नाँच्दै-गाउँदै घर फर्किए कोरोना संक्रमित

-राधेश्याम विश्वकर्मा

भैरहवा । भारत गोण्डा जिल्लाका प्रदिप पाण्डे लकडाउन अगावै नवलपरासीको रामग्राम नगरपालिकामा भागवत वाचन गर्न आएका थिए । भागवत वाचनपछि घर फर्किन खोज्दा उनलाई भैरहवाको प्रतिमान निमा प्रतिष्ठानको कलेजमा क्वारेन्टाइमा राखिएको थियो । जहाँ उनको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखियो ।

१८ दिनअघि उपचारको लागी भैरहवाको भीम अस्पतालमा भर्ना भएका प्रदिप आइतबार डिस्चार्ज भएका छन् । कोरोना जितेर घर फर्किदै गरेका उनी कोरोनाबाट आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउँछन् । उनले अस्पतालमा परिवारको जस्तै वातावरण पाएको समेत बताए । ‘भारतमै उपचार गराएका भए यति माया र स्नेह पाउने थिईन तर भीम अस्पतालमा घरकै जस्तो माया र स्नेह पाए,’ पाण्डेले भने । उनले कोरोनालाई पराजित गर्न अस्पतालको वातावरण र आफुभित्रको आत्मबल दुवै उत्तिकै आवश्यक रहेको प्रतिक्रिया दिए ।

प्रदिपजस्तै अनुभव छ अर्का संक्रमित भरथरी पासीको । श्रीमती, ५ र ७ बर्षीया दुई छोरी, ठूलो दाईसहित उपचार्रत रहेको पासीले आत्मबल राखे कोरोना कुनै ठूलो रोग नभएको प्रतिक्रिया दिए । उनले उच्च आत्मबल राखे कोरोनालाई सहजै परास्त गर्न सकिने बताए । भारतको मुम्बईमा रोजगारी गर्ने उनी परिवारसहित अवैध बाटो हँुदै नेपाल छिरेका थिए । परिवारकै ६ जनालाई कोरोना संक्रमण देखिएपछि सुरुमा केही आत्तिएका भरथरी बिस्तारै यसको अभ्यस्त भएको बताए ।

पाण्डे र पासीजस्तै भैरहवाबाट २५ जनाले कोरोना माथी बिजयी पाउँदै घर फर्किएका छन् । रुपन्देहीको गैडहवा गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका, कपिलवस्तु, नवलपरासी र भारतका समेतगरी करिब २० दिनदेखी उपचार गराई रहेका २५ जना आइतबार डिस्चार्ज भएर घर फर्किएका छन् । कोरोना माथी बिजयी पाएको अवसरमा यी २५ जनाले आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुसंगै नाचेर बिजय उत्सव समेत मनाए ।

कोरोना संक्रमितहरु मात्र हैन उनीहरु निको भएपछि भीम अस्पतालका स्वास्थ्यकर्मी पनि उत्तिकै हर्षित र भावुक देखिन्थे । पाँच बर्षीया बालिका पनि उपचार गराईरहेकोमा उनीहरुको लगाव ती बालिकाप्रति बढेको थियो ।

रुपन्देही, कपिलवस्तु र नवलपरासीको पहिलो चरणमा कोरोना संक्रमित देखिएकाहरु भीम अस्पतालमा उपचार गराई रहेका थिए । कोरोना संक्रमणको पहिलो चरणमै प्रदेश सरकारको पहलमा अस्पतालाई आइसीयुसहितको कोरोना बिशेष अस्पतालको रुपमा स्थापना गरिएको थियो ।

प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले कोरोना संक्रमण देखिएका सबै बिरामीलाई प्रदेशभित्रै ब्यवस्थापन गरिएको बताए । उनले धेरैजसो बिरामीहरुको संघन लक्षण नदेखिएको कारण यसबाट आतंकित नहुन पनि आग्रह गरे ।

मन्त्री बरालले प्रदेश नम्बर ५ मा रहेको ४ वटा बिशेष अस्पतालले मात्र धान्न नसक्ने भएपनि अहिले प्रदेश सरकारले १ हजार ५ सय शैयाको आइसोलेसन केन्द्र निर्माणको थालनी गरेको जानकारी दिए ।

कोभिड पहिलो चरणको अस्पताल रहेको भिम अस्पतालमा ५ वटा आइसीयुसहित २७ शैयाको कोरोना संक्रमितको उपचार गर्ने क्षमता रहेको छ । यसलाई प्रदेश सरकारले ५० बेड थप गर्ने निर्देशन र बजेट समेत प्रदान गरि सकेको कारण निकट भविष्यमै यहाबाट ७७ शैयाको कोरोना संक्रमितहरुको हुने भएको छ ।

टिप्पणी थप्नुहोस्