कोरोना बिशेष अस्पतालको संख्या थप्ने मन्त्रिपरिषदको निर्णय

-राधेश्याम विश्वकर्मा
भैरहवा । प्रदेश सरकारले कोरोना संक्रमितहरुको बढ्दो जोखिमलाई मध्यनजर गरि प्रदेशमा कोरोना बिशेष अस्पतालको क्षमता बृद्धि गर्ने निर्णय गरेको छ । प्रदेश नम्बर ५ को जेठ १ गते बसेको प्रदेश मन्त्री प्रदेशको बैठकले निर्णय गर्दै कोरोना विशेष अस्पतालको क्षमता बढाउने भएको हो ।

मूख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिंदै भैरहवामा रहेको भीम अस्पतालमा एकसय शैया थप गर्ने निर्णय गरेको बताए । यस्तै बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा एक सय बेड आइसोलेसन तयार गर्ने र बुटवलमा दुई सय बेड थप्ने निर्णय पनि भएको केसीले जानकारी दिए ।

बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा विरामी पठाउने समेत प्रदेश मन्त्री परिषदले निर्ण गरेको छ ।

यस्तै विरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने र त्यसको स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने गरि थप अस्पताल निर्माण हुने भएको छ ।

प्रभावित किसानलाई राहत घोषणा

बिहीबार बसेको बैठकले कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ । यो कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैंया साउन मसान्तसम्म खर्च हुनेगरि बजेट समेत बिनियोजन गरिएको छ ।

जस अनुसार कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख रुपैंया छुट्टयाइएको छ । बेमौसमी आलु उत्पादन कार्यक्रम गुल्मी, प्युठान, रुकुम र रोल्पामा सञ्चालन गर्ने । त्यसका लागि १ करोड २० लाख रुपैंया खर्च गर्ने परिषदले निर्णय गरेको छ । कार्यक्रमबाट पाँच सय किसान लाभान्वित हुने र कम्तिमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गरेको हुनुपर्ने शर्त राखिएको छ । जसमा प्रति रोपनी ६ हजार रुपैंयाको दरले अनुदान प्रदान गरिने छ ।

व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम अन्र्तगत दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र रुकुम सात जिल्लामा ७ हजार कृषक लाभान्वित हुने कार्यक्रम ल्याइएको छ । कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने र मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिने निर्णय भएको छ । यो कार्यक्रमका लागि १४ करोड रुपैंया खर्च हुने प्रदेश सरकारले जानकारी दिएको छ ।

यसैगरि कोभिड—१९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम अन्र्तगत २१ करोड ८० लाख खर्च गर्ने प्रदेश सरकारले योजना बनाएको छ । यसलाई १ सय ९ वटै पालिकामा लागु गरिदै छ । व्यवसायिक खेतीका लागि मल विषादी, ससाना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग कार्यक्रममा प्रति किसान २० हजारका दरले सहयोग गर्ने र १० हजार ९ सय किसान लाभान्वित हुने प्रदेश सरकारको भनाई छ ।

ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि अन्र्तगत ७ करोड बिनयोजन गरि २ हजार किसानलाई ३५ हजार रुपैंयाका दरले अनुदान दिने । निति ल्याईएको छ । यस्तै दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैंया, दूध उत्पादनको विगत आठ महिनाको विक्री तथ्याङक हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैंयाका दरले अनुदान दिने निर्णय समेत गरिएको छ ।

बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैया छुट्टयाईएको छ । यसलाई सबै जिल्लामा सञ्चालन गरि २० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गरेर प्रति बिघा २० हजार रुपैंयाका दरले दिने निर्णय भएको छ ।
बिहीबार नै बसेको बैठकले प्रदेश स्वास्थ्य नीति—२०७७, स्वास्थ्य नियमावली स्विकृत समेत गरेको छ । यस्तै रोल्पामा वम

विष्फोटमा मारिएका चार बालबालिकाका परिवारलाई एम लाख रुपैंयाका दरले राहत दिने निर्णय भएको मूख्यमन्त्रीका सल्लाहकार केसीले जनाए ।

बैठकले केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७७ प्रदेशसभा समक्ष पेश गर्न स्विकृति दिने, जेठ ९ गते प्रदेश सभा आव्हानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । यसैगरि नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँकेमा क्वारेन्टाइनमा बस्ने विशेष व्यवस्था गर्ने, त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्देशिका तयार गरी कार्यान्वयन गर्ने निर्णय पनि गरिएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री