अन्तरजातीय जोडी छुटाउन र विवाह रोक्न त्यो षड्यन्त्र

काठमाडौं ।अहिले अमेरिकाको न्युयोर्कमा बस्दै आएका दीपक परियार र बसन्ता खड्काले झण्डै २० बर्ष अगाडि अन्तरजातीय विवाह गरेका थिए, नेपालमा । तर यो विवाहलाई जोगाउन र वैधानिक बनाउन भने उनीहरुले निकै संघर्ष गर्नुपरेको थियो ।

२०५४ सालमा दिपक परियारले बुटवलमा नयाँ दिशा दैनिकमा काम गर्थे । बसन्ता खड्का सीएमए पढ्नका लागि बुटवलमा आफन्तकोमा बस्थिन् । एउटै टोलमा बस्ने भएकाले उनीहरुको बेलाबेलामा भेटघाट हुन्थ्यो । उनी बस्ने आफन्तको घरमा दिपक पत्रिका पुर्याउन जान्थे । त्यतीबेला नै उनीहरुको देखादेख भयो । वैचारिक हिसाबले पनि निकट भएका कारण भेटघाट भइरहन्थ्यो ।

दिपक सम्झिन्छन् – ‘उनलाई देख्ने बित्तिकै मेरो उनीप्रति झुकाव बढ्यो । पछि त्यो प्रेममा परिणत भयो । हाम्रो प्रेम निकै सादगी खालको थियो ।’ पढाई सकेर बसन्ता प्युठान ओखरकोट घरमा फर्किन । प्युठान फर्केपछि भने उनीहरुको लामोसमय भेटघाट हुन पाएन । २०५६ सालमा दिपक एउटा भैलो कार्यक्रमको शिलशिलामा प्युठान पुग्दा उनीहरुको पुन भेटघाट भयो । उनीहरु महिलाहरुको एउटा कार्यक्रममा भाग लिने क्रममा एउटै गाडीमा सँगसँगै आए ।

एकजना स्थानीय नेताले सोही कार्यक्रममा उनीहरुको विवाह हुनसक्ने र त्यहीबाट भागेर जानसक्ने अनुमान गरेपछि विवाह रोक्ने षड्यन्त्र बनाए । त्यसपछि बसन्तालाई बुबा विरामी भएकाले घरमा जानुपर्ने भन्दै त्यहीबाट फर्काइयो । यद्यपी उक्त कार्यक्रमबाट विवाह गर्ने दिपक र बसन्ताको कुनै योजना भने थिएन ।

बुबा विरामी भएको खबरपछि बसन्ता घर फर्किन् । दिपक बुटवल फर्के । तर घरमा पुगेपछि बुबा विरामी नभएको र आफूलाई अलग्याउन गलत खबर दिइएको चालपाइन बसन्ताले । दीपक बुटवलमै थिए । उता वसन्ताको अर्कैसँग विवाह गरिदिने कुरा चल्न थाल्यो ।

त्यतीबेला मोबाइलको फोनको सुविधा थिएन । उनले दीपकको अफिसमा फोन गरेर यसबारे जानकारी दिइन् सम्झिन्छन् – ‘मेरो विवाहको कुरा चलेपछि मैले नयाँ दिशाको अफिसमा फोन गरेर सबै जानकारी गराएँ । किनभने या त मैले विद्रोह गरेर निस्कनुपर्ने थियो या त मैले परिवारले भनेको व्यक्तिसँग विवाह गर्नुपर्ने थियो । पत्रिकाको कार्यालयमा फोन गर्दा दीपकजीसँग भेट भएन । पत्रिकाका सम्पादक सुमन अधिकारीलाई सबै जानकारी गराएँ । उहाँले मलाई तुरुन्तै बुटवल आउन सुझाव दिनुभयो ।’

भोलिपल्ट उनले भागेर बुटवल जाने योजना बनाइन् । दीपकले बुटवलबाट एकजना व्यक्तिलाई लिन समेत पठाए । बसन्ताले बुटवल जानु अगाडि मावलकी हजुरआमालाई भेटिन् । त्यसपछि बिजुवारमा पढ्ने भाई र त्यही नजिकै सानिमालाई भेट्ने बहाना बनाएर उनी घरबाट निस्किन् । तर उनको योजना बुटवल आउने थियो । घरबाट उनी झण्डै २ घण्टा हिडेर गइन् । बुटवलबाट लिन पठाएका व्यक्ति त्यहाँ पुगिसकेका थिए ।

