फस्टहरुको साम्राज्यमा एउटा कुसुम !

-राजेश मिश्र

कथा सुन्दा, यो कथा कुनै पनि पारम्परिक दन्त्यकथा जस्तै रोचक छ।

मेरी हजुरआमा कखरा चिन्ने, तर राष्ट्रिय जनगणनाको कागज भर्दा ‘निरक्षर’ को कोटीमा पर्ने एक सामान्य बृद्दा !

हजुरआमाले मेरी आमालाई त्यो बेला समेत बिस बर्ष नटेक्दै स्नातक बनाई छाडिन्।

मेरी आमाले मलाई कुनै कथा सुनाएको खासै सम्झना छैन।

तर हजुरआमा दंत्यकथाकी खानी हुनुहुन्थ्यो।

महाभारत र रामायणको के कुरा ? उहाँलाई अकबर-बीरबलको ‘लिजेण्ड’ पनि कण्ठस्त थियो।

आज राती सपनामा हजुरआमा आउनुभो !

सिमेण्टले बनेपनि, त्यो चूलोमा गोबर र रातो माटोको लेपले एउटा रंग नदिएसम्म हजुरआमाको चूलो शुद्द हुँदैनथ्यो।

चूलोमा बाल्ने दाउरा नहुँदा उहाँ ‘दम चूलो’ भनिने भुसे चुलोमा ओखलको ‘बच्चा’ले काठ, धान, गहूँ अथवा जे प्राप्त छ त्यसैको धूलोले त्यो चुलो बेस्सरी खांद्नुहुन्थ्यो।

यसो गर्दा गर्दा उहाँका हत्केला खस्रा भैसकेका थिए।

म सपनामा थिएँ। तर उहाँको दर्खरिएको हत्केलोले मेरो निधार छाम्दा मलाई अर्कै चेतनामा पुर्यायो।

अवचेतन अवस्थाको संवादले मान्छेलाई दिउंसोभरी एकोहोरो बनाउँछ भने यसमा मेरो के दोष?

उहाँले भन्नुभो, “अचेलका मान्छे हरु साह्रै निष्ठुरी छन् है बाबु, सहेर बस्नु, कज्याउने जो आएपनि उनीहरु मान्छे मार्न आउने हुन्।”

****** ***** ***** ***** ***** ***** ***** ***** ***** ***** ***** *****

मेरो आँखा च्यात्तिएझैं निन्द्रा खुल्यो। हजुरआमाको अवशेष त हामीले पशुपतिको ब्रह्मनालमा एक घण्टा राखेर भष्मेश्वर लगेको। फेरि कहाँबाट आयो यस्तो आकाशबाणी?

अमेरिकामा सुर्य अस्त हुँदा नेपालमा त्यो उदाउँछ। म यता निमग्न निदाउंदा उता चराचुरुङ्गी संगै सामाजिक संजाल आफ्नो ओज सहित जागृत हुन्छ। तर के वास्तवमा सूर्य  अस्ताउँछ ? कि पृथ्वी घुम्छ? मैले त्यो रात पृथ्वीको कब्जा गरेको बेला उता उज्यालोमा बिजय कुमारले ट्वीट गरेछन; मेरो आँखा खुल्ने बित्तिकै पढें;

“नेकपाका नेताहरु पस्छन, निस्किन्छन, पस्छन, निस्किन्छन, पस्छन, निस्किन्छन, पस्छन, निस्किन्छन, कहिले एक्लै पस्छन, कहिले दुक्लै पस्छन्। नेपालमा मानव निर्यात पछिको उद्दोग राजनीति हो। पत्रकारिता किराना पसल जस्तो…. ” आदि ईत्यादि। (मैले उनको ट्वीटलाई अक्षरश भनेको होईन, केवल आशय प्रकट गरेको)

अचेल बाथरुम जाँदा पनि हातमा आईफ़ोन र आईफ़ोनको साथमा वाईफाई भएन भने ‘प्रेसर’ आउंदैन। पेट खाली भएपनि मन खल्लो हुन्छ। एक्काईसौं शताब्दीको प्रविधिले मान्छेको मनमा कब्जा गरेको छ।

