प्रहरीकै मिलेमतोमा तस्करी, स्थानीयद्वारा पक्राउ

-राधेश्याम विश्वकर्मा
भैरहवा । लकडाउनको मौका छोपी प्रहरीकै मिलेमतोमा सीमा क्षेत्रमा तस्करी बढेको छ । सीमाक्षेत्रमा अहिले शसस्त्र प्रहरीको बिभिन्न युनिटहरुको साथै नेपाल प्रहरी रहेपनि उनीहरुकै मिलेमतोमा बिभिन्न सामाग्री तस्करी भइरहेको छ ।

नेपालबाट मदिरा मात्र हैन, चुरोट र सुर्तिजन्य अन्य पदार्थको तस्करी बढेको छ । दिनरात भएको तस्करीबाट स्थानीयहरु आजित भएपछि अहिले आफैं तस्करहरुलाई पक्राउ गर्दै प्रहरीलाई बुझाएको खुलेको छ ।

तस्करी भईरहेको सूचना पटक पटक प्रहरीलाई दिइ नियन्त्रणको लागी प्रयास गर्दा पनि केही नलागेपछि तस्करी सहितको समाान प्रहरीलाई बुझाई रहेका छन् । रोहिणी गाउँपालिका वडा नम्बर २ मैनिहवाका स्थानीयहरुले तस्करीको सामान सहित प्रहरीलाई बुझाएको छन् ।

रोहिणी गाउँपालिका वडा नम्बर २ अन्र्तगत मैनिहवाबाट यसअघि पनि मदिरा तस्करी गरेको स्थानियहरुले गुनासो गरेका थिए । सीमामा सुरक्षा दिइ रहेको सुरक्षाकर्मीहरुकै सहयोगमा तस्करहरु सक्रिय भएपछि स्थानीयको सुनुवाई भएको थिएन । प्रहरी पनि स्थानियको गुनासो सुनेर नसुनेको झैं गरी तस्करलाई नै प्रश्रय दिइरहेको आरोप लाग्ने गरेको छ ।

“प्रहरीलाई तस्करीको सुराकी दियो भने उनिहरुले नै तस्करलाई जानकारी दिई जोगाउने गरेका छन्,” मैनिहवाका एक स्थानीयले भने । प्रहरीलाई गरिएको गुहार काम नलागेपछि स्थानीयहरु अहिले आफैं सक्रिय भएर तस्करीका सामान पक्रने र प्रहरीलाई बुझाउन थालेका छन् ।

शुक्रबार पनि एक बोरा सुर्तिजन्य पदार्थ गुल मन्जन भारत लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । उनीहरुले नियन्त्रणमा लिएको सामाग्री निवेदन सहित ईलाका प्रहरी कार्यालय धकधईमा बुझाएका छन् ।

स्थानिय महेश लोधले निवेदन दिदै लु११प ८३७३ नम्बरको मोटरसाईकलमा मैनिहवा गाउकै पवन धवल, रुद्र धवल र मोहित पाण्डेले तस्करी गर्दै गरेको उक्त सुर्तिजन्य पदार्थ नियन्त्रणमा लिएको बताएका छन् । तस्करी गर्ने यी युवाहरुले सीमा क्षेत्रमा रहेका अन्नबालीमा समेत नोक्सान गरेको हुँदा उनीहरुबाट क्षतिपूर्ति भराउन स्थानियले माग गरेका छन् ।

सीमा सुरक्षाको साथै शान्ती सुरक्षा गर्ने दायित्व रहेको सुरक्षाकर्मी नै तस्करीमा ब्यस्त हुँदा स्थानियहरु आफैं सक्रिय हुनु परेको उनीहरुको भनाई छ । ईलाका प्रहरी कार्यालय धकधईले पनि स्थानीयहरुले समान नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको पुष्टि गरेको छ । धकधईका प्रहरी नायब निरिक्षक हरि रानाले स्थानीयले बुझाएको सामाग्री र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाएको बताए । उनले समान ओसार प्रसार गर्ने ब्यक्तिहरु फरार रहेकोले उनिहरुको खोजी भई रहेको बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री