को गद्दार ? पुष्पलाल कि मोहनविक्रम सिंह ?

-पुरुषोत्तम लम्साल

श्रावण पहिलो हप्ता नेपाली राजनीतिका दुई शीर्ष पुरुषको सम्झनामा विविध कार्यक्रम आयोजना गरिन्छ । बिरालो बाँधेर गरिने श्राद्धको कथा र यी नेताका स्मृतिमा आयोजना गरिने कार्यक्रममा कुनै भिन्नता चाँहि छैन । ती व्यक्तित्वका आदर्श, सिद्धान्त, नीति, बिचार जतिसुकै भाडमा जाउन् तिनका शालिकमा फूलका थुंगा अर्पण गरिन्छ । ती व्यक्तित्वहरुको स्तुती, एकदिनकै लागि सही, सुमधुर धुनमा गाइन्छ । ती श्रेष्ठ पुरुषहरुलाई महिमामण्डित गर्नु, खैंजडी बजाउनु र भजन गाउनु हाम्रो संस्कार हो । हामी त्यसैमा अभ्यस्त छौं । ठग हुन्, दलाल हुन्, व्यभिचारी हुन्, भ्रष्टाचारले डामिएका हुन्, फौजदारी र नैतिक पतनका आरोपी हुन् सबैले एकस्वरमा ती व्यक्तित्वका गुणगान उधूम गाइरहेका हुन्छन् ।

म किञ्चित विस्मृत हुन्न । किनकि, म त्यही राजनीतिक संस्कारसँग अभ्यस्त छु ।

नेपालको राजनीतिमा आजको मितिसम्म जम्मा दुईवटा मात्र राजनीतिक पाठशाला अद्यावधि छ र छ जीवन्त र गतिशील । एउटा बीपी (विश्वेश्वरप्रसाद कोइराला) र अर्को पुष्पलाल पाठशाला । यी दुबै पात्र नेपालको अहिलेसम्मको राजनीतिमा सर्वाधिक प्रभाव राख्ने शीर्ष पात्र हुन् । राजनीतिको रथ जुन बाटोबाट गुडे पनि रथको एउटा पाङ्ग्रामा बिपी र अर्को पाङ्ग्रामा पुष्पलाल घुमिरहेका हुन्छन् र छन् ।

यसो भनौं, बिपी र पुष्पलाल आफैंमा नेपाली राजनीतिको खसोखास् ब्राण्ड हुन् । माल्दाई र सान्दाईका यो ब्राण्ड भजाएर खुद्रा पसल जतिसुकै खुलून्, जोसुकैले खोलुन्, जहाँ खोलून्, जहिल्यै खोलून् तिनीहरुले वा तिनीहरुको आफ्नै पहिचान न हिजो बन्यो, न आज बनेको छ न तत्कालै कसैले बनाउने सम्भावना छ । कम्तीमा मेरो पुस्ताले यी दुई ब्राण्डबाट अलग रहेर बनेको राजनीतिक पहिचानसहितको रथको अपेक्षा गर्नु ब्यर्थ छ ।

आदर्शको कसीमा यी दुई पात्र विपरीत ध्रुवका प्रतिनिधित्व गर्ने जस्ता लाग्लान् तर ब्यवहारतः दुबै एकअर्काका पूरक देखिन्छन् । जनवाद र समाजवादको वकालत गर्ने अनेक मार्ग हुन्छन् । समाजवाद र साम्यवादका पनि भाष्य अलगअलग छन् । लोकतन्त्र र गणतन्त्रका ब्याख्या पनि आआफ्नै छन् । लक्ष्य एउटै भए पनि लक्ष्यसम्म पुग्ने बाटो अलगअलग हुनसक्छ । सापेक्षतामा सन्दर्भ केलाउने हो भने इतिहासका अनेक मोडमा विपी र पुष्पलाल कहिले चुम्बकको विपरीत ध्रुबजस्तो, कहिले समान ध्रुवजस्तो देखिन्छन् । संघर्षको प्रधान शत्रु र गौण शत्रु केलाउँदा अलग लाग्लान् (राजासँग घाँटी जोडिएको बताउने बीपी र राजतन्त्र रहेसम्म प्रजातन्त्र सुरक्षित रहँदैन भन्ने पुष्पलाल) तर समाज, बर्ग, लोकतन्त्र र प्रजातन्त्रका भाष्यभित्र ती दुबै एउटै घेरामा अटाउँछन् । पुष्पलाललाई कांग्रेसी देख्ने आँखाले पनि यो तथ्य स्वीकार गर्नपर्छ र समाजवादी बीपीभित्र साम्यवादको अंश फेला पार्नेले पनि यो स्वीकार गर्नपर्छ । स्वीकार गर्नुहुन्न भने कृपया तपाईको चश्मामा दोष हुनसक्छ । फुकाल्दा हुन्छ ।

