खुमलटारदेखि खुमलटारसम्म

  • किशोर नेपाल

शुक्रबार । बिहान ७:३० बजे । भेटघाटको निम्तोमा प्रचण्ड बसेको घर खुमलटारपुग्दा उनी भेटघाटमा ब्यस्त भै सकेका थिए । उनको यी भेटघाट राजनीतिक थिएनन । आंगनमा मन्त्रीका दुइ गाडी उभिएका थिए । एउटा मन्त्री बीना गुरुंगको र अर्को मन्त्री को थिए, कालो शिशाभित्रको मानिस पहिचानमा आउने कुरा थिएन । बैठक बाहिरको बरण्डामा मधेशका जब्बर नेता मात्रिका यादव थिए । मात्रिकाजीसंग भलाकुसारीको संयोग मिल्न लागेकोमा खुशी लागेको थियो । तर, मलाइ सरासर प्रचण्डको अध्ययन कक्षमा पुर्याइयो । म त्यहीं प्रतीक्षागर्न थाले उहाँको । मेरो आँखा बुकसेल्फमा राखिएको ‘दि स्ट्रक्चर अफ इभोल्युसनरी थ्योरी’ मा पर्यो । स्टेफेन जे गाउल्डको त्यो मोटो किताब अलिकति थोत्रिएको थियो । त्यो संगै राखिएको थियो नेत्र पन्थीको पुस्तक ‘डिभोर्स’ । प्रचण्ड र बाबुराम भट्टराईको सम्बन्ध बिच्छेदको रोचक विवरण । त्यो पुस्तकलाई आकर्षक र बिकाउ बनाउन प्रकाशकले निकै मेहनत गरेको देखिन्थ्यो । एउटा बुकसेल्फको माथिल्लो भागमा सदगुरुको चिन्तन ‘ ‘इनर इन्जिनियरिंग’ थियो । र, बुकसेल्फको एउटा खण्डमा थियो दार्शनिक नोम चोम्स्की र गिल्बर्ट अच्करको पुस्तक ‘पेरिलस पावर ।’

जोखिमपूर्ण शक्ति (सत्ता) – अहिले प्रचण्ड यही जोखिमपूर्ण शक्तिको वरपर कतै उभिएकाछन । नवगठित नेपाल कम्युनिष्ट पार्टीका दुइ मध्ये एक अध्यक्ष हुन उनी । अर्का अध्यक्ष खड्गप्रसाद शर्मा ओली, जो प्रधानमन्त्री पनि हुन, भारदार स्वभावका मानिस हुन । उनी भारदारी शक्तिमा बिश्वास गर्दछन । भारदारी बोली बोल्दछन । उनले नेपाली जनताको गणतान्त्रिक यात्रालाई वयलगाडा चढेर अमेरिका पुगिन्न भनेर गिज्याएका थिए । अहिले उनै ओली गणतान्त्रिक संविधान अन्तर्गत नेपालका प्रधानमन्त्री भएका छन । यसैलाई भन्नुपर्ने हो, ‘पोलिटिकल्ली इनकरेक्ट ’। त्यसैले उनलाई प्राविधिक प्रधानमन्त्री भन्दा गलत हुँदैन । यसैकारण ओली ‘अव्वल’ मानिएका हुन !

