भारतीय भुमिमै नेपालीले लेखे ‘लिपुलेक हाम्रो हो’

-राधेश्याम विश्वकर्मा

भैरहवा । विश्व इतिहासमा नेपालीहरुको विरताको चर्चा हुने गरेको छ । अहिले पनि नेपालीहरुलाई आफ्नो सेनामा लिन विश्वका शक्तिशाली राष्ट्रहरु लालयीत रहने गरेका छन् । कारण नेपालीहरुको साहस र इमान्दारीता नै हो ।

यस्तै साहस एक जना नेपालीले भारतमा देखाएका छन् । अज्ञात नेपालीले भारतीय भुमिमा नेपालको नक्शा बनाउँदै ‘लिपुलेक हाम्रो हो’, ‘भारतीय बिस्तारवाद मुर्दावाद’ लेखेर आएका छन् ।

भारतको बिभिन्न भागमा काम गर्ने नेपालीहरु कोेरोना महामारीको कारण नेपाल फर्किदै गर्दा उनीहरुलाई भारतले आफ्नै देशमा क्वारेन्टाईनमा राखेको थियो ।

बेलहिया नाँका हुँदै फर्किने नेपालीहरुलाई भारतको सुनौली र नौतनवामा रहेको बिभिन्न १२ वटा क्वारेन्टाईनमा राखिएको थियो । यसै क्रममा नौतनवाको राजीव गान्धी पिजि कलेजमा राखिएका नेपालीहरु मध्ये कुनै एक जनाले त्यस कलेजको कालोपाटीमा लेखेका थिए ‘लिपुलेक हाम्रो हो’ । जुन अहिले सीमा क्षेत्रका बासिन्दाहरुमा चर्चाको बिषय बनेको छ ।

क्वारेन्टाईनमा बस्ने नेपालीले नेपालको नक्शा बनाउँदै त्यसमा लिपुलेक आफ्नो भुमि रहेको मात्र दर्शाएनन् भारतीय बिस्तारवादको बिरोध समेत गरे । नेपालीहरुले क्वारेन्टाई छोडेर गएपछि कलेजको सफाईकर्मीले सरसफाई गर्न जादा कालोपाटीमा नक्शा सहितको लेखाई भेटेको थिए ।  भारतीय क्वारेन्टाईनमा रहेका सबै नेपालीहरु अहिले आफ्नै देश फिर्ता भई सकेका छन् ।

टिप्पणी थप्नुहोस्