थप तीनजनामा कोरोना संक्रमण, ८७ जना ‘आइसोलेसन’मा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीनजनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाराका दुईजना र पर्साका एकजनामा कोरोनाभाइरस संक्रमण भएको र उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

उनीहरु तबलिगी जमात नामक मुस्लिम समूहको दिल्लीमा भएको सभामा सहभागी भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमित ५७ जना पुगेका छन् भने १६ जना निको भइसकेका छन् । बिरामीहरु सबैको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।

डा. देवकोटाले विदेशबाट आएकाहरुमा अझैपनि संक्रमणको जोखिम रहेको भन्दै अरुलाई रोग सर्न नदिनका लागि घरमै बस्न र स्वास्थ्य जाँच गराउन आग्रह गरे ।

बुधबारसम्म ‘पीसीआर’बाट ११ हजार ५२४ ओटा तथा ‘आरडीटी’बाट ४५ हजार ६६५ गरी ५७ हजार १८९ ओटा परीक्षण परीक्षण भएका छन् ।पछिल्लो २४ घन्टाको अवधिमा दुई हजार ३६७ ओटा नमुना परीक्षण भएका छन् ।

मन्त्रालयले हाल २२ हजार ९०१ जना ‘क्वारेन्टाइन’मा रहेको र उपत्यकामा चारसहित ८७ जना ‘आइसोलेसन’मा रहेको जनाएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री