विपक्षी दलको निष्कर्ष: सरकार सर्वसत्तावादतर्फ उन्मुख

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका तीनओटा विपक्षी दलले केपी शर्मा ओली सरकारविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस, जनता समाजवादी पार्टी र राप्रपाको संयक्त बैठकले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै संघर्ष गर्ने निर्णय गरेका हुन् ।

उनीहरुले सरकारको स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु एकताबद्ध भइ संघर्ष गर्नुपर्ने बताएका छन् । बैठकले सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा संलग्नहरुलाई तत्काल कानुनी कारबाही अघि बढाउन पनि माग गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यस्तै, बैठकले ‘लकडाउन’को अवधिमा जनताका न्यूनतम् आवश्यकता पूर्ति गर्न तथा अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न ठोस कार्ययोजना ल्याउन पनि सरकार असफल भएको निष्कर्ष पनि निकालेको छ ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, डा। प्रकाशशरण महत, प्रकाशमान सिंह, प्रवक्ता विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी रहेका थिए ।

त्यस्तै, जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. प्रकाशचन्द्र लोहनी सहभागी थिए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री