कुर्सीमा गधा नै बसेको भए पनि सलाम गर्नुपर्छ : मणिहर्ष ज्योति

स्वर्गीय मणिहर्ष ज्योति देशका एक सफल उद्योगपति र ब्यापारी थिए । उनको पारिवारिक ब्यापार तिब्बतमा थियो । तिब्बतमाथि चीनले कब्जा गरेपछि ल्हासाबाट ज्योति परिवारले बिस्तारै आफनो ब्यबसाय कलकत्ता, भारततिर सार्यो । बिक्रम सम्बत २०१५ सालको महा-निर्वाचनमा नेपाली कांग्रेसले दुइ तिहाइ बहुमत प्राप्त गरेपछि बीपी कोइराला देशको पहिलो निर्वाचित प्रधानमन्त्री हुनुभयो । उहाँले मणिहर्ष ज्योतिलाई नेपालमा आएर उद्योग ब्यवसायको बिस्तार गर्न प्रेरित गर्नुभयो । त्यसपछि ज्योति नेपाल आएर उद्योग-ब्यबसायमा लागे ।

मणिहर्ष ज्योति देशभक्त र असल नागरिक थिए । उनी अन्यायको प्रतिरोध गर्ने क्षमता थियो । बडामहारानी ऐश्वर्य सामाजिक सेवा परिषदको अध्यक्ष भएपछि उद्योगी ब्यापारीहरु चन्दा आतंकको मारमा परे । दरबारले तोकेको रकम चन्दा दिनुपर्ने बाध्यताको सिर्जना भयो । त्यो परिस्थितिमा मणिहर्षले बडामहारानीले तोकेजति चन्दा त दिए तर त्यसको बिरोध पनि गरे । उनले देशान्तर साप्ताहिकका प्रधान सम्पादक किशोर नेपालसंगको यो अन्तर्वार्तामा आफूले चन्दा आधा मनले दिने र आधा करले दिने बताए । मणिहर्षको यो प्रतिक्रियापछि बडामहारानीले चन्दा फिर्ता लैजान घुर्की लगाएकी थिइन ।

मणिहर्षसंगको यो अन्तर्वार्ता ३४ बर्ष अघि २०४३ बैशाख ७ गते देशान्तर साप्ताहिकमा प्रकाशित भएको थियो । अन्तर्वार्ताको सामयिक महत्व अहिले पनि कम भएको छैन ।

देशका प्रमुख नेपाली उद्योगपति र व्यापारीका रूपमा तपाईं अहिलेको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिको विश्लेषण कसरी गर्नुहुन्छ ?

यस्तो विश्लेषण हामीले अरू दृष्टिकोणबाट गर्न सक्दैनौं । हाम्रो विश्लेषणको आधार आर्थिक हुन्छ र मेरो विचारमा देशको आर्थिक र औद्योगिक उन्नति भनेको धेरैभन्दा धेरै मानिसहरूले काम पाए भने उनीहरूको जीवनस्तर बढ्यो भने, आवश्यकताहरूको पूर्ति भयो भने मात्रै हुन्छ । मुलुकको सामाजिक, राजनीतिक पक्षमा पनि यसै कुराले प्रभाव पार्छ ।

समग्र रुपमा आर्थिक स्थितिको मूल्यांकन कसरी गर्नुहुन्छ ?

हेर्नोस्, हाम्रो आर्थिक उन्नति हामी आफैंले, नेपाली जनताले नै गर्नुपर्ने कुरा हो । आफूले केही नगरेर अरू बाहिरकाले गरिदिएको भरमा हाम्रो आर्थिक उन्नति होस् भन्ने त दिवास्वप्न हो । अर्थतन्त्र ‘फर द पिपुल बाई द पिपुल’ भएन भने ‘फर द पिपुल’ पनि हुँदैन । हामी कहाँ ‘जनताका लागि’ भन्ने त धेरै सुनिएको छ तर ‘जनताद्वारा’ भन्नेचाहिँ पटक्कै सुनिएको छैन । अलि अलि त निश्चय नै ‘जनताद्वारा’ भएको होला, तर मूलभूत रूपमा हाम्रो अर्थतन्त्रको ठूलो हिस्सा हामीभन्दा बाहिरका मानिसकै हातमा छ ।

बीस वर्षअघिको र अहिलेको नेपालको आर्थिक स्थितिमा कति भिन्नता पाउनुभएको छ ? कुनै सकारात्मक परिवर्तन देख्नुभएको छ त ?

