धरापमा ज्योति समूह

-बिशेष संवाददाता

काठमाडौं । देशको अत्यन्त प्रभावशाली “नेपाली” औद्योगिक-ब्यापारिक घराना ज्योति समूह बिभाजनको अन्तिम बिन्दूमा पुगेकोछ । स्वर्गीय भाजुरत्न कंशाकारव्दारा स्थापित र प्रवध्र्दित तथा उनका सुपुत्र स्वर्गीय मणिहर्ष ज्योतिको नेतृत्वमा अघि बढेको ज्योति समूह उनको निधनपछि मुख्य सन्चालकका रुपमा दाजु पद्मज्योति देखा परे । यी दाजु र भाइको स्वभावमा आकाश र जमीनको अन्तर थियो । रहँदा बस्दा पद्मज्योति र रुपज्योतिका बीच मतभेद खप्नै नसक्ने गरी बढ्यो ।

सरल र स्वाभाविक जीवन शैलीका पद्मज्योति र बिपरित स्वभावका रुपज्योति मानसिक, आर्थिक र सामाजिक सबै हिसाबले बिभाजित भएपछि ज्योति समूहको भौतिक बिभाजन हुन लागेको हो । यो बिभाजन पूराहुन लगभग एक बर्ष लाग्नेछ । समूहका मुख्य सन्चालक रहेका पद्मज्योतिलाई आफनो समूहको सम्पत्ति के कति कहाँ छ भन्ने थाह छैन ।

देशका प्रभावशाली उद्योगी तथा ब्यबसायीहरुले ज्योति परिवार लक्ष र उद्देश्यका बिपरित रुपज्योतिको ब्यापारिक ब्यबहार असामाजिक हुँदै गएकोले पद्मज्योति उनबाट अलग भएको राम्रो हुने सल्लाह दिएका छन । स्वयं पद्मज्योति पिता मणिहर्षको नाम र प्रतिष्ठा बिपरित बाटोमा हिंडेकाले रुपज्योतिसंग असन्तुष्ट रहेका छन । पद्मज्योतिले आफनो अध्यक्षतामा हुने एनबीआइको मिटिंगमा आमाको देहावसानपछि रुपज्योतिलाई बोलाउन छाडेका छन ।

ज्योति समूहको प्रत्यक्ष देखिने स्वभाव विपश्यना हो । यसका संस्थापक रुपज्योति नै हुन । व्यवहारमा निक्कै भिन्न छन् बिपश्यनाका संस्थापक । हिरो मोटरसाइकिल र स्वास्थ्य क्षेत्रमा सक्रिय रहेका रुपज्योति कहिले ठगी काण्डमा जोडिन्छन् त कहिले आमाको कोख भाडामा लगाउने सरोगेसीको धन्दामा ।

हार्वडबाट उच्च शिक्षा लिएका रुपज्योति राजनीतिक रुपमा समेत निरंकुशताका पृष्ठपोषक देखिन्छन् । पन्चायतकालमा उनले आफना पिता मणिहर्ष ज्योतिको इच्छा बिपरित “गणेशमानको लौरो” का रुपमा प्रचारित कांग्रेस उम्मेदवार हरिवोल भट्टराईका बिरुध्द काठमाडौं नगर पन्चायतका प्रधानपन्चमा चुनाव लडेका थिए । पछिल्लो समयमा लोकतान्त्रिक शासन व्यवस्थालाई संकटमा पार्न तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५८ माघ १९ मा राजनीतिक कु गरेर सत्ता हत्याएपछि बनाएको सरकारमा उनी अर्थ राज्यमन्त्री भएका थिए ।

सम्मानित व्यापारिक घरानाका प्रमुख भए पनि आफ्नै परिवारका सदस्य वीच समेत उनको मेलमिलाप छैन । पछिल्लो समय उनका दाजु पद्मज्योतिसंगको मनमुटाव सतहमा आइरहेको छ । अहिले दाजुभाइ बीच बोलचाल सम्म छैन । पारिवारिक बेमेल बढ्नुमा रुपज्योतिको विवादित गतिविधि नै प्रमुख कारण भएको ज्योति समूह निकट स्रोतले जानकारी दिएकोछ ।

