क्वारेन्टाइनबाट भाग्ने दाउमा मर्चवारका नेपाली

-राधेश्याम विश्वकर्मा

दृश्य १ – रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको सम्मरीमाई गाउँपालिका वडा नम्बर ४ को मदरसामा रहेको क्वारेन्टाइन । तीन वटा कोठा रहेको मदरसामा बस्नेहरुका लागी खाट त थियो तर खाटमा कुनै पनि मानिस थिएनन् । क्वारेन्टाइनमा रहेको सबैजना रोईनिहवा जाने बाटोमा बसेर गफ चुटिरहेका थिए । सोही क्षेत्रका सर्वसाधारण पनि सोही बाटोबाट ओहोर दोहोर गरिरहेका थिए ।

यति मात्र हैन उक्त मदरसामा अहिलेसम्म शौचालय समेत नभएको कारण क्वारेन्टाइनमा बसेका सबैजना बाहिर नै खुल्ला रुपमा शौच गर्न जाने गुनासो रिपोर्टिङ्गका लागी पुगेका संचारकर्मीहरुसँग गरिरहेका थिए ।

दृश्य २- मर्चवारी गाउँपालिका वडा नम्बर २ मा रहेको क्वारेन्टाइनका मानिसहरु अन्य सर्वसाधारणसंगै एउटै धारो प्रयोग गरि नुहाई रहेका थिए । कोही हातमा डब्बा लिएर बाहिर शौच गरेर फर्किएका पनि देखिए । त्यहाँ प्रहरीको पनि उपस्थिति थियो । नजिकै प्रहरी चौकी पनि थियो तर क्वारेन्टाइनमा बसेका र अन्य सर्वसाधारणहरुबीच कुनै भिन्नता थिएन । करिब १ सय ५० भन्दा बढीका संख्यामा रहेका नेपालीहरु खुल्ला आकाशमुनी टेन्ट भित्र अटसमटस गरि अटेका छन । त्यहाँ न सामाजिक दुरीको चिन्ता छ न कोरोनाकै ।

दृश्य ३ – मर्चवारी गाउँपालिकाकै वडा नम्बर २ मा रहेको एउटा फरक क्वारेन्टाइन छ । महिला तथा बालबालिकाहरु रहेको यो क्वारेन्टाइन पनि त्रिपालबाट बनाएका झुपडी हो । जसको बाहिर महिला तथा बालबालिका गरि ११ जना बसिरहेका छन् । भारतको पुणेबाट फर्किएको यो टोलीलाई घरबाट नै खाना आउने गरेको छ । शौचको लागी खुल्ला खेत नै प्रयोग गर्ने गरेको उनीहरुको भनाई थियो । बिभिन्न उमेर समूहको महिला तथा बालिकाहरु रहेको यसमा महिलाहरुको लागि आवश्यक पर्ने अन्य कुनैपनि सामाग्री थिएन ।

दृश्य ४ – सम्मरीमाई गाउँपालिकाकै वडा नम्बर ६ डिहुलीमा रहेको क्वारेन्टाइनमा बसेकाहरुले खाना खान मानिरहेका थिएनन् । करिब ४ बजे संचारकर्मीहरुको टोली पुग्दा पनि प्लाष्टिकको झोलामा राखिएको दाल, भात र तरकारी यत्तिकै फालिएको अवस्थामा थियो । क्वारेन्टाइनमा बसेकाहरुले खानामा किरा रहेको कारण खान नसकेको बताए ।

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा स्थलगत रिपोर्टिङ्गको क्रममा बिभिन्न क्वारेन्टाइनहरुमा पुग्दा देखिएको यो त प्रतिकात्मक दृश्य मात्र हुन । मर्चवार क्षेत्रको प्रायः सबै क्वारेन्टाइनमा यस्ता दृश्य देख्न सकिन्छ । मर्चवार अहिले कोरोनाको उच्च जोखिममा छ । मर्चवारका कोटहीमाई गाउँपालिका, सम्मरीमाई गाउँपालिका र मर्चवारी गाउँपालिकामा रहेका क्वारेन्टीनहरुमा शतप्रतिशत भारतबाट आउका नेपालीहरु मात्र छन् । उच्च जोखिम भएको क्षेत्रबाट आएका यी नेपालीहरुको ब्यवस्थापनमा स्थानिय तह भने उदासीन देखिएको छ ।