परिवर्तन त त्यसै, समयको कारणले, स्वाभाविक रूपले हुने नै भयो । समयले मलाई त्यति नै मात्र गरेको छ जस्तो लाग्छ । पञ्चायती व्यवस्थाको शुरूमा स्व. श्री ५ महेन्द्रबाट ’अर्काले १०० वर्षमा गरेको काम हामीले १० वर्षमा गर्नुपर्छ’ बना हुकुम भएको थियो । तर त्यो हुकुम नारामा नै सीमित रह्यो । जस्तो रूपमा, जे भए पनि बीस वर्षमा परिवर्तन त हुन्छ नै । कुनै पनि चीज स्थायी वा यथास्थितिमा रहन सक्दैन । केही नगरे पनि स्वाभाविक र प्राकृतिक परिवर्तन हुन्छ । त्यही स्वाभाविक परिवर्तनभन्दा बढी नेपालमा केही भएको छैन ।

यस्तो हुनुको कारण के हो ?

हेर्नोस्, हाम्रो अर्थतन्त्र, हाम्रो हातमा छैन । सरकार स्वयं विदेशी सहयोगमा बढी निर्भर छ । मेरो विश्लेषण गलत पनि हुन सक्छ, तर मलाई लाग्दछ, हामी नेपालीहरूको नियन्त्रणमा सम्पूर्ण उद्योग नहुनु नै यसको मूल कारण हो । सबै उद्योग व्यापार नेपाली मूलभन्दा बाहिरका मानिसको हातमा छ । उनीहरू पहिले त आफ्नै लागि सोच्दछन् । अनि उनीहरूले बाँकी रहेको सोचेर मात्र यो देशको भागमा आउँछ । यहीँका मानिसले मात्र यहाँका लागि सोच्दछ ।

अब मेरै उदाहरण हेर्नुहोस्- म सन् १९६३ मा नेपाल आएको हुँ । मैले चालीस वर्ष तिब्बत र भारतमा बसेर व्यापार गरेँ । त्यसबेला मलाई तिब्बत र भारतको व्यापार राम्रो होस् भन्ने थिएन । म त कसरी बढीभन्दा बढी कमाऊँ, एनकेन प्रकारेण मसँग बढी पैसा होस्, म धेरै कमाएर नेपाल फर्कौं भन्ने धनमा मात्र रहन्थे । तिब्बत वा भारत मेरा लागि विदेश हो ।

मेरो जस्तै धारणा सबैको हुन्छ । बाहिरबाट उद्योग व्यापार गर्न आएकाहरूले यस्तै धारणा राख्दछन् भने पनि आश्चर्य मान्नु पर्दैन । जब म घर फर्क मलाई ‘ल केही गरौं, लगानी गरौं, यो त आफ्नो देश हो, आफूलाई पनि हुन्छ, देशलाई पनि हुन्छ’ भन्ने लाग्यो । आफ्नो देश भनेको आफ्नै हो । अब अहिले यहाँ बाहिरबाट आएका साथीहरूले नेपालभन्दा बढी आफ्नै देश सोचेका छन् भन्न करै लाग्छ । यो स्वाभाविक हो । हामीले आफ्नोबारेमा आफैं सोच्नुपर्छ । अरूलाई दोष दिने कुरा यो होइन ।

राष्ट्रिय उद्योगहरूलाई सरकारले प्रोत्साहन नगरेकै हो ?

धेरै अंशमा यो कुरा ठीक हो जस्तो लाग्छ । नीति त प्रोत्साहन दिने नै छ । कार्यान्वयन पक्षमा राष्ट्रिय उद्योगलाई प्रोत्साहित गरिए झैं लाग्दैन । काम गर्नेहरूमा केही हातमा पर्छ कि भनेर मात्रै काम गर्ने प्रवृत्तिको विकास भइरहेछ । शुरूशुरूमा यस्तो लाग्दैनथ्यो । जे भनिन्छ ती कुराहरू गरिन्छ होला जस्तो लाग्दथ्यो । आफ्नो निजी स्वार्थ गाँसिए पछि जसले पनि आफ्नै स्वार्थ पूरा गर्छ । माथि माथिका मानिसहरूको स्वार्थ पनि विदेशी उद्योगसँगै गाँसिएको छ ।

यस्तो हुनुमा मुलुकको राजनीतिले कत्तिको प्रभाव पारेको छ ?

निकै प्रभाव पारेको छ । यो देशमा सबै काम राजनीतिक निर्णयबाटै त हुन्छ । अब आफू राजनीतिमा लाग्ने कुरा पनि भएन ।
तपाईंले आफ्नो उद्योग र व्यापारको सन्दर्भमा कुनै दवाव, प्रेसर, त्यस्तो केही झेल्नुपरेको त छैन ?