दम्तीमा गाउँकै दिदीको होटल थियो । उनी त्यहाँ केहीबेर बसेर चिया पिइन् । ती दिदीले कता जान लागेको भनेर सोध्दा बसन्ताले विजुवारमा भाईलाई भेट्न जान लागेको बताइन् । त्यसपछि बुटवलबाट लिन पठाएका व्यक्तिका साथमा वसन्ता विजुवार आइन् ।

विजुवारबाट भालुवाङसम्म आउने कुनै बस पाइएन । त्यसपछि दुईजनाले १५ सय रुपैया तिरेर एउटा बस रिजर्भ गरे । अनि उक्त बसमा भालुवाङ आए । तर बस रिजर्भ गरेर आउँदै गर्दा एकजनाले देखेछन् । त्यसपछि वसन्तालाई लिन गएका व्यक्तिले नै बसन्ताले भगाएको हल्ला चल्यो गाउँतिर ।

भालुवाङ आइसकेपछि त्यहाँबाट वुटवल आउनका लागि सेटिङ मिलाइयो । बसन्ताका प्राय आफन्तहरु पार्टीको राष्ट्रिय सम्मेलनमा व्यस्त भएकाले कसैले पनि चाल पाएनन् । दीपक केही साथीहरु लिएर भालुवाङ पुगे । र भोलिपल्ट बसन्तालाई लिएर सार्वजनिक बसमा बुटवल आए । त्यसपछि ठूटे पिपलमा एकजना साथीकोमा आएर बसे ।

भोलिपल्ट सिमा काटेर भारत जाने योजना बन्यो । किनभने नेपालमा बसेको खण्डमा बसन्ताका आफन्तहरुले थाहापाएपछि विवाह विथोल्ने सम्भावना थियो । त्यसैले भोलिपल्ट विहान सुनौली नाकाबाट रिक्सा चढेर उनीहरु भारत पुगे । दीपकका बुबा भारतीय सेनामा भएका कारण र राजनीतिक शिलशिलामा पनि दीपक भारतमा गइरहने भएकाले उनलाई त्यतातिरको सबै आइडिया थियो ।

गोरखपुरमा दीपकका मामाको घर भएकाले पनि उनीहरुलाई सहज थियो । उनीहरु सिमा काटेर सुनौलीबाट गाडी चढेर गोरखपुरमा माइलामा मामाको घरमा पुगे । अनिमात्र उनीहरुलाई सुरक्षित भएको महसुस भयो ।

दिपक सम्झिन्छन् – ‘त्यसपछि हामीले विवाहलाई बैधानिकता दिन विवाहको कार्यक्रम गर्ने योजना बनायौं । कानपुरबाट बुबा र नेपालबाट दिदीहरु पनि गोरखपुर आउनुभयो । बुटवलका केही पत्रकार पनि जानुभयो । त्यसपछि हामीले त्यहाँ सामान्य रुपमा विवाह गर्यौं । फोटो प्रिन्ट गरेर पत्रिकामा पठाइयो ।’

विवाह लगत्तै दीपक र बसन्ताको पत्रिकामा अन्तरजातीय विवाहको समाचार आएपछि सबैतिर हंगामा भयो । दीपक र बसन्ताको विवाह भएको खबर बुटवलहुँदै प्युठानसम्मै फैलियो ।

सबैजना मोहनबिक्रम सिंहकै पार्टीका कार्यकर्ता भएपनि बसन्ताका माइतीपक्षका केही व्यक्ति विवाहको विरुद्धमा उत्रिए । त्यसपछि बसन्ताका माइतीपक्षका केही व्यक्ति दीपकको कपिलबस्तुको घरदेखि बुटवलसम्म खोज्दै आए । दीपकको सम्पर्क भएका प्राय सबै स्थानमा उनीहरु सोधीखोजी गर्दै आए । वसन्ताले परियारसँग विवाह गरेकाले जसरी पनि फर्काउनुपर्ने योजनामा उनीहरु थिए ।

