमा भोकभोकै” भनेर समाचार प्रकाशन गरेको थियो ।

टिप्पणी थप्नुहोस्