प्रेसर केही अंशमा छ जस्तो लाग्छ । तर त्यसलाई स्पष्ट र प्रत्यक्ष नै छ नभनौं ।

प्रशासनिक नियत र त्यसबाट उब्जिने कठिनाइहरूको चाहिँ कस्तो अनुभव छ ?

हेर्नोस्, नियत नै खराब छ त भन्न मिल्दैन । तर परिपाटी नै यस्तो बनाइएको छ कि कसैले कुनै काम राम्रो हो भन्ने ठानेर केही गर्न खोज्यो भने पनि त्यसमा कसैले विश्वास गर्दैन । उसको केही न केही आफ्नो स्वार्थ भएर नै यो काम गरेको हो भन्ने सोचिहालिन्छ ।

उद्योग र व्यापारका क्षेत्रमा घूस नखुवाई काम गराउन सकिन्न भन्ने कुरा पनि सुनिन्छ नि ?

हो, पाँच सात वर्ष यता घूसको चलन निकै बढेको छ । जहाँ पनि । मैले के बुझेको छु भने घूस दिने र नदिनेवालाको काम हुने गतिमा धेरै फरक छ । पैसा दियो भने तुरुन्त काम हुन्छ ।

यसलाई त तपाईंहरूले नै प्रोत्साहित गर्नुभएको होइन र ?

हो । जरुर हो । दोष दुवै पक्षको छ । हेर्नोस् न, अब व्यापारीहरूलाई त कामसँग मतलब हुन्छ । जति छिटो काम हुन्छ । त्यति नै फाइदा छ ।

तपाईंले भन्नुभयो ‘जनताद्वारा’ नेपालमा केही हुन सकेन । अहिले निकै नेपाली उद्योगीहरू देखा परेका छन् नि ?

दुईचार जना साथीहरू अगाडि बढ्नुभएको छ । यो खुशीको कुरा हो । यस्तै अरू पनि लागे बेस हुने थियो । सबै नै लाग्नुपर्छ भन्ने मेरो भनाइ होइन । तर हामी नेपाली नै बढी लाग्नुपर्दछ ।

अहिले देखा परेका नेपाली उद्योगीबारे के भन्नुहन्छ ?

केही राम्रा छन् । सफल भएका छन् । उन्नति गर्दै छन् । तर केही त महाभारतका शिखण्डी जस्ता छन् ।

यस्तो परिस्थितिमा तपाईं आफूलाई कुन रूपमा हेर्नुहुन्छ ?

हेर्नोस्, चालीस वर्ष विदेशमा बसेर आइयो । आफ्नो देशमा केही गर्न सकिन्छ, केही गर्न पाइन्छ भन्ने थियो । तर यहाँ आएपछि झन् असन्तुष्टि बढ्यो । पैसा त विदेशमा पनि प्रशस्तै कमाएको थिएँ । यहाँ आएर नयाँ युगतिर लागेको देशमा सबैले आ–आफ्नो क्षेत्रबाट केही गर्नुपर्छ भन्ने थियो । तर खोइ ।

तपाईंलाई सन्तोष नहुनुको कारण के हो ? काम गर्दा कठिनाइ भएर हो कि सोचे जति पैसा कमाउन नसकिएर हो ?
पैसा त, हेर्नोस् विदेशमा जस्तै, यहाँ पनि कमाएकै छु । तर जहाँसम्म आफ्नो सन्तुष्टिको कुरो छ, मैले यो काम गरेर आफूलाई त फाइदा भयो भयो, देशका लागि समाजका लागि पनि योगदान भयो भन्ने सन्तुष्टि त हुनपर्‍यो नि । त्यसकारण कहिलेकाहीँ म सोच्छु बरु उताबाटै नआएको भए ठीक हुने थियो कि !

तपाईं सामाजिक सेवाका कामहरूमा पनि निकै सक्रिय हुनुभएको देखिनुहुन्छ । तपाईं कुन जीवन दर्शनद्वारा प्रभावित र प्रेरित हुनुहुन्छ ?

हामी व्यापारी मान्छे राजनीति त त्यति जान्दैनौं । तर मलाई के लाग्छ भने नैतिकतामा गिरावट आयो भने त्यसको क्षतिपूर्ति भौतिक उपलब्धिबाट मात्रै हुँदैन । नैतिकतालाई लत्याएर भौतिक उन्नतितिर मात्र लाग्नु हुँदैन भन्ने मेरो धारणा छ । अब म आफैंले पनि शतप्रतिशत नैतिकताको पालन गर्न सकेको छु भन्दिनँ । कतिपय बेला म पनि चुकेको हुँला ।

तपाईंलाई कुनै राजनीतिक व्यक्तित्वले प्रभावित गरेको नि ?

