आउँदो चुनावपछि कांग्रेसको अस्तित्व सकिन्छ: गोविन्द जोशी

-रुपान्तरण संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा कांग्रेसले एकातिर राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनील थापा लगायतका नेता तथा कार्यकर्तालाई भब्य स्वागत सत्कारका साथ पार्टी प्रवेश गराउँदैछ भने अर्कोतिर पार्टीका पुराना नेताहरुलाई अनुशासनको कारवाहीका नाममा पार्टीबाट लखेट्दैपनि छ । तनहुँका नेता गोबिन्दराज जोशी र कैलालीका नेता पुष्कर ओझा र डडेलधुराका पार्टी कर्मचारी रामबहादुर बिष्ट पार्टीबाट निष्काशित भएका छन ।

कांग्रेसले संघीय संसदका लागि भएको बिगत चुनावदेखिका भँडास निकालेको छ । रमाइलो कुरा, यी कारवाहीको चरित्र संस्थागत नभएर निम्नस्तरका र ब्यक्तिगत प्रकारका छन । नेता गोबिन्दराज जोशीलाई कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई खुशीपार्न बली चढाइएकोछ भने कैलालीका नेता पुष्कर ओझा सभापति देउवाकी पत्नी आरजु देउवाको नाममा बली चढाइएका छन । यी दुइ हस्तीका अघिल्तिर रामबहादुर बिष्ट अदना भै गए ।

प्रसंगवश, मंगलवार रुपान्तरणसंगको भेटमा नेता जोशीको वयान :

रामचन्द्र पौडेलले सभापति देउवालाई गोविन्दराज जोशी र उनका समूहका मानिससंग नभेटने हो भने म सहयोग गर्छु भनेका रहेछन । भेट्ने कुरामा त आत्मीयता हुन्छ । म बिरामी भएँ । २८-३० लाख खर्च गरेर एयर एम्बुलेन्सबाट दिल्ली गएँ । ३ महिना उपचारमा लाग्यो । दिल्ली अस्पतालमा आईसीयूमा बसें । एक/डेढ महिना जनरल बेडमा बसें । शेरबहादुर, सुशील, रामचन्द्र कसैले एककल टेलिफोनसम्म गरेनन् । म फर्किए पछि पनि रामचन्द्र र सुशील कोइरालाले भेट्दै भेटेनन् । टेलिफोनमा कस्तो छ भनेर पनि सोधेनन् । शेरबहादुरलाई साथीहरूले दवाव दिएछन क्यारे, म दिल्लीबाट फर्किएको एक वर्षपछि एकचोटि आएका थिए यहाँ ।

गएको चुनावभन्दा एक महिना अगाडि हामी साथीहरु आएर शेरबहादुरलाई तनहुँको स्थिति यस्तो छ, पार्टी एकलौटी गर्नु भएन, मिलाउनुपर्‍यो भनेका थियौं । त्यो ठूलो माग थिएन, अहिले पनि केही छैन । उनी दमौली जाँदा म दमौलीमै थिएँ । उनी अर्को ग्रुपको कार्यक्रममा गएका थिए । उनले कम से कम कहाँ छ गोविन्दराज जोशी भनेर बोलाएको भए मलाई नजान पनि अप्ठयारो हुन्थ्यो । उनले त्यसो गरेनन । त्यसपछि झगडा बढ्दै गयो । पछि उनी हामीसँग भेट्दा रामचन्द्रलाई गाली गर्थे, तर मिल्थे रामचन्द्रसित । हाम्रो ठूलो माग थिएन ।

क्रियाशील सदस्यता वितरण गर्दा ‘जेनुइन’ मान्छेहरूलाई निष्पक्षतापूर्वक वितरण गरियोस् भन्ने थियो । अर्कोचोटि स्थानीय निकाय र संसद्को टिकट दिँदा जित्ने मान्छेलाई दिनुपर्‍यो, इमानदार मान्छेलाई दिनुप¥यो । पैसा लिएर टिकट दिनु भएन । यति कुरामा कमिटमेन्ट गरे हाम्रो केही भन्नु थिएन । तर, शेरबहादुरले भेट्नै मानेनन । रामचन्द्रसँग तर्सेर हो कि के हो म संग भेटन नचाहेको ।

