सीमा मिचिदा नबोल्ने सरकार नेपाली जनताको हुनै सक्दैन: नेविसंघ

काठमाडौं । नेपाल विद्यार्थी संघले नेपालको सीमा मिचिदा पनि थाहा नपाए जस्तो चुप बस्ने वर्तमान सरकारको कार्यले संशकित बनाएको बताएको छ ।

शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै संघले सरकारको साथ र समर्थनमा यस्ता गम्भीर काम भइरहेको त छैन भन्दै प्रश्न गरेको छ । भारतले चीनको मानसरोवर जाने सडक निर्माण गर्दा नेपाली भूभाग मिचेको समाचार आएपछि नेविसंघले त्यसको विरोध गर्दै विज्ञप्ति निकालेको हो ।

चुनावको समयमा राष्ट्रियताका ठूला र खोक्रा नारा दिने सरकारको लम्पसारवाद प्रवृति भारतको मिचाहा प्रवृति भन्दा पनि खतरनाक रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेविसंघले सरकारलाई जनतासमक्ष आफ्नो धारणा स्पष्ट पार्न पनि भनेको छ । चुनावका बेला राष्ट्रियताका नारा लगाई भोट माग्ने र सत्तामा पुगेपछि सीमा मिचिदा पनि चुप बस्ने सरकारको असली अनुहार जनता सामु प्रष्ट भएको महामन्त्री बल्देव तिमल्सिनाले बताए ।

कोरोना महामारीका कारण जनता आक्रान्त हुँदा होस या सीमा मिचिदा एक शब्द नबोल्ने सरकार नेपाली जनताको हुनै नसक्ने नेविसंघको ठहर छ । यदि यस विषयमा सरकार गम्भिर नभए नेविसंघले कडा सडक आन्दोलन गर्ने पनि महामन्त्री तिमल्सिनाले बताए ।

अर्का महामन्त्री दिपक भट्टराईले सीमा मिचिदा थाहा नपाएजस्तो गर्ने सरकार र भारतबीचको सम्बन्ध नै शंकास्पद भएको बताए । उनले विनाशकारी महाभूकम्पले संकटग्रस्त बनेको मुलुकमा कोरोनाको अर्को महासंकट आएको बेला सरकार गम्भीर नबनेकोप्रति आपत्ति जनाए । भारतको रबैयाका कारण नेपाली भुभागमा मात्र होइन सम्पूर्ण नेपालीलाई चिन्तित बनाएको बताए ।

नेविसंघले भारतले चीनको मानसरोवरसम्म पुग्ने बाटो निर्माण गर्ने बहानामा नेपाली भुभाग लिपुलेक हुँदै सडक निर्माण कार्य अघि बढाएको समाचारले दुखी भएको पनि जनाएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री