राजनीतिक हिसावले समकालीन कुनैपनि कम्युनिष्ट नेताको तुलना प्रचण्डसंग हुन सक्दैन । पुष्पलाल, मनमोहनको कुरा अर्कै हो । मदन भण्डारीदेखि केपी ओलीसम्म अर्थात २०२८ देखि २०३८ सम्म माले कम्युनिष्टहरु लोकतन्त्रको गतिरोधमा राजाका भारदारहरुको बैठक बैठक चहार्दै थिए । उनीहरु राजाको दर्शनका लागि सँधै आतुर रहन्थे । शीतयुध्दकालीन त्यो समयमा चीनभन्दा बढी उर्जाशील थियो सोभियत संघ । कम्युनिष्ट पार्टीका महासचिव केशरजंग रायमाझीले मालेको जत्थालाई कति प्रेरित र उत्साहित गरे ? त्यो भन्न सकिन्न । तर, सोभियत पक्षीय कम्युनिष्ट र मालेका बीचको सम्बन्ध मधुर थियो । अप्ठेरो परिस्थितिमा नीलाम्बर आचार्यलाई प्रधानमन्त्री ओलीले भारतका लागि राजदूत नियुक्त गरेर सम्बन्धको त्यो माधुर्य अहिले पनि रहेको छनक दिएका छन । बयोबृध्द र बरिष्ठ राजनीतिज्ञ नीलाम्बर आचार्यलाई उनको लामो राष्ट्रसेवाको लागि पुरस्कृत गर्नु थियो भने उनलाई राजदूत बनाउने सुबिधाजनक देशको कमी थिएन । उनले नेपालमा लामो समय सोभियत पक्षीय कम्युनिष्ट पार्टीको नेतृत्व गरे । सोभियत संघ र भारतमा कम्युनिष्ट राजनीतिको सम्पूर्ण बियोजनपछि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

जुन समयमा माले कम्युनिष्टहरु राजदरवारको प्रदक्षिणा गर्दैथिए त्यसबेला प्रचण्ड राजतन्त्र बिरुध्द भावी योजनामा लागेको देखियो । प्रचण्ड र उनका समान बिचारका साथीहरुले २०४६ को परिवर्तन र २०४७ को संसदमा आफनो उपस्थिति जनाए । त्यसपछि दिब्य बार्ह बर्ष उनले जनयुध्दको नेतृत्व गरे । अन्त्यमा, दिल्लीमा भएको बार्ह बूँदे समझदारी अनुरुप उनले नेपाली कांग्रेसका सभापति तथा सातदलीय मोर्चाका नेता गिरिजाप्रसाद कोइरालासंग सहकार्य गरे । ‘राजाको लात’ खाएर देशमा लोकतन्त्र स्थापनाका प्रयत्नमा लागेका मूलधारका नेताहरुको ढाड मायाँले सुमसुम्याए । अन्ततः ठूलो आन्दोलन भयो । जनताका सामु राजा झुके । राजाले बिघटन गरेको संसद पुनस्र्थापित भयो । बार्ह बूँदे समझदारी माओवादी बिद्रोही र नेपाल सरकार बीचको बृहत शान्ति सम्झौता बन्यो । देशको इतिहास नितान्त नयाँ मोडतिर मोडियो । माओवादी राजनीतिको मूल प्रवाहमा स्थापित भए । यति ठूलो परिवर्तनपछि पनि भ्रममा बाँचेका नेपालका कोमलांगी बुध्दिजीवीहरुले संविधान सभाको पहिलो चुनावमा माओवादीको पराजय सुनिश्चित भएको भविष्यवाणी गरे । तर, देशका ‘मूर्धन्य’ ब्यक्तित्वहरुको त्यो आशा, अपेक्षा र अनुमानका बिपरित, प्रचण्डको नेतृत्वमा माओवादी पार्टी सबभन्दा ठूलो पार्टीका रुपमा संविधान सभामा उभियो ।

अहिलेका लागि, प्रचण्ड मात्र नेकपाका मानार्थ ‘कार्यकारी’ अध्यक्ष छन । अर्थात, किनारामा छन । उनी एमालेभित्र नवगठित नेकपा खोजी रहेका छन । त्यहाँ नेकपा नदेखिने होइन । तर त्यो नेकपा ‘बास्तबिक’ नभएर ‘डिजिटल’ हुन्छ । प्रचण्डलाई थाह छ, उनले जस्तो आदर्श कम्युनिष्ट पार्टी निर्माणको सपना देखेका छन त्यो सम्भव परिकल्पना होइन । अचेलका कम्युनिष्ट आन्दोलनका नेताहरुले मानिसको जीवन मूल्यको अर्थ बुझेका भए कम्युनिष्ट आन्दोलनको हरिबिजोग हुँदैन थियो । त्यस्तो आदर्श अवस्था अहिलेको समयमा कहाँ पाउनु ?