पञ्चायत व्यवस्था शुरु भइसकेको थियो । काठमाडौंमा पार्टी गतिविधि केही थिएन । त्यतिबेला विद्यार्थी आन्दोलन नै नेपालको राजनीतिक गतिविधि थियो । २०२१ सालदेखि म यहाँ आएर क्याम्पस पढ्न थालेँ । २०२२ सालमा गण्डकी छात्र समितिमा रामचन्द्र पौडेल र म सँगै थियौं । त्यसपछि, म कलेज अफ एजुकेशनको सभापति भएँ । रामचन्द्र सरस्वती कलेजको सभापति थिए । शेरबहादुर त्रिचन्द्र कलेजमा पढ्थे । त्यो बेला पनि काठमाडौंमा हडताल गर्नुपर्‍यो भने म जानुपथ्र्यो । म धेरैचोटि त्रिचन्द्र कलेजमा हडताल गराउन गएको छु त्यो बेलामा ।

शिवबहादुर त्रि-चन्द्रको सभापति थिए । रामचन्द्रलाई म तनहुँको गोविन्दराज जोशी भनेपछि पहिलो भेटमै उनलाई यो बेकारको मान्छे किन जन्मेको होला ? भन्ने परेको रहेछ । गण्डकी छात्र समितिमा किन झगडागर्ने भनेर उनलाई मैले सभापति पद छोडिदिएँ । दोस्रो पटक म सभापति हुन्छु भन्दा उनले अर्काे उम्मेदवार उठाइदिए । २५ सालदेखि मैले काठमाडौं छोडिसकेको थिएँ । २७ सालमा नेविसंघ स्थापनाका बेला सुवर्णजीसंग हरेक दिन भेट्ने पालो हुन्थ्यो । म स्व.सौभाग्यजंग कार्की, ध्रुव कोइराला लगायतको टीम लिएर म गएँ र त्यहाँ पक्राउ परे ।

संक्रान्ति नामको पत्रिका निस्कन्थ्यो त्यतिबेला । रामचन्द्र सांस्कृतिक मन्त्री थिए । उनले नेविसंघका जेल जाने मान्छेहरूको नाम प्रकाशित गरे त्यसमा । विवरण हेर्दा त मेरो छुटाएछन । त्यसपछि मलाई लाग्यो यो मान्छेको नियत ठीक रहेनछ । म काठमाडौं आउँदा शिवबहादुर, शेरबहादुर, विपिनहरुसंग भेटथे । म अलिअलि पैसा पनि भएको मान्छे, यहाँ आउँदा साथीभाइलाई खाजासाजा खुवाउन सक्थें । त्यसमा पनि रामचन्द्रको सहभागिता हुँदैनथ्यो ।

इमानदारीपूर्वक भन्दा बीपी कोइरालाकै आकर्षणले हामी कांग्रेस भएका हौं । गणेशमानजी, गिरिजाबाबु, किसुनजीको आकर्षणले होइन । बीपीको के क्षमता थियो, के जादू थियो, के थियो थाहा छैन । संयोगले २०१७ साल पुस १ गते काठमाडौं आएको थिएँ । तनहूँबाट ६ दिन हिँडेर आएको । म दरबार स्कूलमा पढ्थें । १७ साल पुस ७ गते खरीको बोटमा शैलजाहरूले जुलुस निकाले । १८ सालमा मेरो बुवा गिरफ्तार भएर पोखरा जेलमा पर्नुभयो । घरमा म बाहेक अरू मान्छे थिएनन् । म यहाँबाट फर्केर जानुपर्‍यो । म मा अलिकति विद्रोही भावना थियो । त्यो स्वाभाविक हुन्छ । गणेशमानजी, किसुनजी, गिरिजाबाबु सबैप्रति मेरो बराबरी आदर रह्यो । बेलाबेलामा घटनाक्रम अनुसार कतिपय कुरा गणेशमानजीले गरेको मन परेन होला, कतिपय किसुनजीले गरेको मन परेन होला, कतिपय गिरिजाबाबुले गरेको मन परेन होला । त्यो अर्को कुरा हो ।

