के केपी ओली अल्पमतमा छन् ?

काठमाडौं । दुई विवादास्पद अध्यादेश प्रकरणबाट विवादमा फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सांसद तानातान सुरु भएको छ ।

सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा अल्पमतमा रहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलमा बहुमत पुर्‍याउने पुर्‍याउने कसरतमा छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेलसमेत सचिवालयका बहुमत सदस्य प्रधानमन्त्रीको विपक्षमा उभिएपछि ओलीको पद धरापमा परेको नेकपाको नेताहरुको दाबी छ ।

प्रधानमन्त्री ओली अल्पमतमा परेको दाबी दाहाल–नेपाल पक्षले नै गरिहेको छ । संसदीय दलमा ४० प्रतिशत सांसद नै ओलीका पक्षमा नहुने दाबी अर्को पक्षले गर्दा प्रधानमन्त्री ५० प्रतिशत बढी सांसद पुर्याएर पद सुरक्षित गर्ने खेलमा जुुटेका छन् ।

तर ओली आफ्नो पक्षमा बहुमत पुर्याउन सांसदहरुलाई निवासमै बोलाएर संवाद गरिरहेका छन् । उनले भनेका छन, ‘मलाई संसदीय दलको नेता चुनेर तपाईंहरुले प्रधानमन्त्री बनाउनुभएको हो, तपाईंहरु चाहनुहुन्छ भने म प्रधानमन्त्री पदमा रहिरहन्छु, चाहनुहुन्न भने हट्छु ।’

विभिन्न वहाना र चालबाजी अपनाए ओली पक्षले सचिवालय बैठक अगावै ५० प्रतिशत सांसदको संख्या सुनिश्चित गर्ने गरी काम भइरहेको बुझिन्छ । दलमा ५० प्रतिशत सांसद संख्या देखाएपछि ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउने खेल सकिने बताइन्छ ।

पार्टी फुटाउन खुकुलो पार्ने प्रावधानसहितको अध्यादेश र संवैधानिक परिषदमा विपक्षी दलका नेता बिना नै निर्णय लिन सक्ने अर्को अध्यादेश पार्टीको जानकारी बिनै ल्याएपछि ओलीविरुद्ध बाँकी नेता एकजुट भएपछि ओली समस्यामा परेका हुन । समाजवादी पार्टी र राजपाले एकता गरेपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिए पनि नेकपा भित्रको विवाद साम्य हुन सकेको छैन ।

दाहाल–नेपाल गठबन्धनले अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद छाड्न तीब्र दबाब दिइरहेका छन् । तर उनी कुनै पद नत्याग्ने बरु परेको सामना गरेरै अघि बढ्ने निष्कर्षमा पुगेका छन् ।

चौतर्फी दबाब बढेपछि ओली सांसदको संख्या (हस्ताक्षर) जुटाएर अर्को पक्षलाई जवाफ दिने रणनीतिमा जुटेका हुन् । यसै तयारीका लागि प्रधानमन्त्री ओलीले तीन दिनयता लगातार सांसदहरुसँग छलफल गरिरहेका छन् ।

ओलीले पूर्वमाओवादीका धेरैभन्दा धेरै सांसदलाई आफूतिर तान्न खोजिरहेको बताइएको छ । सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याइए पनि सामना गर्ने तयारी उनीहरुले गरेका हुन् । एक सय ७४ सांसद रहेका नेकपा संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ । नेकपा संसदीय दलमा पूर्वएमालेको एक सय २१ तथा पूर्वमाओवादी समूहका ५३ सांसद छन् ।

पूर्वएमालेका सांसदमध्ये नेताहरु नेपाल, खनाल र गौतम समूहमा ४३ सांसद भएको दाबी उक्त समूहको छ । त्यसमा पूर्वमाओवादी समूहका ५३ समेत जोड्दा आफ्नो पक्षमा ९६ जना हुने र ओली समूहबाट पनि केही मान्छे चोर्न सकिने हिसाब गरिएको छ ।

तर ओली पक्षले भने आफूहरु एक्लैसँग ७८ सांसद रहेको र त्यसमा १० जना सांसद सहजै जोड्न सकिने र संसदीय दलमा चाहिने ८८ संख्या पुग्ने दाबी गरेको हो । त्यही १० सांसद पूर्वमाओवादीबाट चोर्ने खेलमा ओली पक्ष लागेको दाहाल पक्षीय एक नेताले बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री