कतिपय क्वारेन्टाइनमा शौचालय समेत नभएको अवस्थामा सबै बाहिर खुल्ला शौच गर्ने देखी लिएर सर्वसाधारणहरु हिड्डुल गर्ने बाटोमै क्वारेन्टाइनमा रहेकाहरु डुल्ने गरेका छन् । कतिपय क्वोन्टाइनमा किरा भएको खाना प्लाष्टिकको झोलामा पस्किने गरिएको छ भने कतिपयमा घरबाटै ल्याएको खाना खाने गरिएको छ । क्वारेन्टाइनमा बसेका अधिकांश नेपालीहरुको क्वारेन्टाइन हुने अवधि पुरा भईसक्दा समेत यिनीहरुको स्वास्थ्य परिक्षण नहुदा तिव्र आक्रोश देखिएको छ ।

महाराष्ट्रबाट काम गरेर फर्केका मर्चवारीका राधेकिशुन पालले क्वारेन्टाइनमा आएदेखि अहिलेसम्म कसैले पनि सामान्य स्वास्थ्य परीक्षण समेत नगरेको गुनासो गरे । “मेरो क्वारेन्टाइनको समय पनि सकिएको छ हिजोसम्म मलाई त्यस्तो कुनै लक्षण देखिएको छैन ।” पालले भने, ‘‘मेरो स्वास्थ्य परिक्षण गरेर मलाई छिट्टै घर पठाई दिनप¥यो ।”

उनी मात्र हैनन् क्यारेन्टाइनमा बसेका धेरैको समय पुगिसकेको छ । तर स्वास्थ्य परिक्षण नगरी क्वारेन्टाइनबाट जान नपाएको कारण कतिपय आक्रोशित छन् । यस्तो अवस्थामा स्थानीय जनप्रतिनिधिले पनि गैरजिम्मेवार जवाफ दिने गरेको उनीहरुको भनाई छ । जनप्रतिनिधिलाई स्वास्थ्य परीक्षणको बारेमा सोध्दा राम्रो मुखे जवाफ पनि नदिएको उनीहरुको भनाई छ ।

मर्चवारी गाउँपालिका वडा नम्बर २ मा रहेको क्वारेन्टाइनमा बस्ने जितेन्द्र हरिजनले खेतीपातीको समय भएकोले छिट्टै स्वास्थ्य परीक्षण गरि घर जान पाउनुपर्ने माग राखे । उनले अब पनि स्वास्थ्य परिक्षण गरि घर जान नदिए क्वारेन्टाइनमा बसेका सबैजना आ-आफै घर भाग्ने बताए ।

तत्काल स्वास्थ्य परीक्षणको कुनै आशा नरहेकोले जनप्रतिनिधिहरु पनि हतास देखिएका छन् । दैनिक रुपमा अहिलेपनि नेपालीहरु भारतको बिभिन्न भागबाट नेपाल आउने क्रम जारी रहेको छ । यस्तो अवस्थामा सीमावर्ती क्षेत्रमा निर्माण गरिएका क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई पनि हम्मेहम्मे परेको छ ।

मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बाँनियाले क्वारेन्टाइनको ब्यवस्थापनमै आफु थाकेको प्रतिक्रिया दिए । समय पुगेकालाई पनि सरकारले परीक्षण गरि ब्यवस्थापन गर्न नसक्दा क्वारेन्टाइनमा बस्ने र आफु पनि हताश भएको उनले बताए ।

कतिपय जनप्रतिनिधिले भने क्वारेन्टाइनमै राजनीति भएको आरोप समेत लगाएका छन् । स्थानीय बिपक्षी राजनीतिक दलका नेताले क्वारेन्टाइनमा बसेकालाई जनप्रतिनिधि बिरुद्ध भड्काउने गरेको उनीहरुको आरोप छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री