जनता बस्ने ठाउँमा नेताका आफन्तले कब्जा जमाएका छन

रुपान्तरण संवाददाता

काठमाडौं । माओवादी जनयुध्दका प्रभावशाली कमाण्डर जनार्दन शर्मा ‘प्रभाकर’ लाई रुकुमका निर्वाचित सांसदका रुपमा चिनाई रहनु पर्दैन । उनी नेपाली समाजमा स्थापित ब्यक्तित्व हुन । उनलाई जनताले उज्यालो मन्त्रीका रुपमा पनि चिन्ने गरेका छन । उनी स्पष्टवादी नेता हुन, जो स्थानीय बुध्दि, शीप र श्रमको प्रयोगले मात्र देशको बिकास हुन्छ भन्ने धारणा बनाएर बसेका छन ।
क्रान्तिकारी पार्टीका रुपमा चिनिएको माओवादी पार्टीले रैथाने कम्युनिष्ट पार्टीका रुपमा चिनिएको एमाले पार्टीसंग सम्बन्ध गाँसेर एउटै पार्टी बनाएपछि आपसी एकतालाई सुदृढ बनाउन प्रयत्न गर्नेमा प्रभाकर एकजना हस्ती हुन । अहिले पनि संशय सकिएको छैन । नेपाली कम्युनिष्ट आन्दोलनको छिद्र खोतल्नेले प्रश्नगर्न छाडेका छैनन-के यो एकता सुदृढ होला ?

संसदको अधिवेशन शुरु हुनुभन्दा पहिले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले देखाएका अध्यादेश लगायतका अनेक राजनीतिक नखराको बीचमा प्रभाकरसंग रुपान्तरण प्रतिनिधिले वार्ता गरेका थिए । वार्ताको क्रममा प्रभाकरले भने, माओवादी जनयुध्दको अभीष्ट थियो राज्यको रुपान्तरण । त्यति लामो संघर्षपछि पनि हामीले आफनो अभीष्ट पाउन सकेनौं । तै पनि, राजनीतिक संरचनामा आंशिक परिवर्तन भएको छ । त्यसलाई हामी उपलब्धि नै मानौं ।

जनयुध्दको औपचारिक बिश्रामपछि शान्ति स्थापनाको काममा लागेका प्रभाकरले लामो अनुभव संगालेका छन । उनी दक्षिण अफ्रिका र रुवाण्डा जस्ता मुलुकको गहिरो अध्ययनगर्ने लडाकु नेता हुन । चुनावको राजनीतिमा आएपछि आफनो क्षेत्रका जनताप्रति उनी उत्तरदायी छन । देशमा लोडशेडिंगको सिजन चलेको बेला उनले लोडशेडिंग–रहित नेपाल बनाउन निकै मेहनत गरेका थिए ।

प्रभाकर भन्दछन -नेपाल कम्युनिष्ट पार्टीभित्र नेतृत्वको प्रश्न नै तत्कालको मुख्य बिषय हो । नेतृत्व जनताप्रति उत्तरदायी हुनुपर्ने आबश्यकता मुख्य हो । समस्या यहीबाट शुरु हुन्छ । जनताप्रति उत्तरदायी छैन नेतृत्व । बिग्रिएको छ । मेरो र म भन्ने स्वार्थले बिगारेको छ । जनताको आसन हुनुपर्ने ठाउँमा नेताका आफन्त बसेका छन । यही नै हाम्रो निरन्तर दुर्गतिको कारण ।

‘हामी कम्युनिष्टले बुझनु पर्दछ, आन्दोलन भनेको म होइन हामी हो । तर, हाम्रो नेतृत्व साँघुरो घेरामा बन्द भएको छ । आन्दोलनबाट बिचलित भएकोछ । एउटै कुवामा बसेका भ्यागुताहरुले नैतिक रुपले आफूलाई अलग बसेको हूँ भन्न मिल्दैन । तर, यही भएको छ’, प्रभाकर भन्दछन ।

अहिलेको सरकारका बारे प्रभाकर कटु टिप्पणी गर्न चाहँदैनन । उनी भन्दछन-सरकार जुन अवस्थामा छ र यसको जति औकात छ त्यति गरेको छ । जनताको आबश्यकताको आधारमा अथवा त्यो स्तरमा काम भएको छैन । सरकारले वर्तमान चुनौतिको सामनागर्न सकेको छैन ।

प्रभाकरको अनुभवमा, कोरोना महामारीको यो समयमा सरकार जेनतेन, जसोतसो चल्दैछ । नेपाली जनताको शरीरमा रहेको रोग निरोधक शक्तिका कारण भारत र बिदेशमा रोजगारीका लागि पुगेका जनता घर फर्किने समस्याको सामना गर्दैछन । भन्न सकिदैन नेपाली जनताले सिस्नोको जरो र टिमुर खाएर संचय गरेको शक्तिले कति काम गर्दछ !

अहिलेको राजनीतिक वातावरणलाई सन्दर्भमा राखेर प्रभाकरको निष्कर्ष थियो, शक्तिको सेवनमा लागेका आजका नेताहरुले जनताका धेरै प्रश्नको उत्तर दिन बाँकी नै छ । यो चुनौतिको सामना हामी सबैले गर्नु पर्दछ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री