बीपी स्कूल अहिले क्रमशः अध्यापकविहीनसरह छ । जग बलियो भए पनि छानो चुहिने भएपछि बिसौनीमा बटुवाको अभाव भएजस्तो, बीपीप्रदत्त समाजवादको खाँबोमा धमिरा लाग्न थालेजस्तो, अँगेनामा आर्थिक उदारीकरण र पुँजीवादको धुँवा पुतपुताइरहे जस्तो, शिक्षक अभावमा बिद्यार्थी बिलखबन्दमा परेजस्तो चित्र छ बिपी स्कूलको । नेपाली कांग्रेसभित्र बीपी स्कूल बीपीको मृत्युउप्रान्त उसैगरी चलिरहेको छ, आलोचना, बहस, टिप्पणीभन्दा धेरै पर पुगेर पनि स्कूल चलिरहेकै छ । आजको कांग्रेस बैचारिक रुपमा मृतप्रायः हुँदै गइरहँदा पनि त्यसको लागि लाज ढाकिदिने क्षमता बीपीले नै राखिरहेका छन् । बीपीको शेषपछि जमेका गिरिजा र आजका शेरबहादुर दुबैबाट बिचार र सिद्धान्तमाथि बहसको अपेक्षा नै अर्थहीन हुँदा पनि बीपीको छानो अपरिहार्य भइरहेको हो । तर, हिजो बीपी थिए र आजसम्म कांग्रेस यो अवस्थामा टिकीरहेको छ भन्ने दिन आउनु सुखद् चाँहि होइन ।

बीपीको ३८ औं स्मृति दिवससम्म आइपुग्दा नेपाली कांग्रेसले बीपीलाई होइन आफैंलाई समीक्षा गर्न बीपीको आत्माले मद्दत गरुन् ।

पुनः पुष्पलालतिर,

राणाशाहीले गंगालाललाई मृत्युदण्ड दिंदै गर्दा (विस १९९७) पुष्पलाल (शहीद गंगालालका भाइ) प्रजातन्त्र संघ मार्फत् नेपालमा लोकतन्त्रको मोर्चा बनाउन अग्रसर थिए ।

पुष्पलालले २००५ मा कम्युनिष्ट घोषणापत्रको नेपाली अनुवाद गरेर साम्यवादी विचारधारालाई नेपाली माटोमा भित्र्याउने पहलकदमी लिएका थिए । माक्र्सवादको, साम्यवादको, नयाँ जनवादको वकालत र पक्षपोषण उनैले गरे । प्रवासमै रहेर नेपाली माटोमा कम्युनिज्मको बीज छर्न, बेर्ना उमार्न र त्यसलाई हुर्काउन लागि परे । त्यही बिरुवामा पलाएका पातहरु हुन् मनमोहन अधिकारी र मदन भण्डारीहरु । त्यही बिरुवाको हाँगा बनेका हुन नारायणमान बिजुक्छेहरु । त्यही बिरुवामा पलाएका ऐंजेरु हुन् केशरजंग रायमाझी र मोहनविक्रम सिंहहरु । त्यही बिरुवाको हाँगा हुन् सीपी मैनाली र पुष्पकमल दाहालहरु । त्यही बिरुवाको आँख्लाबाट निस्किएका हुन् मोहन बैद्य र नेत्रविक्रम चन्दहरु ।

पुष्पलाल चिन्न आजको पुस्ताले पुष्पलालको तात्कालीन कार्यनीति ठम्याए आजका को नेता कति पानीमा रहेछ भनेर छान्न कुनै जाली खरिद गरिरहनु नै पर्दैन । एक, सामन्तवाद (देशीय सामन्तवाद) र त्यसको नेतृत्व गर्ने राजतन्त्र लोकतान्त्रिक गणतन्त्रको मुख्य शत्रु हो । अर्थात् प्रधान शत्रु हो । साम्राज्यवाद र विस्तारवाद त्यसपछिका शत्रु हुन् । दुई, प्रधान शत्रु परास्त गर्न जनवादी (कम्युनिष्ट) र समाजवादी (कांग्रेस) को सहकार्य अनिवार्य छ । तीन, प्रधान शत्रु पराजित भएको अवस्थामा लोकतान्त्रिक गणतन्त्र र संघीय नेपाल सम्भव छ । चार, सामन्तवादलाई पराजित गर्न बर्गसंघर्ष अनिवार्य छ र त्यसको आधार किसान संघर्ष हो । पाँच, किसान संघर्ष र ग्रामीण बर्गसंघर्षको बलमा सामन्तवादले घुँडा टेकेपछि नयाँ जनवादको मार्गप्रशस्त हुन्छ ।

