पाँच जनाको हत्या गर्ने झसेन्द्रः रक्सी पिउँथे, श्रीमतीसँग खटपट थियो

भैरहवा । रुपन्देहीमा मंगलबार एकाबिहानै पाँच जनाको नरसंहारले अहिले यहाको जनाजिवनलाई नराम्ररी त्रसित बनाएको छ । सामान्य रिसईवीले पनि कसरी नरसंहारको रुप लिन्छ यो घटनाले प्रमाणित गरेको छ ।

सामूहिक हत्याकाण्ड आफुले गरेको हत्यास्थल नजिकै लुकेर बसेका हत्या आरोपीले स्वीकार गरेको प्रहरीले बताएको छ । प्रारम्भिक बयानमा सुर्खेत घर भएका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवाले हानेर हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाई छ । उनी अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।

सोमबार राति तिलोत्तमा नगरपालिका वडा नं १० मैनहवा स्थित कृष्णबहादुर पुनको गंगादेवी पशु फार्ममा काम गर्ने तीनजना र गाउँका अरु दुईजना गरी पाँचजनाको हत्या भएको थियो ।

सैनामैना मुर्गियाका ४० बर्षिय माधव मुसहर, उनकी श्रीमती ३७ वर्षकी जानकी मुसहर, १४ वर्षीय रमेश भनिने पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र १७ वर्षीय आशिष चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी खडक् बहादुर खत्रीले जानकारी दिए ।

पोषराज भने अनाथ भएका कारण उनलाई फार्म संचालक कृष्ण बहादुर पुनले धर्मछोराका रुपमा पालेका थिए । करण र आशिष रमेस भन्ने पोषराजका साथी हुन । उनीहरु रमेशसँग समय बिताउनका लागि कहिलेकांही रातिमा गोठमा आएरै बस्ने गरेका थिए

श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि झसेन्द्र करिब डेढ महिनाअघि मात्रै सो फर्ममा काम गर्न आएका थिए । उनले श्रीमतीले छाडेर गएको र आफू एक्लै रहेकाले तनाव हुने गरेको स्थानीयसँग बताउँदै आएका थिए । फर्ममा काम गर्ने झसेन्द्र र माधव मुसहरका बिच कामको बिषयलाई लिएर सामान्य विवाद हुँदै आएको मृतकका आफन्तको भनाई छ ।

फर्म सञ्चालक कृष्ण बहादुर पुनका अनुसार पनि झसेन्द्र दैनिकजसो मदिरा सेवन गर्ने गर्थे । हिजो पनि खान खाएर एक बोतल मदिरा बोकेर झसेन्द्र फर्ममा पुगेका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खड्क बहादुर खत्रीका अनुसार मृतकहरुको टाउको र घाँटीमा चोट लागेको देखिएको छ ।

प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएका सिंजालीलाई प्रहरी कार्यालयमा राखेको छ भने शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल बुटवल लगेको छ । घटनाबारे थप अनुसन्धान भइसकेपछि मात्रै विस्तृत विवरण आउने घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीले बताए ।

टिप्पणी थप्नुहोस्