बादशाहको लुगा

-सरोज मिश्र

नेपालले आफ्नो गुमेको भूमि समावेश गरेर जारी गरेको नयाँ नक्सालाई ठाडै अस्वीकार गर्‍यो । उल्टै नेपालले भारतीय भूमिलाई हडप्न खोजेको भन्दै नेपालको कदमलाई ‘कृत्रिम बिस्तार’को संज्ञा दिएको छ । यस्तो अस्वीकृति अनपेक्षित थिएन । भारतको तर्फबाट यस्तै खाले प्रतिक्रिया आउँछ भन्ने सहजै अनुमान गर्न सकिन्थ्यो ।

नेपालले नयाँ नक्सामा समाबेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको हो भन्ने कुरोमा रत्तिभर पनि शंका नगरे हुन्छ । हाम्रो दावी कुनैपनि अर्थमा अन्यायपूर्ण वा अनुचित छँदैछैन । तर भारत ठिक बिपरित ढंगले प्रस्तुत भयो । यसको अर्थ हो अब नेपाल र भारत आमने सामने भएका छन् । अब यो सिर्जित सिधा मुकाबिलाको अवस्थामा हामी कसरी प्रस्तुत हुन्छौं वा हुन सक्छौँ ? सैन्य द्वन्द्व हाम्रो दृष्टिकोणबाट राम्रो बिकल्प होला ? अथवा अन्तर्राष्ट्रिय न्यायालय वा संयुक्त राष्ट्रसंघ जस्ता निकायको शरण ? प्रश्न जटिल छ । मलाई लाग्छ यी दुबै बिकल्प हाम्रा लागि फलदायी वा परिणाममुखी हुने संभावना अत्यन्तै न्यून छ । सैन्य बिकल्पका बारेमा त हामी सोच्नै सक्दैनौँ । दोस्रो बिकल्पका बारेमा बहस हुन सक्छ । यसका लागि बिस्तृत लामो छुट्टै सोच बिचारको जरुरत छ । यसबारे उपयुक्त समयमा बेग्लै आलेख प्रस्तुत गर्नेछु ।

त्यसो भए बिकल्प के त ? एउटै बिकल्प हो–वार्ता र समझदारी । त्यसै क्रममा अन्तर्राष्ट्रिय अदालत वा संयुक्त राष्ट्रसंघ होइन, विश्व समुदायबीच नेपालको पक्ष सप्रमाण पेश गरेर लबिङ गरिनुपर्छ । बिशेषतः भिटो राष्ट्रहरू र युरोपका प्रभावशाली मुलुकहरू समक्ष नेपालको पक्ष अकाट्य तर्कसहित द्विपक्षीय रुपमा प्रस्तुत भएर अन्तर्राष्ट्रिय जनमत तयार गरिनु पर्छ । यो काम बिना हल्लीखल्ली चुपचाप गरिनुपर्छ ।

एउटा राम्रो कुरो के हो भने स्वयं भारतले काली नदी (महाकाली) लाई सिमाना भनेर स्वीकार गरेको छ । भारतीय सेनाध्यक्षले समेत यो तथ्यलाई स्वीकार गरेका छन् । यतिबेला भारतले काली नदीमा मिस्सिन पुग्ने एउटा सानो खोल्सोलाई काली नदी नामकरण गरिदिएको छ । अब हामीले लिम्पियाधुराबाट निस्कने मूलधारलाई नै काली नदि हो भन्ने प्रमाणित गरिदिन सक्यौं भने भारत पन्छिन पाउँदैन । ऐतिहासिक दस्तावेज र नक्साका आधारमा यो काम त्यति कठिन नहोला ।

तर त्यो भूमि भारतको लागि सामरिक दृष्टिले अत्यन्तै महत्वपूर्ण छ र त्यसैकारण हतपती भारत त्यहाँबाट हट्ने छैन भन्ने दिमागमा राख्दा राम्रो हुन्छ । भारतको त्यो आवश्यकतालाई कुनै ढंगले संबोधन गर्न सकिन्छ कि भनेर तयार भएर जानु उत्तम हुन्छ ।

तर हामीले के गर्‍यौं ? कुरो नचपाई भन्नुपर्दा केपी ओलीले यो मुद्दालाई आफ्नो पार्टी भित्रको कलहका कारण हल्लिएको आफ्नो सिंहासनलाई जोगाउने अचूक अस्त्रका रुपमा मात्र प्रयोग गरे । फगत ‘अद्वितीय राष्ट्रबादी काम’ को स्याल हुइयाँ मच्चाएर आफूलाई सुदृढ बनाउने अमोघ बाणका रुपमा नेपालको नक्सालाई प्रयोग गर्ने काम भएको छ । अशिक्षित वा अल्पशिक्षित जमातका बीच उभिएर । ‘चटपटे, कामूक र आकर्षक’ उखान टुक्का भट्याएर ताली खाने बानीका कारण बाध्य प्रधानमन्त्रीले ‘चिनियाँ भाइरस भन्दा भारतीय भाइरस कडा’ जस्ता आफ्नो प्राधिकार भित्र नपर्ने बिशुद्ध बैज्ञानिक बिषयलाई हल्का ढंगले प्रस्तुत गरे ।