किसुनजी काठमाडौंमा हुनुहुन्थ्यो, उहाँले मलाई विश्वास गर्नुहुन्थ्यो । किन गर्नुभयो उहाँले नै जान्ने कुरा भयो । गिरिजाबाबु छुटेर देश बाहिर गइसक्नुभएको थियो । म कीर्तिपुरमा सभापतिमा चुनाव लड्दा गिरिजाबाबु यहाँ हुनुहुन्थ्यो । किसुनजी जेलमा हुनुहुन्थ्यो, त्यो बेला गिरिजाबाबुले सहयोग गर्नुभएको हो । गिरिजाबाबु बाहिर जानुभयो, बीपी बाहिरै हुनुहुन्थ्यो । यहाँ त किसुनजीबाहेक हाम्रो कोही थिएन । पछिसम्म पनि किसुनजीलाई भेटेपछि उहाँले गिरिजाबाबु र गणेशमानजीलाई पनि भेट भन्नुहुन्थ्यो । गणेशमानजीलाई भेट्यो भने गिरिजाबाबु र किसुनजीलाई भेट भन्नुहुन्थ्यो । अहिले त एउटालाई भेटेको थाहा पाए अर्को बोल्दैनन् ।

मेरो घर दमौलीमा भएकोले म दमौलीमा बसें । २०२८ सालमा तनहुँ जिल्ला कार्यसमितिको उद्घाटन गर्न किसुनजी दमौली जानुभएको थियो । दमौली जाँदा मकहाँ तीन चारचोटि बस्नुभएको छ किसुनजी । गणेशमानजी जाँदा बस्ने मेरै घर हो । पछि बीपी जाँदा बीपीलाई अलि धेरै व्यवस्था गर्नुपर्ने भएकाले उहाँलाई गेस्ट हाउसमा राखेको थिएँ । म काठमाडौं आउँदा उहाँलाई भेट्न जान्थें । उहाँले मलाई माया गर्नुहुन्थ्यो ।

बीपी छुटेर बनारस गएपछि हाम्रो सम्बन्ध बनारससँग भयो । किसुनजीको म्यासेज हामीले लिएर जान्थ्यौं । कतिपय कुरामा किसुनजीको बीपीसँग पनि असहमति हुन्थ्यो । किसुनजी देशभित्रै बसेर आन्दोलन गर्नुपर्छ भन्नुहुन्थ्यो । बीपीले जुन सशस्त्र बिद्रोह गर्नुभयो त्यसमा हामीहरू संलग्न भयौं । स्याङ्जामा खगेन्द्रजीहरू हतियार सहित पक्राउ पर्नुभयो । उहाँहरुले धेरै दुःख पाउनुभयो । तनहुँ गएको हतियार हामीहरूले जोगायौं । हामी बिद्रोहमा लाग्दा शेरबहादुर र रामचन्द्र बीपीको त्यो लाइनमा थिएनन ।

बीपी २०३३ साल पुसमा नेपाल आउनुअघि पटनामा मिटिङ बोलाएपछि हामी त्यहाँ गयौं । त्यहाँ रामचन्द्र पनि गएका थिए । त्यो मिटिङपछि गिरिजाबाबुले मलाई तनहुँमा पार्टी गठनगर्न भनेर चिठी दिनुभयो । मैले गोबर्धनजी, आँखा नदेख्ने बूढो मान्छे, लाई अध्यक्ष बनाएर म सचिव भएँ । बीचमा अरु कुनै पद थिएनन् । मैले १० जनाको पहिलो कार्यसमिति बनाएँ । त्यसमा रामचन्द्रजी थिएनन । अहिले हेर्दा उनी बीपी र गिरिजाबाबुको लाइनसँग सहमत थिएनन कि जस्तो लाग्छ ।
मेरो सबैसँग उत्तिकै सम्बन्ध थियो । पछि जब यहाँ गूट खडा भयो, त्यो बेलामा पनि म किसुनजीको क्याबिनेटमै थिएँ म । चिरञ्जीवी वाग्ले, पूर्णबहादुर खड्का र म । म मन्त्री थिएँ, किसुनजी प्रधानमन्त्री हुनुहुन्थ्यो । हामी तीन जना गएर किशुनजीसंग सुशील कोइरालालाई उपप्रधानमन्त्री बनाउनुस् भन्यौं ।

हामी गिरिजाबाबु र किसुनजीको झगडा नहोस् भन्ने चाहन्थ्यौं । उहाँले मान्नु भएन । रामचन्द्र पौडेललाई उपप्रधानमन्त्री बनाउनुभयो । रामचन्द्रजी जहाँ लागेका छन तिनलाई सिध्याएका छन । उनको नियति नै त्यही हो । उनी उपप्रधानमन्त्री भएको हप्ता दिनमा किसनुजीले राजीनामा दिनुभयो । गिरिजाबाबुको उपप्रधानमन्त्री भए, रोल्पा काण्डमा गिरिजाबाबुको सरकार ढल्यो । सुशील कोइरालालाई पनि उनले खासै सहयोग गरेनन । रामचन्द्रको विश्वास ग¥यो भने शेरबहादुरको पतन सुनिश्चित छ ।