म गान्धीजीबाट निकै प्रभावित छु ।

तपाईंलाई तीन देशको नागरिकका रूपमा हेरिन्छ नि । यतातिरका नेपालीले ‘प्रो-चाइनिज’ पनि भन्ने गरेका छन् ।

अब भन्नेले जे भनिदिए पनि हुन्छ । तर म ‘प्रो-चाइनिज’ पनि होइन ‘प्रो-इन्डियन’ पनि होइन ‘प्रो-नेपाल’ बन्न खोज्छु । हाम्रा लागि चीन र भारत दुवै उत्तिकै मित्र हुन् । हामीले तिब्बतमा पुस्तौंदेखि कारोबार गर्दै आयौं । तिव्बत चीनको अंग भएपछि हाम्रो कारोबार चीनमा पनि भयो । यसैले कसैले के भन्छ भनेर वास्ता गर्न पनि हुन्न ।

उद्योग र व्यापारबाहेक यहाँको रुचि अरू के केमा छ ?

अलि धार्मिक काममा मेरो रुचि छ । बौद्ध धर्मको उपासना, धर्मोदय सभामा मैले भाग लिने गरेको छु । यसबाट मनलाई केही शान्ति मिल्दछ ।

तपाईं कस्ता किताब पढ्नुहुन्छ ?

किताब त म धार्मिक नै बढी पढ्छु । विशेष गरेर बौद्ध धर्म सम्बन्धी किताबहरू पढ्छु ।

नेपालमा राजनीति गर्नेहरूलाई व्यापारीहरूले चन्दा दिने भएकाले राजनीति गर्नेहरू व्यापारीहरूकै हितमा लाग्दछन भन्ने गरिन्छ । यो कुरा स्वीकार्नुहुन्छ ?

केही हदसम्म, यो नेपालमा मात्र होइन अरू मुलुकहरूमा पनि हुन्छ भन्ने मैले पनि सुनेको छु । अहिले नै पनि चुनावमा चन्दा माग्न मानिसहरू म कहाँ आएका थिए । मैले त कसैलाई पनि दिइनँ ।

अनि, सामाजिक कार्यमा चन्दा ?

आफूलाई चित्त बुझ्छ र यसबाट केही हुन्छ भन्ने लाग्यो भने दिनुपर्छ । जस्तो सामाजिक सेवा समन्वय परिषद् छ, अरू संघ संस्था पनि छन् ।

यस्ता संस्थाहरूमा चन्दा दिँदा मनले दिनुहुन्छ कि दवावले ?

चन्दा दिँदा आधा मनले दिन्छु, आधा दवावले दिन्छु । अब सामाजिक सेवा समन्वय परिषदलाई दिएको चन्दाका बारेमा भनौं : दिनुपर्छ भन्ने त थियो मनमा । अलि बढी रकम दिनुपर्छ भन्ने दवाव आयो । दिएकोमा दुःख चाहिँ लागेको छैन ।

तपाईं छोराहरूलाई कारोबार सुम्पेर आफू ‘रिटायर’ हुनुहुँदै छ भन्ने सुनिन्छ । अब खाली समय कसरी बिताउनु हुनेछ ?

हो, अब बिस्तारै काम छाड्दै जानुपर्छ । छोराहरू काम सम्हाल्न सक्ने भएका छन् । म खाली समय सामाजिक सेवामा लगाउने विचार गर्र्दैछु । मेरो धारणामा धर्म भनेको पूजाआजा मात्र होइन । अरूको भलो गर्नु झन् ठूलो धर्म हो । त्यस्तै समाजको सेवा गर्न सकेँ भने त्यो नै पूजा गर्नुभन्दा महत्वपूर्ण हुन्छ जस्तो मलाई लाग्छ ।

तपाईं विश्वेश्वरप्रसाद कोइरालाको शवयात्रामा सामेल हुनुहुन्थ्यो होइन ?

हो । सबैको आ-आफ्नो सिद्धान्त हुन्छ । त्यो सिद्धान्त जहाँ सम्मिलित छ त्यहाँ सहयोग गर्नुपर्छ । अब उद्योग–व्यापारमा लागेका मानिसहरू खुलमखुला सरकारको विपक्षमा लाग्न त सक्दैनन् । ज्यादाजसो, व्यापारीहरूमा, जो कुर्सीमा हुन्छ, त्यसैलाई सलाम गर्ने प्रवृत्ति बढी हुन्छ । त्यो मानिसलाई सलाम गरेको हो । कुर्सीमा गधा नै बसेको रहेछ भने त्यसैलाई सलाम गर्नुपर्दछ । अब घोडा र हात्ती बसेको रहेछ भने त राम्रै भयो ।

 

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल