नेपाल कम्युनिष्ट पार्टीमा बिचलन

-आरती शर्मा
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको राजनीतिमा कचिंगल बढेको छ । नौ सदस्यीय सचिवालयमा ५ जना शीर्ष नेताले राजीनामा मागेपछि प्रधानमन्त्री केपी ओली अप्ठेरो अवस्थामा छन । निकटवर्ती सूत्रका अनुसार, प्रम ओली आत्तिएका देखिन्छन ।

सत्ता सम्हाले यताकै सबैभन्दा अप्ठेरो अवस्थामा परेपछि त्राण पाउन उनले पार्टी उपाध्यक्ष बामदेव गौतमसँगको दुरीलाई निकट बनाएका छन । पार्टीमा आफनो बर्चश्व राख्नका लागि बुधबारको सचिवालय बैठकमा उनले नेता गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका हुन । तर, वामदेव गौतमले ओलीको भनाइलाई गम्भीरतापूर्वक लिएका छैनन । उनले आफना निकटवर्तीहरुसंग ‘ओलीको मजाकलाई मजाककै रुपमा जवाफ दिएको’ भनेका छन ।

साढे दुई वर्ष अघि पाएको सर्वसम्मतिले उत्साहित बनेका प्रधानमन्त्री ओली यतिबेला तिनैजना पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाललाई आफनो शक्ति ‘देखाइदिने’ मुडमा छन । ओलीको कार्यशैलीमाथि पटक–पटक प्रश्न उठाउदै आएका अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल समूहको गठजोड बलियो भएपछि विकल्पका रुपमा उनी गौतमलाई अघि सार्न बाध्य भएका हुन ।

ओली गलाउने भैंसेपाटी बैठक

बुधबारको सचिवालय बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री ओलीलाई र्याखर्याख्ती पारे । यतिबेला प्रधानमन्त्री ओली स्थायी कमिटिमा समेत कमजोर बनेका छन । साँच्चै भन्ने हो भने सत्ता सम्हाले यताकै सबैभन्दा अप्ठेरो अवस्थामा पुगेका छन् उनी अहिले ।

गत पुसको तेस्रो साता उपाध्यक्ष गौतम निवास भैंसेपाटीमा भएको बैठकले नेता ओलीको कार्यशैलीको चर्को ढंगले विरोध मुखरित गरेको थियो । यो बैठकले प्रम ओलीलाई सच्चिएर सत्ता चलाउन दबाब दिएको थियो । त्यही बैठकबाट गौतमलाई संविधान संशोधन गरेर राष्ट्रिय सभाहुँदै प्रधानमन्त्री पदको ढोका खोल्नेसम्म कुराको शुरुवात भएको थियो । त्यसमा केही नेताहरुले सामान्य विरोध जनाएपनि प्रम ओलीले ‘अर्को बाटो’ अपनाएर वामदेबलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए ।

पछि ओली स्वयंले नै गौतमलाई मनोनीत सांसदका रूपमा राष्ट्रियसभामा लैजाने कुरा अघि बढाए । गौतमको चासो प्रधानमन्त्री पदमा थियो । उनी त्यो भन्दा तलका कुनै कुरा सुन्न तयार थिएनन ।

राजनीतिक वातावरण केही सङलिएपछि प्रम ओलीले सत्ता लम्ब्याउने रणनीति अपनाए । मनोनित सांसदका रुपमा गौतमलाई संसदमा ल्याउने आश्वासन अधुरै रह्यो । अर्थमन्त्री युवराज खतिवडाले निरन्तरता पाए । ओलीको दोहोरो चाल देखेर भैसेपाटीमा उपस्थित पार्टीका शीर्ष नेताहरु झनै रुष्ट भए ।

आपूmसंग राजीनामा मागिन सक्ने अवस्थालाई छल्न प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणको योजना बनाए । आफनै पार्टी फूटेको खण्डमा पनि सजिलो होस भन्ने मनसुवा राखेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए । यति ठूलो इस्सूमा अध्यादेश ल्याईंदा पनि पार्टीमा कुनै छलफल भएन ।

प्रम ओलीले एकलौटी हिसाबले गरेका यी निर्णय पछि गएर ओलीका लागि प्रत्युत्पादक बन्नु त स्वाभाविक नै थियो । असन्तुष्टिका अनेक घटनाक्रमको जोड–घटाउ गर्दै आ-आफनै रणनीति बनाएर बसिरहेका नेताहरूको आक्रोश अध्यादेश प्रकरणपछि विस्फोटक भयो । अब त औपचारिक रूपमा नै प्रम ओलीको राजीनामाको मांग चर्किदै गएकोछ ।
नेपाल कम्युनिष्ट पार्टीका १७४ जना प्रतिनिधिसभा सदस्यमध्ये ८८ जना सांसदको बहुमत जुटाउने र त्यही बहुमत देखाएर विरोधी नेताहरुलाई चुनौती दिने योजना थियो प्रधानमन्त्री ओलीको । तर जति नै प्रयास गरेपनि उनले संसदीय दलमा बहुमत जुटने अवस्था देखेनन् ।

कोरोनाले अस्थिर बनाएको अवस्थामा सांसदहरु पक्षधरताको पक्षमा लाग्न उत्साहित देखिएनन । तीन दिनको अथक प्रयासपछि ६४ जना सांसदले बल्लतल्ल प्रम ओलीको पक्षमा राखिएको खाली कागजमा सही गरे । यसले दलमा बहुमत जुटाउने प्रम ओलीको तयारीमा ब्रेक लगायो ।

गौतमलाई किन सारे अघि ?

