युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजलाई कारवाहीको चेतावनी

-राधेश्याम विश्वकर्मा

भैरहवा । आफैंले गरेको वाचाबाट पछि हटेपछि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजलाई प्रदेश ५ सरकारले कारवाहीको चेतावनी दिएको छ ।

कोभिड–१९ को महामारीमा अस्पताल आफ्नो दायित्वबाट पन्छेर प्रदेश सरकारलाई सहयोग नगरेको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको आरोप छ । मन्त्रालयको निर्देशन उल्लंघन गरेको भन्दै सो मेडिकल कलेजले सहयोग नगरेपछि प्रदेश ५ सरकार असन्तुष्ट बन्दै चेतावनीयुक्त पत्र काटेको छ ।

सरकारले अघि सारेको योजनाहरु कार्यान्वयनमा सो कलेजले वेवास्ता गरेको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले कोभिड–१९ का बिरामीलाई उपचार गर्ने क्रममा सो मेडिकल कलेजले आनाकानी गर्न सुरु गरेपछि मन्त्रालयले चेतावनीयुक्त पत्र काट्नु परेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डाक्टर उमाशंकर प्रसाद चौधरीले बताए ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजसहित प्रदेशका सवै मेडिकल कलेजलाई कोभिड–१९ को व्यवस्थापनमा सहयोग भनिएको थियो । सो अनुसार उक्त कलेजलाई पनि कोभिड–१९ का बिरामीलाई उपचारमा जनशक्ति पठाउन र त्यहाँ छुट्याइएको २० बेडमा बिरामी भर्ना गर्न भनिएको थियो । तर कलेज अटेर गरेको छ ।

मन्त्रालयका अनुसार उक्त मेडिकल कलेजलाई तीन जना फिजिसियन कन्सल्ट्यान्ट, ६ जना मेडिकल अधिकृत र ९ जना नर्सिङ स्टाफ तोकी कोरोना विशेष अस्पतालमा खटाउन निर्देशन दिएको थियो ।

त्यसैगरी २० वटा वेड आइसोलेसन बेडको लागि छुट्याउनका लागि पनि भनिएको थियो । तर उक्त मेडिकल कलेजले अहिलेसम्म आइसोलेसन बेडमा बिरामी राख्न नचाहेको र जनशक्ति पनि नपठाएको डाक्टर चौधरीले बताए ।

मन्त्रालयले शुक्रवार काटेको पत्रमा निर्देशन अटेर गरेको हुँदा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजलाई प्रचलित कानुनका आधारमा कारवाही प्रकृया अघि बढाउने चेतावनी दिइएको उल्लेख छ । मेडिकल कलेजले चैत्र महिनामा मन्त्रालयले पत्राचार गर्दा कोभिड–१९ मा कलेजमै २० बेड छुट्याउने र जनशक्ति पनि पठाउने प्रतिबद्धता जनाएको थियो ।

यता कलेजले कोरोना पोजिटिभ बिरामीको उपचार गर्ने भनेर प्रतिवद्धता नजनाएको दावी गरेको छ । “मेडिकल कलेज कोरोना बिशेष अस्पताल नभएको कारण यहा पोजिटिभ बिरामी राखेर उपचार गर्न सकिन्न ।” युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङ्गले भने “अस्पतालले १० वटा बेड छुट्टयाएको छ, तर त्यो कोरोना पोजिटिभको लागी नभई फिभर क्लिनिकमा आएका शंकास्पद बिरामीको लागी मात्र हो ।”

गुरुङ्गले अस्पताल ब्यवस्थापन भने उपचारको लागी वाचा गरे अनुसारको जनशक्ति पठाउन प्रतिवद्ध रहेको बताए । तर त्यसको लागी पनि प्रदेश सरकारको मातहत रहेका कर्मचारीलाई पहिला परिचालन गर्नुपर्ने र त्यसको जानकारी कलेजलाई पनि दिनुपर्ने अडान राखेको छ । प्रदेश सरकारका कर्मचारीले धान्न नसकेको अवस्थामा मात्र मेडिकल कलेजले जनशक्ति पठाउने गुरुङ्गले बताए ।

नीजि क्षेत्रको उक्त स्वास्थ्य संस्थाले जनशक्ति परिचालन नगर्दा सेवा प्रवाहमा असहजता भएको मन्त्रालयको भनाइ छ । अहिले प्रदेश नं ५ मा ४ वटा कोरोना विशेष अस्पतालमा संचालन गरिएको छ । त्यसैगरी आईसोलेसन अस्पताल वेड भएको ५० वटा अस्पताल रहेका छन । अहिलेसम्म चारवटा विशेष अस्पतालका अलवा केही निजी सहित विभिन्न अस्पतालहरुमा कोरोना संक्रमित राखिएको छ । प्रदेशमा करिव सातसय स्वास्थ्यकर्मीहरु रहेका छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री