मुलुकका प्रधानमन्त्रीले संसदमा उभ्भिएर के त्यो भनिरहनु जरूरी थियो ? बास्तवमा उनलाई त्यसो भनिरहँदा मात्र संसदमा बज्ने दुईचार थप थपाहटले उक्साएको थियो । अनि कुनै राष्ट्रको प्रतीक चिन्हलाई आफ्नै ढंगले ब्याख्या गर्ने वा होच्याउने उनलाई हक थियो ? बास्तवमा उनलाई भारतको प्रतीक चिन्ह अशोक स्तम्भमा अंकित चार सिंह (तीन दृष्य, एक लुप्त) को अर्थ नै थाहा रहेनछ जस्तो लाग्छ । त्यो चिन्ह सम्राट अशोकले गौतम बुद्धले पहिलो प्रबचन दिएको स्थान सारनाथमा स्थापना गरेका थिए । ती चार सिंह शक्ति, साहस, आत्मबिश्वास र गौरबको प्रतीक हो । त्यसमा बौद्ध धर्मावलम्बीहरुको आस्था गहिरोसंग जोडिएको छ भने अर्कोतर्फ आम भारतीयको निष्ठा पनि जोडिएको छ । एक प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिन सुहाउँछ ? भारतका बिरुद्ध हिनभावनाले ग्रस्त अशिक्षित वा अर्धशिक्षित ‘जोशिला ठेट्ना’हरू बीच खड्गप्रसाद शर्माको यो शैलीले निक्कै वाहवाही र ताली पाउँथ्यो होला ।

अहिले भने यी अभिव्यक्तिहरुले प्रत्युत्पादक परिणाम दिएको स्पष्टै अनुभव हुन्छ । स्याल हुइयाँ मच्चाउन निक्कै खप्पिस भारतीय मिडिया अहिले प्रधानमन्त्रीका यिनै हल्का एव गैरजिम्मेवार अभिव्यक्तिलाई भजाउँदै छ । ‘हल्का चिनियाँ भाइरस’को अनावश्यक टिप्पणीले भारतलाई नेपालमा चीनको फैलिँदो प्रभावको हल्ला फैलाउने मौका दिएको छ ।
भारतको मिडिया यतिबेला लिपुलेक र लिम्पियाधुराको भन्दा बढी प्रधानमन्त्रीका यिनै अभिव्यक्तिको प्रचार गर्दैछ । हाम्रा प्रधानमन्त्रीले भारत बिरोधी भावनालाई उचालेर आफ्नो राष्ट्रबादी छवी तीन करोड नेपाली बीच स्थापित गर्ने कसरतमा जुटेका छन् भने भारतीय संस्थापना चाहिँ चीन विरोधी भावना एक अर्ब ३० करोड जनतामा फैलाएर आफू ‘सच्चा’ भएको प्रमाणित गर्न उद्यत देखिन्छ । कुन बढी उत्पादक वा असरदायी अथवा आ-आफ्नो मुलुकको हितमा प्रभावकारी ठहर्ला ?

कुनैपनि युद्धमा यदि आफ्नो छनौटको अस्त्र, मैदान र मुद्दामा लड्न पाइयो भने आधा जित सुनिश्चित हुन्छ भनिन्छ । हाम्रा प्रधानमन्त्रीले भारतलाई ‘भारतको अपमान’ भएको मुद्दा, ‘चीनको प्रभाव’ नाम गरेको अस्त्र र सबल भारतीय प्रचारतन्त्र युद्ध मैदानका रुपमा चाँदीको थालमा राखेर उपलब्ध गराइदिए । यस्तो युद्ध जितिने संभावना लगभग शून्य हुन्छ । तर यसमा प्रधानमन्त्री चिप्लिएको भन्ठान्नु गलत हुन्छ । उनले जानीजानी यी ‘गल्ती’ गरेका हुन् किनकी उनको उद्देश्य युद्ध जित्नु अर्थात् गुमेको भूमि प्राप्त गर्नु नै थिएन । उनी त यो मुद्दा सदासर्बदा कायम रहिरहोस् भन्ने चाहन्छ्न् । यसैको आडमा आफ्नो ‘राष्ट्रबादी’ छवि प्रखर बनाएर अनन्त कालसम्म सिंहासनमा टिकिरहन सकिन्छ भन्ने उनको निष्कर्ष हुनुपर्छ । हेरौँ बादशाहले लुगा नलगाएको कुरो स्पष्ट हुन कति समय लाग्छ ।

टिप्पणी थप्नुहोस्