दीपक र बसन्ताले गोरखपुरमा मसिंर ४ गते विवाह गरेपछि कानपुरतिर लागिसकेका थिए । कानपुरमा दीपकका बुबा बस्ने भएकाले उनीहरुलाई त्यहाँ खास गाह्रो भएन । उनीहरुले विवाहलाई वैधानिकता दिनका लागि त्यहाँ कानुनी कागजातसमेत बनाए । बुबाले कानपुरमा आर्मी कलोनीमा विवाह सहितको भोज आयोजना गरियो ।

‘आर्मी कलोनीमा मैले बसन्ताले अझ सामाजिकरूपमा बलियो बनाउँन तेश्रोपटक विवाह गरें । किनभने हामी जसरी भएपनि विवाहलाई स्थापित गर्ने र बैधानिकता दिने योजनामा थियौं,’ दीपकले बताए ।

यता बसन्ताका माइतीपक्षका आफन्तहरु कानपुरमै गएर भएपनि दीपक र बसन्तालाई भेट्ने तथा जोडी छुटाउने योजनामा लागे । विचित्र त के छ भने अन्तरजातीय जोडी छुटाउन लागिपरेकाहरु प्राय सबै आफूलाई कम्युनिष्ट बताउनेहरु थिए । राजनीतिक दल एउटै भएकाले उनीहरुले राजनीतिक दलको च्यानल प्रयोग गरेरमात्र कानपुर आउनुपर्ने थियो । उनीहरुले पार्टीको केन्द्रीय कार्यालयमा दवाव सृजना गरे । पार्टी केन्द्रीय कार्यालयले कानपुरको स्थानीय पार्टी च्यानल एकता समाजको कानपुर नगर समितिलाई पत्र लेख्यो – ‘दीपक परियार र उनकी श्रीमति वसन्ता खड्कासँग भेटघाटको व्यवस्था मिलाउनु ।’

त्यसपछि पत्र लिएर चारजना व्यक्ति वसन्तालाई फर्काउन एकता समाजको कानपुर नगर समितिको सम्पर्कमा पुगे । एकता समाजले बैठक बसाल्यो । बसन्ताका माइतीपक्षका व्यक्तिले दीपकलाई आक्रमक रुपमा भने – ‘तैंले सर्किनीलाई लगेर जानुपर्ने थियो । हाम्री चेलीलाई तैले बिगार्ने रु’

दीपकले शान्त तरिकाले भने – ‘हामी दुबैजना उमेर पुगेका हौं । त्यसैले राजीखुशीले विवाह गरेका हौं । यदि तपाईलाई मैले उनलाई ललाईफकाई ल्याएको जस्तो लाग्छ भने उनीसँग एकान्तमा कुरा गर्नुहोस् । यदि उनी जान चाहन्छिन् भने लैजान सक्नुहुन्छ ।’

दुबैपक्षबीच केहीबेर चर्काचर्की समेत भयो । वसन्तालाई उनका आफन्तले एकान्तमा लगेर कुरा पनि गरे । बसन्ताले अहिले आफू नफर्कने, पछि दुईचारमहिनापछि भेट्न आउने बताएर उनीहरुलाई फर्कन अनुरोध गरिन् । केही सिप नलागेपछि उनीहरु त्यहाँबाट फर्के ।बसन्ता, दीपक र एकता समाजका व्यक्तिले उनीहरुलाई रिक्सामा चढाएर विदाई गरे ।

झण्डै एकबर्ष बसन्ता र दीपक पुस्तक पसल खोलेर दिल्लीमा बसे । जुन पुस्तक पसलका लागि सबै सहयोग पार्टीले गरेको थियो । यो उनीहरु त्यहाँ विभिन्न राजनीतिक कार्यक्रममा पनि सहभागी भए ।

झण्डै एकबर्षपछि भने दीपक र बसन्ता बुटवल फर्के । दीपक एकमहिना बसेर दिल्ली फर्के, बसन्ता कपिलबस्तुमा रहेको दीपकको घरमा तीनमहिनाजति बसिन् । पछि दीपक पनि दिल्लीबाट सधैका लागि फर्केपछि दुबैजना बुटवलमा बस्न थाले । पहिले आफूले बेच्ने पत्रिका नयाँ दिशाको प्रबन्ध व्यस्थापक भएर दीपकले काम गर्न थाले ।