ज्योतिको विवादित यात्रा

नेपालमा हिरो मोटर साइकिल व्यापारमा एकछत्र राज गरेका छन रुपज्योतिले । भारतमा मोटर साइकिल निर्माणमा सहकार्य गरी रहेका हिरो होण्डाले छुट्टिने निर्णय गरेपछि पद्मज्योतिका छोरा सौरभ ज्योतिले होण्डाको डिलरशीप लिए भने रुपज्योतिले हिरोको । यहाँसम्म सबैकुरा ठीकै थियो । रुपज्योति विवादमा त्यतिबेला आए जब उनले आमाको कोख भाडामा लगाएर मोटो रकम असुलीगर्न थाले । ग्रान्डी अस्पतालका एक प्रमुख लगानीकर्ता रुपज्योतिको मुख्य योजना नै नेपालमा भारतीय र नेपाली महिलाको कोख भाडामा लगाएर मनग्गे आम्दानी गर्ने थियो । त्यही उद्देश्यले उनले ग्राण्डी अस्पतालमा लगानी गरेका थिए ।

पछि, लगानीकर्ताहरुवीच सरोगेसीबाट भएको आम्दानी रुपज्योतिले एक्लै कब्जा गरेको भनेर विवाद शुरु भयो ।ग्य्राण्डीका डाइरेक्टर चक्रराज पाण्डे आफै महत्वाकांक्षी थिए । उनले रुपज्योतिलाई ग्य्राण्डीमा टिक्न दिएनन । रुपज्योतिले ज्योति भवनमा नै ग्रान्डी सीटी क्लिनिक एण्ड हस्पिटल सञ्चालनमा ल्याए । गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भनिए पनि यसको उद्देश्य आर्थिक रुपमा कमजोर नेपाली र भारतीय महिलाको कोख भाडामा लगाएर सरोगेसी धन्दा चलाउनु नै थियो । र, उनले यो धन्दा राम्रैसंग चलाए पनि ।

नेपाललाई हेल्थ टुरिज्म डेस्टिनेशन बनाउने गफ दिने रुपज्योतिले मन्त्रीपरिषद्लाई समेत घुमाउरो पारामा प्रभावमा पारेर भारतमा समेत प्रतिबन्ध लागिसकेको अमानवीय सरोगेसी धन्दालाई नेपालमा कानूनी मान्यता दिलाउने प्रयास गरेका थिए ।

यो धन्दामा रुपज्योतिलाई भारतमा सक्रिय रहेका सरोगेसीका अन्तराष्ट्रिय एजेन्टहरुले सघाएका थिए । सन् २०१५ सम्म यो धन्दा भारतमै फस्टाएको थियो । तर, सन् २०१५ फेब्रुअरी १५ मा भारतको उच्च अदालतले भारतमा सरोेगेसी सेवामा प्रतिबन्ध लगाएपछि भारतमा सक्रिय रहेका एजेन्टको आँखा नेपालमा पर्यो । उनीहरुले विविध समस्याका कारण सन्तान जन्माउन नसक्ने र सन्तानका लागि मनग्गे खर्च गर्नसक्ने दम्पत्ति खोजेर नेपाल पठाउन थाले । उनीहरुलाई भाडाको कोख र प्रसुती सेवा रुपज्योतिले उपलब्ध गराउन थाले । रुपज्योतिको हस्पिटलमा भाडाको आमाको कोखबाट बच्चा लिन अष्ट्रेलियन, अमेरिकी र इजरायली नागरिकहरु समेत आउँथे । इजरायली नागरिकको चाप निकै ठूलो हुन्थ्यो ।

उनको प्रभावमा परेर तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारी समेत भाडामा कोख लगाउन पाउने कानूनी बाटो खोल्न सक्रिय भएका थिए । उनी आमाको कोख भाडामा लगाउन पाउने या नपाउने कानूनी अन्योलका वीच सन्तानको इच्छा भएर पनि विविध समस्याका कारण सन्तान उत्पादन नगरेका दम्पत्ती र चाहेर पनि सन्तान जन्माउन नसक्ने तेस्रो लिंगीहरुसँग मोटो रकम असुलेर कोख भाडामा लगाउन सक्रिय नै भए ।

अधिकारी लगायत सरोगेसी धन्दामा सक्रिय समूहको प्रभावमा परेर २०७१ असोज २ मा मन्त्रिपरिषद्ले सरोगेसी सेवा सम्बन्धी कार्यविधि बनाउने भनेर विदेशी नागरिकलाई आमाको कोख भाडामा दिने अबैध कामलाई बैधता दियो । यो वीचमा भारतीय र नेपाली महिलाहरुको कोख टन्नै भाडामा लाग्यो । यसरी कोख भाडामा दिनेले पाँच देखि १० लाख रुपंैयासम्म पाउँथे । यस्तो सेवा दिनेले न्युनतम ४० लाख रुपैंयासम्म सेवा शुल्कको नाममा असुल्थे । त्यसमा रुप ज्योति सबैभन्दा धेरै सक्रिय थिए ।