(हो यसैपछि हो नेपालमा कम्युनिष्ट समूहको अस्वाभाविक बृद्धि देखेर अमेरिकाले सहयोग दिंदा पनि रुस र चीन ध्रुवको नेपालमा बढ्दै गएको प्रभाव कम गर्न भन्ने पदावली प्रयोग गर्न थालेको । नपत्याए दस्तावेजहरु केलाउनुहोस् । आजको एमसीसी त्यो अनुपातमा नाथे केही होइन ।)

जहाँ जसले जसरी घुमाएर लेखे पनि वा अभिव्यक्ति दिए पनि पुष्पलाल यी पाँच बुँदामा अटाउँछन् । यसैभित्र चिनियाँ क्रान्ति पनि समेटिन्छ र साँस्कृतिक क्रान्ति पनि । यसैभित्र रुसी लेनिनको मार्ग पनि आउँछ र क्यूबाली क्रान्तिको चित्र पनि । बर्मा पुगेर छापामार तालिम लिएका पुष्पलालभित्र यही बिन्दूमा चे ग्वेभारासम्मको आकृति पनि केलाउन सकिन्छ । जानकारीका लागि, ज्ञानेन्द्रले अपहरण गरेको संसद् पुनस्थापना गर्न जसरी नेपाली कांग्रेस र तात्कालीन विद्रोही माओवादीले माग गरेका थिए, त्यहीबेला २०१७ सालमा महेन्द्रले अपहरण गरेको संसद् पुनस्र्थापनाको माग गरेका थिए पुष्पलालले ।

अर्को एउटा बुँदा छ, स्वच्छ चुनावी प्रतिष्पर्धा र मित्रवत् संघर्षको । यही बुँदाको जगमा टेकेर व्याख्या गरिएको हो जनताको बहूदलीय जनवादको । पुष्पलाललाई छद्यभेषी करार गर्दै, संशोधनवादीको बिल्ला भिराउँदै, अपराधी अपराध करार गर्दै जबजको ब्याख्या गरेका हुन् मदन भण्डारीले ।

रुपमा, मोहनविक्रम सिंहले ‘आनन्दबहादुर’‘को नाममा ‘गद्दार पुष्पलाल’ लेखे पनि सारमा मदन भण्डारी समूहले मोहनविक्रमभन्दा अगाडि बढेर पुष्पलाललाई संगठित आरोप लगाएर पुष्पलालकै मुद्दा अपहरण गरेर जबजको नगरा बजाएको स्पष्ट छ । तपाईले मदन भण्डारीको मुक्तिमोर्चा समूहका मुखपत्र हेर्नुभयो भने र कोमल भट्टराई, लोककृष्ण भट्राईका लेखनीमा प्रस्तुत दस्तावेजहरु केलाउनुभयो भने आज भाले जसरी बासिरहेको जबजलाई जबरजस्ती स्थापना गर्न भएका घृणित प्रयासहरुको पेटबोली पाउनुहुनेछ ।

शत्रुको शत्रु मित्र हुन्छ भन्ने शैलीमा दरबार र कांग्रेसभित्रको शक्तिसंघर्ष केलाउँदै पुष्पलालले नेपाली कांग्रेसलाई दुश्मन होइन मित्रशक्तिको रुपमा व्याख्या गरेका थिए । यही व्याख्यालाई आधार बनाएर कांग्रेसलाई दुश्मन देख्ने मोहनविक्रम सिंहको तप्काले पुष्पलाललाई गद्दारको बिल्ला भिराएको थियो । यो तथ्यलाई मोहनविक्रम सिंहले धेरै ठाउँमा र आज पनि आफूले गरेको गल्तीको रुपमा स्वीकार गर्ने गरेकाछन् ।

भारत, दरबार र कांग्रेसबीचको त्रिकोणात्मक शक्ति संघर्षमा पुष्पलालले संविधानसभा तत्कालका लागि असम्भव देखेर मुद्दा बनाएका रहेनछन् भनेर भन्न अझै पनि मोहनविक्रम सिंहहरुले सकेका छैनन् । यो सैद्धान्तिक शरमको पाटो हुनसक्छ । मोहन विक्रमहरुका लागि अझै पनि नेपालमा सशस्त्र विद्रोहको वातावरण छैन, माओवादीले १० वर्ष हतियार उठाउँदा पनि थिएन, पुष्पलालले बर्गसंघर्ष र ग्रामीण संघर्षको पक्षपोषण गर्दा पनि त्यो वातावरण थिएन । अनि पुष्पलाल चाँहि गद्दार मोहनविक्रमहरु चाँहि क्रान्तिकारी ?

