प्रम ओलीमा अहमत्याईं छ : डा. रिजाल

-रुपान्तरण संवाददाता

काठमाडौं । सांसद डा. मीनेन्द्र रिजालको बिचारमा नेपाल सरकारले कोरोना महामारीको दीर्घकालीन प्रभाव बुझन सकेको छैन । तत्कालका लागि कोरोनाको जोखिमबाट जनतालाई जोगाउने नीति अनिवार्य रहेको छ । तर, सरकारले कोरोना बिरुध्द सक्रिय पहल गर्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले काम गरेको देखाउन कडा लकडाउन गर्न खोजेका हुन । यसमा उनको नियत खराब देखिन्छ ।

‘कोरोना महामारीका बिरुध्द सबै दल एक ठाउँमा छन भन्ने सन्देश दिन सक्नु पर्दछ सरकारले । तर, सरकारले यस्तो सर्वदलीय सहमति जुटाएको छैन’ , सांसद रिजालको भनाइ थियो । उनको बिचारमा, अहिलेसम्म नेपालमा कोरोनाको चाप कम देखिएको छ । किनभने यहाँ परीक्षण नै कम भएको छ । उता, भारतमा जनसंख्याको अनुपातमा कोरोनाको प्रभाव निकै कम छ ।

कोरोना महामारीका बारे प्रधानमन्त्री के.पी. शर्मा ओलीले निरन्तर कुरा गरेका छन । मंगलबार संसदमा नीति र कार्यक्रममाथि उठेका प्रश्न र जिज्ञासाको उत्तर दिंदा पनि कोरोनाको बिशद चर्चा गरेका थिए । यसबारे प्रश्नगर्दा सांसद रिजालले जवाफ दिए -कुरैमात्र गरेर हुनेभए ओली प्रधानमन्त्री भएपछि उनले भनेका धेरै कुरा भै सक्ने थिए । प्रधानमन्त्री ओलीमा ‘म एक्लैले जानेको छु’ भन्ने अहमत्याइ छ । यस्ता मानिस अधिनायकबादी हुन्छन ।’

लिपुलेक, लिम्पियाधुरा र कालापानीको मामिलामा वर्तमान सरकारमा कामगर्ने चाहना देखिएको छैन । नयाँ झण्डा बनाएर मात्र यति पुरानो समस्या समाधान हुँदैन । यसका लागि सन्तुलित कूटनीतिक पहल हुनुपर्दछ । प्रधानमन्त्री ओली सडकमा भारत बिरोधी नारा लगाएर प्रधानमन्त्री भएका हुन । उनी राष्ट्रवादी नारा लगाएर आफनो सत्ता लम्ब्याउन खोजी रहेका छन ।

डा. रिजालको बिचारमा: नेपाल अहिले संकटको समयमा छ । यस्तो समयमा नै नेताको पहिचान हुन्छ । अमेरिकामा गृह युध्द चलेको बेला अब्राहम लिंकन राष्ट्रपति थिए । उनले जसरी गृहयुध्द पीडित जनताको पुनस्र्थापना गराए त्यो अत्यन्त प्रशंसनीय काम थियो । यसैगरी राष्ट्रपति फ्रयाङकलिन रुजबेल्टले बिश्वब्यापि मन्दीका समयमा जस्तो बुध्दिमानी देखाएर मन्दीको संकटबाट दुनियाँलाई पार लगाए त्यो आफैंमा उदाहरणीय काम थियो ।

सांसद डा. मीनेन्द्र रिजाल प्रधानमन्त्री ओलीको ब्यक्तित्वको बिकास अधिनायकवादी प्रबृत्तितिर भएको देखिन्छ । उनी भन्दछन, प्रधानमन्त्री ओलीको झुकाव सर्वसत्तावादतिर बढी देखिन्छ । अन्ततः यो प्रबृत्तिले उनी हिटलर र मुसोलिनीको बाटोमा फँस्लान भन्ने डर धेरैलाइ छ ।

टिप्पणी थप्नुहोस्