नेपालमा एउटै सवल र सशक्त कम्युनिष्ट पार्टीको निर्माण र नेतृत्व प्रचण्डको सपना हो । त्यो बाहेक हाल उनको अर्को उद्देश्य देखिदैन । समाजवादी चिन्तक प्रदीप गिरि भन्दछन, प्रचण्डमा सामाजिक रुपान्तरणगर्ने क्षमता छ । उनले समाज बुझेका छन । सामाजिक रुपान्तरणको कामगर्न बलियो हात चाहिन्छ । राजनीतिमा त्यस्तो बलियो हात भनेको पार्टी नै हो । नेपालमा पार्टी नभएका होइनन । उनी कांग्रेससंग सहकार्य गर्न सक्छन । तर, कांग्रेस र कम्युनिष्ट पार्टीका बीच एकता गर्न सक्दैनन । ती दुइ सिध्दान्त हुन । दुइ अलग आस्था हुन । यी पार्टी मिलेर बसेनन भने संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्य खतरामा पर्दछ ।

कहिले बालुवाटार, कहिले खुमलटार ।

गएको मंगलवारदेखि शनिवारसम्म उनी बालुवाटार गएनन । उनलाई खुशी तुल्याउन चाहनेहरु भन्छन – अब एकैपटक झण्डा हल्लाउँदै जाने बालुवाटार । सुनेर प्रचण्ड फिस्स हाँस्छन । दंग पर्दैनन । उनलाई थाह छ – त्यस्तो परिस्थिति भनेजति सजिलो छैन । उनका चीनियाँ मित्रहरु नेपालमा नेपाल कम्युनिष्ट पार्टी नामको राजनीतिक पार्टी एकमुष्ट चाहन्छन । त्यसको अध्यक्ष केपी ओली हुन कि झलनाथ खनाल हुन कि माधव नेपाल हुन । टुटफूट भएको कम्युनिष्ट पार्टीले चीनियाँहरुको अहिलेको क्षेत्रिय स्वार्थ पूरागर्न सक्दैन । उनीहरुलाई आफूसंग सहमतहुने, सरकारी चीनियाँ लामा जस्तो, एक्का नेता र एक्का पार्टी चाहिएको छ । चीनियाँ नेताले प्रचण्डको देशभक्तिको धारलाई राम्ररी बुझेका छन । प्रचण्डले पनि चीनियाँ नेताको आशय राम्ररी बुझेका छन । चीनियाँहरुको मान्यता छ – दोस्ती पसल बाहिर ।

राजनीति रमाइलो छ ।

अचेल प्रचण्ड भ्यागुताको धार्नी पुर्याउने फिराकमा छन । नेपाल कम्युनिष्ट पार्टी नामको संगठनभित्र अनेक समिति छन । अहिले मध्य बर्षातको मौसम छ । बर्षात र कोरोना महामारीका बीच प्रतिस्पर्द्धा छ जोडतोडको । दुबैको उद्देश्य मानिसको बिनास हो । प्रधानमन्त्री ओली र उनको टोलीले बिनासतिरको यो यात्रालाई बुझन सकेका छैनन । उनीहरुको निर्णय क्षमता चुकेको छ ।

प्रचण्डको बानी छ – उनी हुन्छ, हुन्न र हो, होइनको अनेक कोणबाट बिषयलाई केलाउन सक्छन । आफनो मथिंगलमा मथ्न सक्दछन । यसरी नै उनले चमत्कारिक परिणाम निकालेका छन । उनी जाग्न चाहन्छन । उनलाई पूरै जगाउन जाँगर भएका मानिसको खाँचोछ ।

 

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री