२०७१ भदौं ८ मा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर कार्यविधि कार्यान्वयमा रोक लगायो । तर धन्दा रोकिएन । नेपालमा सरोगेसीको जालो कतिसम्म फैलिइसकेको रहेछ भने विनाशकारी भूईंचालोपछि चार्टर प्लेनमा दुधे बालक बोकेर स्वदेश फर्किएका इजरायली तेस्रोलिंगीहरुको ताँतीले नै देखाएको थियो । रुपज्योतिले आफूले सरोगेसी सेवा नदिएको, तर सरोगेसी आमाहरुलाई स्वास्थ्य सुविधा र प्रसुती सुविधा दिएको सार्वजनिक रुपमै स्वीकारेका थिए ।

हाउजिगंको नाममा ठगी

सरोगेसी धन्दामा आर्थिक र राजनीतिक प्रभावका कारण जोगिएका रुपज्योति यो विचमा ठगी धन्दामा मुछिएका मात्र होइनन, पक्राउ परेर प्रहरी हिरासतमै बसे । त्यो पनि आपूm मात्रै हैन छोरी समेत । काठमाडौं महानगरपालिका गल्कोपाखामा विजेन्द्रकृष्ण मल्ललाई एक करोड २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनी २०७६ कात्तिक २१ मा पक्राउ परेका थिए ।

यो विवाद २०७० देखि चलेको थियो । तर रुपज्योति अनेक प्रभाव प्रयोग गरेर जोगिदै आएका थिए । २०७५ मा काठमाडौं जिल्ला अदालतले उनी विरुद्ध पक्राउपुर्जी जारी गरेको थियो । पक्राउ पर्नबाट जोगिन उनी विदेश पनि गएर बसे । कात्तिक २१ गते सिंगापुरबाट नेपाल आउने क्रममा उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए ।

प्रारम्भमा त रुपज्योतिले कानूनी रुपमै यो विषयको समाधान गर्ने दावी गरेका थिए । तर अन्तमा, जाहेरीकर्ता श्रेष्ठलाई फकाएर, मिलापत्र गराएर, मुद्दा अदालतमा जानबाट विचैमा रोकेका थिए । स्रोतका अनुसार, रुप ज्योति श्रेष्ठलाई ४ करोड रकम दिन सहमत भएपछि श्रेष्ठले दुबैविच सहमति भएकाले जाहेरी फिर्ता लिन प्रहरीमा निवेदन दिएका थिए ।

मुद्दा अदालतमा पुगिसकेको थियो । यसको निराकरण अदालती रुपमै हुनुपर्नेमा प्रभावका आधारमा दुबैपक्षविच मिलापत्र भएकाले प्रमाण नपुग्ने भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेर ठगी केसमा रुप ज्योतिलाई उन्मुक्ति दिएको थियो । उन्मुक्ती पाएपछि उनि २९ कात्तिकमा प्रहरी कार्यालयबाट हाजिर जमानीमा रिहा भएका थिए ।

यस्तो थियो ठगी प्रकरण

२०७० मा हाउजिगं बनाउने भन्दै ल्याण्डमार्क डेभलपर्स प्रालि दर्ता भएको थियो । सो प्रालिमा ज्योति समूहको ५० लाखको शेयर थियो भने ज्योति समूहकै स्याकार कम्पनी प्रालिको ९ करोड ५० लाखको शेयर थियो । त्यसमा जय स्प्रिगं मिल्स प्रालिको समेत लगानी थियो ।

कम्पनीले बाँसबारीमा हाउजिगं बनाउने भनेर इच्छुकहरुसँग अग्रिम रकम लिएको थियो । घर बनाउने र वेच्ने जिम्मा सीइ कन्ट्रक्सनलाई दिइएको थियो । त्यहीं विजेन्द्रले १९ नम्बर प्लटको जग्गाका लागि बैना रकम दिएका थिए । तर चार वर्ष वित्दा समेत न उनले जग्गा पाए, न दिएको रकम नै फिर्ता भयो ।

उनलाई दिने भनिएको जग्गा पछि रुपज्योति आफैले प्रयोग गर्न थालेपछि उनी ठगी भयो भन्दै काठमाडौं जिल्ला अदालत गएका थिए । २०७५ मंसिर २० मा काठमाडौं जिल्ला अदालतले रुपज्योतिलाई पक्राउको आदेश दिएको थियो । उनी उक्त आदेश विरुद्ध सर्वोच्च अदालतमा गएका थिए । तर सर्वोच्चबाट पक्राउ पुर्जीविरुद्ध निषेधाज्ञा जारी नभएपछि उनलाई पक्राउगर्ने बाटो खुलेको थियो । उनी सिंगापुरतिर हान्निए । सिंगापुरबाट फर्कदा विमानस्थलमै उनी पक्राउ परेका थिए ।

टिप्पणी थप्नुहोस्