कोभिड-१९ को ब्यवस्थापनमा नेपाल भारत भन्दा अब्बल

-राधेश्याम विश्वकर्मा

भैरहवा । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोभिड–१९ को ब्यवस्थापनमा नेपाल भारत भन्दा अब्बल रहेको दावी गरेको छन् ।

साधन स्रोतले छिमेकी मुलुक भारत बलियो भएपनि यसको ब्यवस्थापनमा नेपाल माथि रहेको उनले एक कार्यक्रममा बताएका हुन् ।

जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको भैरहवामा बसेको बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले तराईका जिल्लाहरुमा कम्तिमा दुईसय र पहाडी जिल्लाहरुमा कम्तिमा ५० बेडको आइसोलेसन सेण्टर बनाउनका लागि जिल्लास्थित कोरोना संकट व्यवस्थापन केन्द्रले जिल्ला अन्तर्गतका पालिकाहरुसँग समन्वय गरी निर्माण गर्न निर्देशन दिए ।

बैठकमा सहभागी अधिकांश जनप्रतिनिधिले सीमा क्षेत्रसित जोडिएर रहेको कारण रुपन्देहीमा समस्या रहेको औल्याएका थिए । क्वारेन्टाईनको ब्यवस्थापन देखि खेतीको समयमा मल र बिउबिजन समेत सहज हुन नसक्दा जनप्रतिनिधिलाई ब्यवस्थापन गर्न गा¥हो भएको उनीहरुको भनाई थियो ।

आइतबार बसेको प्रादेशिक कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सीमा क्षेत्रलाई अझै कडाई गर्ने निर्णय गरेको छ । होम क्वारेन्टाईन देखी जिल्ला स्तरको गरि ४ प्रकारको क्वारेन्टाईन निर्माण गरेर शंकास्पद ब्यक्तिहरुलाई निगरानी गर्नुपर्ने केन्द्रले निर्णय गरेको छ ।

बैठकले भारतबाट नेपाल आउने व्यक्ति बढदै गएको सन्दर्भमा हालसम्म पनि क्वारेण्टाइनको व्यवस्था नगरेका नेपाल भारत सीमाका भंसार नाकामा रहेका पालिकाहरुले प्राथमिकताका साथ कम्तिमा एक हजार बेडको क्वारेण्टाइन तयार गरी व्यवस्थित रुपमा संचालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

यसका साथै भारतबाट आउन सक्ने ब्यक्तिकोे व्यक्तिहरुको आँकलन गरी सम्बन्धित सबै पालिकाले त्यसरी आउने व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने गरी आवश्यक पूर्व तयारी गर्न पनि केन्द्रले आग्रह गरेको छ ।

बाँके जिल्लामा कोभिड–१९ संक्रमितहरुको उपचारका लागि नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा संचालनमा ल्याउने भएको छ ।

कोभिड–१९ पोजिटिभ देखिएका तर रोगको गंभिर लक्षण नदेखिएका संक्रमितहरुलाई जिल्लाका विभिन्न अस्पतालमा छुट्टयाईएका आइसोलेसन वेडमा व्यवस्थित रुपमा राखी उपचार गर्ने र गम्भिर प्रकृतिका बिरामीलाई मात्र कोरोना बिशेष अस्पतालमा उपचार गर्ने केन्द्रले निर्णय गरेको छ

रुपन्देही जिल्लामा कोभिड–१९ संक्रमण बढी रहेको सन्दर्भमा लुम्विनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा थप एक सय र भीम अस्पताल भैरहवामा थप ५० आईसोलेसन बेड तयार गरी सञ्चालनमा ल्याउने निर्णय समेत प्रादेशिक कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको छ ।

यस्तै वुटवलमा रहेको एन्फाको भवन र कोरिया नेपाल इन्सिच्यूट अफ टेक्नोलोजिको भवनलाई आइसोलेसन अस्पतालका रुपमा प्रयोगमा ल्याउने निर्णय समेत गरिएको छ ।

सार्वजनिक निर्माण कार्यलाई सूचारु गर्न जिल्लाभित्र मात्र सो सँग सम्वन्धित सवारी तथा ढुवानीका साधनहरुलाई आवश्यकता अनुसार संचालनको व्यवस्था प्रमुख जिल्ला अधिकारीलाई केन्द्रले निर्देशन समेत दिएको छ ।

यस्तै केन्द्रले रोग रोकथाम र नियन्त्रणका लागि क्वारेण्टाइन र आइसोलेसन सेण्टर संचालन सम्वन्धी थप निर्देशन दिएको छ ।
जल्ला वाहिर गएका व्यक्तिहरु घर फर्केपछि घरको छुट्टै कोठा वा स्थानमा बस्ने व्यवस्था गर्ने गरि होम क्वारेण्टाइन निर्माण गरि कम्तिमा १४ दिन परिवारसँग सामाजिक दुरी कायम गर्न आग्रह गरिएको छ ।

जोखिमयुक्त जिल्लाबाट आएका र क्वारेण्टाइनको संख्या कम भएको स्थानका व्यक्तिहरुलाई समुदायले सुरक्षित तरिकाले बस्ने व्यवस्था मिलाउने गरि सामुदायिक क्वारेण्टाइनको अवधारणा ल्याइएको छ ।

यसमा क्वारेण्टाइनमा बस्ने व्यक्तिहरुका लागि आवश्यक लत्ता कपडा र खानपिनको व्यवस्था सम्वन्धित व्यक्तिको घर परिवारले गर्ने र क्वारेण्टाइनको सुरक्षा प्रवन्ध टोल वा समुदायले नै गर्ने गरि ब्यवस्थापन भएको प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले भने ।

संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेण्टाइनमा राख्ने गरि पालिकास्तरको क्वारेण्टाइन निर्माण गरि त्यसको ब्यवस्थापन सम्बन्धित पालिकाले नै गर्न पोखरेलले आग्रह गरेका छन् ।

यस्तै तराइका जिल्लाहरुमा जिल्लास्तर कोरोना संकट व्यवस्थापन केन्द्रले जिल्लास्तरको क्वारेण्टाइन स्थापना गर्ने मूख्यमन्त्रीले बताएका छन् । भारतबाट प्रवेश गर्ने अन्य प्रदेशका नागरिकहरुलाई क्वारेण्टाइनमा राखी परिक्षणको व्यवस्था मिलाउने गरि जिल्लास्तरको क्वारेण्टाइनको ब्यवस्थापन गरिनेछ ।

टिप्पणी थप्नुहोस्