विवाह पछि पहिलोपटक आमासँग भएको भेटबारे बसन्ता सम्झिन्छन् -‘बुटवल आएको झण्डै ६ महिनापछि बुबाआमा मलाई भेट्न प्युठानबाट हिड्नुभयो । तर कपिलबस्तुको शिवपुरमा रहेको फुपुको घरमा पुगेपछि बुबाले बुटवल आउन मान्नुभएन । फुपु र आमामात्र बुटवल आउनुभयो । म त्यतीबेला दाङमा लोकसेवा आयोगको परीक्षा दिन गएपनि आमा बुटवल आएको थाहा पाएपछि म बुटवल आएँ ।’

त्यसको तीनचारमहिना पछि बुबा भेट्न आएको प्रसंग सम्झिदा बसन्ता अहिलेपनि भावुक हुन्छिन् । त्यतीबेला विवाह भएको दुईबर्ष भइसकेको थियो । बसन्ता भन्छिन् – ‘बुबा मलाई भेट्न बुटवल आउनुभयो । म बुबालाई भेट्न तल झरें । तर मेरो मुखमा हेर्ने बित्तिकै रुन थाल्नुभयो । र केही नबोली फर्कनुभयो । म पछि पछि गएँ । तर बुबाले पर्खनुभएन ।’

विवाह भएको झण्डै ४ बर्षपछि तिहारमा वसन्ता आफ्नो माइती प्युठान गइन् । उनलाई कसैले पनि किन विवाह गरेको भनेर सोधेनन् । यद्यपी विवाह स्वीकार्न भने सबैलाई गाह्रो भइरहेको थियो । झण्डै एकमहिना माइतीमा बसेर बसन्ताले क्रमश वातावरण सुधार्दै लगिन् ।

एकमहिनापछिको कुलपूजामा दीपकलाई पनि निम्ता दिइयो । विवाह गरेको ४ बर्षपछि पहिलोपटक ससुरालीमा जाँदा दीपक उत्साहित नै थिए । तर एक्लै जाने हिम्मत आएन । त्यसपछि उनी एकजना स्थानीय नेतालाई लिएर मोटरसाइकलमा ससुराली गाउँमा पुगे, राती ८ बजेतिर । तर सिधै घरमा नपुगी राती घर जोडीएको बसन्ताको साईलो बुबाको घरमा बसे ।

भोलिपल्ट विहान दीपकलाई कसरी ससुरालीको घरभित्र भित्राउने भन्नेबारे योजना बनाइयो । दीपक सम्झिन्छन् – ‘त्यतीबेला मलाई ससुरालीमा भित्राउँदा दुलही भित्राएजस्तो भयो । सुरुमा वसन्ताको भिनाजुले दीपकलाई सिधै कुलदेवता हुने तलामा लग्नुभयो । उहाँ अलिक प्रगतिशिल हुनुहुन्थ्यो । त्यसपछि बुबाआमाले टिकोटालो गरेर औपचारिक रुपमा ज्वाई स्वीकार्नुभयो ।’

त्यसपछि ससुरालीसँग सम्बन्ध सुमधुर हुदै गयो । बसन्ताका माइतीपक्षका दाजुभाईले पनि दीपकलाई ज्वाईं स्वीकारे । दीपक बुटवलको नयाँ दिशा दैनिकका प्रबन्ध व्यस्थापक हुँदै रेडियो जागरणको निर्देशक र जागरण मिडिया सेन्टरमा कोषाध्यक्ष भएर काम गरे । बसन्ताले बुटवलमा दलित महिला संघमा काम गरिन् भने बुटवल अस्पतालमा पनि ४ बर्ष काम गरिन् । यो क्रममा उनीहरु धेरैपटक बसन्ताको माईती आवतजावत गरे । यो बीचमा बसन्ताका माइतीपक्षले दीपकलाई भावनात्मक रुपमा समेत स्वीकार्दै गए ।

जागरण मिडिया सेन्टरमा महासचिव एवं प्रथम उपाध्यक्ष भएर काम गरेका दीपक भन्छन् – ‘त्यसपछि म जाँदा त्यहाँ कुनै विभेद गरेको अनुभव हुँदैन । उहाँहरुले त्यस्तो कुनै विभेदको भावना व्यक्त गर्नुहुन्न ।’ khasokhas.com

टिप्पणी थप्नुहोस्