मुद्दा त अहिले पनि छ । हिजोको रुसपन्थी कहाँ कुन कुनामा छन् र चीनपन्थी कहाँ छन् भनेर हेर्न अलि मोटो चश्मा चाहिने भएको छ । आन्दोलनको केन्द्र, लक्ष्य र निशाना कसलाई बनाउने भन्ने विषयमा आज पनि मोहनविक्रमहरु अलमलमै रहेको बेलामा मलाइ त्यो बेलाका पुष्पलाल खुब जँच्छन् । र, रायमाझीपन्थीहरुलाई प्रोत्साहन गर्ने मोहनविक्रम सिंहहरुले पुष्पलाल गद्दार लेखेको पढ्दा टीठ पलाउँछ ।

भलै मोहनविक्रम सिंहले आत्मालोचना गरे, पुस्तकको नाम नै फेरेर क्रान्तिमा भ्रान्ति बनाए । पुस्तकमा उल्लिखित सबै गद्दार शब्द हटाए । तर, जबजका तथाकथित भाष्यकार र तिनका शिष्यहरुले त्यहाँनेर हामीले गल्ती गरेका हौं भनेनन्, भनेका छैनन् । वर्षदिनको श्राद्धमा भजन गाएरै टार्नेहरु धेरै छन् धर्तीमा ।

हो, म त अझ पनि निर्धक्कसँग भन्छु नेपालमा पुष्पलालप्रदत्त रणनीति, पुष्पलालले अख्तियार गरेको कार्यनीतिलाई अवमूल्यन गर्दै जबजको पाठशाला जबरजस्ती स्थापना गर्ने प्रयास भएकै हो । र, जबज पुष्पलाललाई बद्नाम गर्न खोलिएको स्कूलले पुष्पलालकै पाठ्यक्रम तानतुन गरेर बनाएको संसदवादी जनवादको (!) को परिकल्पना हो ।

मदन भण्डारी निसन्देह वाककलाका धनी हुन् । उनका अभिव्यक्तिमा, सैद्धान्तिक बहसमा, दस्तावेज र प्रतिवेदनहरुमा उनको शिल्पसहितको बिचार अभिव्यक्त भइरहेको हुन्छ । तर, दरबारलाई श्रीपेच खोलेर चुनावी मैदानमा आउन ललकारेको उनको एउटा भाषण अहिले पनि ट्रेडमार्क जस्तै छ । यहींनेर म राजतन्त्रको सवालमा पुष्पलालको निरन्तरको अडान र बैचारिक अभियान आग्रही शिष्यजस्तो हुन्छु ।

प्रचण्डबाट पुष्पकमलमा विलय भएको अर्को स्कूल कालगतिले अहिले तिनै पुष्पलाल स्कूलमा घुलित छ । भलै जबज कि एक्काइसौं शताब्दीको जनवाद कि यी दुबै मिलाइएको दक्षप्रजापति भन्ने यकिन भएको छैन, तर माओवादीले उठान गरेको बर्गसंघर्ष, ग्रामीण संघर्ष वा माओविचारधारा उनीहरुको पनि आफ्नै होइन । त्यो पनि पुष्पलालकै खेतको एउटा ड्यांगबाट टिपिएको नयाँ जनबादका लागि नेपाली बाटो मात्र हो । सम्पूर्ण माओवादीले आजसम्म जनतालाई ढाँटिरहेको वा भन्न लाज मानिरहेको यो अर्को पक्ष हो जुन आँखिझ्यालबाट पुष्पलाल चिहाउँदा अझ व्यापक तस्वीर देखिन्छ ।

अन्त्यमा, गद्दार मोहनविक्रम कि पुष्पलाल ? भ्रान्तिको खेती गर्ने मदन भण्डारी, पुष्पकमल दाहाल वा मोहनविक्रम कि पुष्पलाल ? आजको मितिमा पुष्पलाल सही थिए भने कम्युनिष्ट आन्दोलनमा गद्दारी गरेको कसले ? राजतन्त्रविरोधी आन्दोलनमा क्षति पुर्याएको कसले ? सामन्तवादको पक्षपोषण गरेको कसले ? किसान संघर्ष र बर्गसंघर्षको परिकल्पनालाई मूर्तिकृत गर्ने अभियान थाल्ने पुष्पलाल क्रान्तिकारी वा पुष्पलालको पुरानो कार्यक्रमलाई निरन्तरता दिएका पुष्पकमल दाहाल क्रान्तिकारी ? स्वतन्त्रता, चुनावी प्रतिष्पर्धा र मित्रवत् संघर्षको जगमा टेकेर बनाइएको लेखिएको जनताको बहूदलीय जनवाद पुष्पलालको विचारधाराभन्दा कहाँ भिन्न छ ?

अहो ! जबजधारी अरिंगालहरुको गोलो वरिपरि रहेर यस्ता प्रश्न सोध्ने दुस्साहस गरेकोमा क्षमाप्रार्थी छु ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री