बीपीले मर्ने बेलामा ‘मैले नेपाली कांग्रेसको इतिहास लेख्नुपर्ने थियो, अब सक्दिनँ, त्यो शैलजाले गर्छे’ भन्नुभएको थियो । म मरेपछि म र मेरो दृष्टिकोणका बारेमा भ्रम सिर्जना गरिन्छ भन्नुभएको थियो । उहाँले नेपाली कांग्रेस सिद्धान्तलाई छोडेर सत्ताका लागि मरिहत्ते गर्नेछ भन्नुभएको थियो । आज त्यही भएको छ ।

नेपाली कांग्रेस एउटा कल्चर हो । म बाट अर्को पार्टीमा जाने र अर्को पार्टी खोल्ने काम हुँदैन । हामीलाई कांग्रेस पार्टी महत्वपूर्ण र ठूलो लाग्नु स्वाभाविक हो । तर अहिले नेपाली राजनीतिमा नेपाली कांग्रेस विकल्प रहेन । त्यसको अर्थ मैले अर्को पार्टी खोल्छु विकल्प दिन भन्ने होइन । मैले सक्दिनँ । मलाई लाग्छ यही बाटोमा हिँड्यो भने आउँदो संघीय संसद्को चुनावपछि नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ ।

नेपाली कांग्रेस बच्नु आवश्यक छ । किनभने राप्रपाले विकल्प दिँदैन । वामपन्थीको विकल्प वामपन्थी हुन सक्दैन । यही कांग्रेसलाई बचाउन पर्छ । यसका हजारौं हजार कार्यकर्ता त छन् नि । नेपालमा अहिले सार्वभौमसत्ता र प्रजातन्त्र संकटमा छ । सार्वभौमसत्ताले प्रजातन्त्रलाई बचाउनुपर्ने, प्रजातन्त्रले सार्वभौमसत्तालाई बचाउनुपर्ने । यी दुइटामध्ये एउटा समाप्त हुन लागेको र अर्कोले बचाउन नसकेको अवस्था छ । दुई विशाल छिमेकीबाट नेपाललाई कसरी बचाउने भन्ने अवस्थामा पुगेको हाम्रो देशमा कुनै पनि राजनीतिक दल गम्भीर देखिएका छैनन् ।

शेरबहादुर र रामचन्द्रले मलाई फेरि नेपाली कांग्रेसमा लैजाने सम्भावना अत्यन्तै कम छ । अहिलेको केन्द्रीय समितिमा सबै लाचार छायाँ मात्रै छन् । कांग्रेसले मेरो आवश्यकता महसुस गर्दैन । कांग्रेसमा पुनःस्थापित हुनका लागि प्रयास पनि गर्दिनँ । निश्चित रुपमा, म चुप लागेर बसिराख्ने कुरा पनि हुँदैन । राजनीतिमा के गर्ने भनेर हतारमा आजै निर्णय गर्न गाह्रो छ । तर यो समाप्त हुन लागेको बाटोलाई कुनै रुपबाट बचाउन सकिन्छ कि भनेर मेरो प्रयास रहन्छ ।

मेरो अनुभवमा नेता बन्ने रहेनछ, जन्मने रहेछ । प्रधानमन्त्री बनाउन मिल्ने रहेछ । नेता नेपालमा जन्मेको छ कि छैन त्यो कुरा एक्सन नदेखी भन्न मिल्दैन । कांग्रेस त यो देशमा नभई हुँदैन । जेसुकै नाममा होस् एउटा लिबरल डेमोक्रेटिक पार्टी त नेपालमा चाहिन्छ । त्यसका लागि एउटा इमानदार नेतृत्वको खाँचो छ । अहिलेको कांग्रेसले त्यो दिन सक्दैन । यसको विकल्पमा अर्को पार्टी खुल्ने पनि अहिले सम्भावना छैन । यो परिस्थितिमा राजनीतिमा हामीले नसोचेका कुरा हुन्छन् । म लगायत यो जेनेरेसन आउट हुनुपर्छ भन्ने मान्छेको धारणा छ । तर यसको विकल्पमा अर्को जेनेरेसन पनि देखिएको छैन ।

टिप्पणी थप्नुहोस्