कोरोना फैलाउने आरोपमा मुस्लिम युवा कामबाट निकालिए

-राधेश्याम विश्वकर्मा
भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटिपीपल क्षेत्रका सद्दाम हुसैन घरमा कमाउने एक्लो छोरा हुन् । उनले दिनभर मजदुरी गरेपछि मात्र घरमा अन्न पाक्छ । उनी जस्तै अन्य मजदुरहरुको पनि त्यस्तै अवस्था छ ।

हुसैनसहित पाँच जना मुस्लिम कामदारहरु ओमसतिया गाउँपालिका–१ कटैया स्थित दुर्गा मोर्डन दाल मिलमा काम गर्दै आएका थिए । लकडाउन रहेपनि दाल उद्योग संचालनमा छ । तर, उनीहरु मुस्लिम समुदायको भएकै कारण उद्योगमा कोरोना फैलाउन सक्ने भन्दै कामबाट निकालिएको घटना बाहिर आएको छ ।

उद्योगले अफवाह फैलिएकै आधारमा दुई बर्ष लामो समयदेखि काम गरीरहेका आफ्ना कामदारलाई उद्योगबाट निकालेको छ । उद्योगमा काम गर्ने मजदुरहरुले मुस्लिम कामदारको घरमा तबलिगी जमातका मानिस रहेको आरोप लगाएपछि त्यसको छानविन नै नगरी उद्योगले कामदारलाई कोरोना फैलाउने आशंकामा कामबाट निकालेको छ ।

पीडित कामदारहरुका अनुसार बैशाख ९ गते काममा जाँदा मुस्लिमले कोरोना फैलाउने भन्दै लान्छना लगाएर उद्योगको गेटबाट फर्काइएको थियो । पछि ‘नाईट सिफ्ट’ मा कामदारको अभाव भएपछि उद्योगबाट निकालिएका पाँचजना मध्ये दुई जनालाई २÷३ दिन अघिबाट काममा लगाइएको उनीहरुको भनाई छ ।

काममा नलगाइएका मुर्तजा पठान, हुसैन पठान र सद्दाम हुसैन मुस्लिम सामुदायको भएकै कारण उनीहरुको घरमा जमातीहरुको रहेको हुनसक्ने आशंकामा उद्योगका संचालक वृजेश अग्रवालले एकाएक कामबाट निकालि दिएका हुन् ।
मुस्लिम कामदारहरुको घरमा जमातीहरु रहेको सुनेपछि उनीहरुलाई काममा आउनबाट रोक लगाइएको उद्योगी अग्रवालले स्विकार गरे ।

‘ती मुस्लिम कामदारहरुको घरमा जमातिहरु रहेको भन्ने सुनेपछि त्यहाँबाट उद्योगमा कोरोना फैलिन सक्छ भन्ने आधारमा केही दिन काममा नआउनु भनेर रोकेका थियौं’ उद्योगी अग्रवालले भने, ‘तर, अहिले उनीहरुलाई काममा लगाएका छौँ ।’
मुस्लिम सामुदाय भएपनि उनीहरु घरमा जमाति नरहेको पाइएपछि अहिले उनीहरुलाई काममा लगाइएको र भेदभाव नगरिएको उनले दावी गरे । तर, बैशाख ९ गते यता यी तीन कामदारहरुको उद्योगमा हाजिरी भने छैन ।

अन्य कामदारहरु काम गरिरहेको तर हामी मुस्लिम सामुदायकै भएकै कारण आफुहरुमाथि लान्छना लगाएर उद्योगबाट निकालिएकोप्रति पीडित कामदारहरुले दुखेसो पोखे ।

टिप्पणी थप्नुहोस्