लिपुलेक प्रकरणमा वक्तव्य मात्रै निकालेर बस्ने ?: देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई लिपुलेक प्रकरणमा सरकारले उच्च स्तरीय कूटनीतिक पहल प्रारम्भ नगरेर गम्भीर विषयमा केवल वक्तव्य मात्रै जारी गरेको आरोप लगाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो गम्भीर विषयमा तत्काल कूटनीतिक र राजनीतिक रूपमा उच्च स्तरीय पहल कदमी गर्न आग्रह गरेका छन् । राष्ट्रवादको प्रश्न केवल वक्तव्यको विषय नभएर परिणाममुखी हुनुपर्ने देउवाको भनाइ छ ।

भारतले चीनको मानसरोवर जोड्न नेपाली भूमि लिपुलेक भएर जाने सडक उद्घाटन गरेपछि कांग्रेसले उक्त विषयमा कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय पहलकदमी गर्न आग्रह गरेको हो ।

“यो दुई दिनको अवधिमा वर्तमान सरकारले उच्च स्तरीय कूटनीतिक पहल प्रारम्भ नगरेर गम्भीर विषयमा केवल वक्तव्य मात्रै जारी गरेको परिप्रेक्ष्यमा नेपाली कांग्रेसको सभापति एवं प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले म सरकारलाई कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय पहलकदमी गर्न सार्वजनिक रूपले अपिल गर्दछु,” सभापति देउवाले विज्ञप्तिमा भनेका छन् ।

उनले नेपालको भूभागमा नेपालको अधिकार र स्वामित्व रहने स्मरण गराउँदै सरकारले कूटनीतिक पहल कदमीमार्फत समाधान खोज्ने प्रक्रियामा कांग्रेसको सम्पूर्ण साथ र सहयोग रहने पनि बताएका छन् । नक्सा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सीमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहोरिनु दुःखद भएको उनको भनाइ छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री