प्रधानमन्त्री ओली पूर्व माओवादी नेताहरुलाई कुनै भाउ दिंदैनन । माओवादीलाई उपयोगिताका आधारमा प्रयोगगर्ने उनको नीति त जग जाहेर नै छ । प्रम ओलीका बिचारमा माओवादीसंग ब्यबहारको मामिलामा नेता नेपाल र ओलीको मन मिल्छ । नेता नेपाललाई प्रधानमन्त्रीका रुपमा अघि सार्दा पार्टीका अर्का अध्यक्ष दाहाल र उपाध्यक्ष गौतमको समर्थन नमिल्नेमा उनी ढुक्क छन । त्यही भएर अन्तिम विकल्पका रुपमा नेता गौतमलाई नै अघि सार्न उनी बाध्य भएका हुन ।

पार्टी अध्यक्ष दाहालका साथै वरिष्ठ नेताद्धय नेपाल र खनालले प्रम ओलीको चर्को आलोचनागर्दै राजीनामा मागेपछि प्रधानमन्त्री ओली बढी नै चिढिएका छन । उनले उपाध्यक्ष गौतमलाई भावी प्रधानमन्त्रीको रुपमा बुधबारको सचिवालय बैठकमा प्रस्ताव गरेको सुनेपछि वामदेब गौतम स्वयं चमत्कृत भएका थिए । उनी आश्चर्यमा परेका थिए ।

प्रधानमन्त्री ओलीले शासनगर्ने राजनीतिक र नैतिक आधार गुमाएको भन्दै कांग्रेसले पनि घुमाउरो शैलीमा राजीनामाको माग उठाएको छ । अध्यादेश प्रकरणसम्म आइपुग्दा प्रधानमन्त्री ओली संवैधानिक सीमा नाघेको र बारम्बार अघि बढ्न खोजेको निष्कर्ष निकाल्दै केन्द्रीय कार्यसमिति बैठकले बुधबार राजीनामा शब्द उल्लेख नगरी पद छाड्न ओलीलाई आग्रह गरेको हो ।

वामदेब गौतमले ०६५ सालमा झलनाथ खनाललाई पार्र्टी अध्यक्ष र ०६७ मा प्रधानमन्त्री बनाउन निर्णायक भूमिका निर्वाह गरेका थिए । तर झलनाथले आफूले लगाएको गुन बिर्सिएको भन्दै गौतमले तत्कालीन एमालेमा केपी ओलीसँग गठबन्धन गरे । ०७० मा गौतमकै सहयोगमा ओली संसदीय दलको नेता र ०७१ मा गौतमकै सहयोगमा पार्टी अध्यक्ष बने । तर आफ्नो योगदान र भूमिकलाई ओलीले पनि वेवास्ता गरेको भन्दै गौतमले बेलाबखत ओलीप्रति असन्तुष्टि जनाउंदै आएका थिए ।

दाहाल र नेपालको तेजोबध

प्रधानमन्त्री ओली पूर्व प्रधानमन्त्रीद्धय दाहाल र नेपाललाई किनारा लगाउने दाउमा देखिएकाछन । अर्का नेता खनाल पार्टीगत गुटमा बलियो नभएका कारण उनलाई काखी च्याप्ने योजना उनमा देखिन्छन ।

पार्टीमा पनि बर्चश्व भएका र पूर्व माओवादीलाई पनि मिलाउन सक्ने नेताका रुपमा गौतमलाई ओलीको विकल्पमा रुपमा अघि सारिएको हो । यो वामदेबलाई हातबाट फुस्किन नदिने प्रपन्चमात्र हो । सही कुरा के हो भने, प्रम ओली स्वयं संसद्को दुईतिहाइ बहुमतले चुनिएर प्रधानमन्त्री भएको पाएको आनन्दबाट वञ्चित हुन चाहँदैनन ।

आज अपरान्ह बालुवाटारमा बस्ने नेकपाको सचिवालय बैठकमा ओलीले देखाउने ब्यबहारले उनको यस अधिको कदमको रुपरेखाको पत्तो लाग्नेछ । यसपछि नै नेपाल कम्युनिष्ट पार्टीको राजनीतिको दशा र दिसाको दिग्दर्शन सम्भव हुनेछ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री