संसद भवनमा कोरोना परीक्षणः संसद छिर्न प्रमाण पत्र अनिवार्य

काठमाडौं । शुक्रबारबाट सुरु हुने संसदको बजेट अधिवेशनअघि बिहीबार सांसदहरूको ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

कोरोना महामारीकाबीच सुरु हुने यो अधिवेशनका लागि विभिन्न जिल्लाबाट सांसदहरु आएपछि सिंगो संसदको सुरक्षाका लागि परीक्षण गरिएको हो । संघीय संसद भवनमा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

संघीय संसद भवनको ल्होत्से हलमा बिहीबार बिहान साढे १० बजे सुरुमा राष्ट्रियसभाका सांसदहरु र त्यसलगत्तै प्रतिनिधिसभाका सांसदहरुको पालैपालो स्वाब संकलन गरिएको थियो । स्वाब संकलनका लागि सांसदहरुको विवरण संकलन गर्न तीनओटा डेस्कको व्यवस्था गरिएको थियो ।

जनस्वास्थ्य विभागका विज्ञहरूले सामाजिक दूरी कायम गरी स्वाब संकलन गरेका थिए । यसरी संकलन गरिएको स्वाब परिक्षणका लागि प्रयोगशाला पठाइने छ । सांसद र कर्मचारीसमेत गरी ५०० जनाको बिहीबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ जना सांसद छन् । शुक्रबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने छ । संसद बैठकमा प्रवेश गर्न सांसदहरुले आफूलाई कोरोना संक्रमण नभएको प्रमाणपत्र देखाउनुपर्नेछ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री