म के गर्छु? मेरो आजको काम के हो? मलाई मतलब छैन। मेरो आफ्नो जीवनको प्राथमिकता मैले आफैले बनाएको “सोशल फूड चेन”को सबैभन्दा तल्लो श्रेणीमा खांदीएर  बसेको छ। त्यसैले मलाई अरु के गर्दैछन वा सोच्दैछन् भन्ने कुराले बढी चंचल तुल्याउँछ।

बाथरुममा छु। हिजो गरेको भोग आज बिसर्जन हुने प्रकृयामा छ। अचानक कुसुमको फ़ेसबूक स्ट्याटसमा आँखा पर्छ। बिजयकुमारलाई जोरलात्ती हान्दै उसले लेखेको छ,

“बिजयकुमारजीले अन्त्यमा भन्नुपर्थ्यो, “म चाहिं मेडिया रुपी त्यही किराना पसलमा बसेर घोक्रो सुकुन्जेल कराएर ग्राहक बोलाएर जीरा मरिच धनियाँ पोको पार्ने कारिन्दा हुँ। ”

बिजयकुमारले कुसुमको प्रतिक्रिया पढे पढेनन् ? मलाई थाहा हुने कुरा भएन। तर कुसुमको प्रतिक्रिया पढेर बिजयकुमारले जुनसुकै अर्थ लगाउन, कुसुमलाई त्यसले कुनै फरक पार्दैन। यो कुरा मलाई थाहा छ। नेपालमा लेख्ने मान्छे छन्। धेरैथरी छन्।

बिजयकुमार प्रधानमन्त्रीले विदेश भ्रमणमा जाँदा पाएको रक्सी खाएर बालुवाटारमा कोठा कोठा छादेर हिंड्ने बरिष्ठ पत्रकार हुन्। बिजयकुमारले सत्ताको ग्यालरीमा के के हुन्छ, अहिलेसम्म लेखेका छैनन्। आफू त्यहाँसम्म पुगेको कुरा निर्धक्क लेखेका छन्।

कुसुम आफुले कमाएको पैसाले भट्टीमा गिलास नाप्दै देखेको कुरा लेखिदिन्छ। तर समाजले दुवैलाई पत्रकारकै रुपमा चिन्दछ।

***** ***** ***** ***** ****** ****** ***** ***** *****

नित्यकर्म सकेर प्रातकालीन “वाक”मा हिंडेको, मलाई देखेर हो वा अरु कुनै कुरा, कागहरू कर्कश स्वरमा काका कराउंदैछन्। ढुकुरहरुको बथान पातको ओझेलमा कूर्कूर गर्दैछ।मलाई ढुकुर भन्दा काग नै मन पर्यो। परेवाको आकार, हाँसको रंग; तर ढुकुर लुकेर बोल्छ।

जंगलको बीचमा मैले जोनन होर्ग फस्ट (वा, फ़ाउस्ट) लाई सम्झिएँ। पन्ध्रौँ शताब्दीको उत्तरार्ध अनि सोह्रौं शताब्दीको पूर्वार्द्दमा लेखिएका जर्मन साहित्य पढ्ने जो कसैका लागि पनि यो नाम अपरिचित नहोला।

उनी एक किंवदन्ती हुन्। बडा विद्वान, तर असन्तुष्ट। एकदिन उनले आफ्नो वेदना कथेर शैतानलाई आव्हान गरे। शैतान आफै आएन। तर उसले मेफ़िस्टोफ़ेलिस नामको आफ्नो  चेलालाई पठाईदियो। मेफ़िस्टोफ़ेलिसले फ़स्टलाई भन्यो, “मेरा मालिक शैतान तँ संग प्रसन्न छन्। एउटा सम्झौता गरौँ। म तँलाई शैतानमा नीहित सारा तिलस्मी शक्ति दिन्छु। तँ यो संसारमा त्यसको भरपुर उपयोग गर। तर सम्झौता निश्चित अवधिका लागि हो। म्याद सकिएको दिन तैंले आफ्नो आत्मा शैतानलाई बेच्नुपर्नेछ। त्यसपछि तँ अनन्त कालका लागि शैतानको मानसिक दास हुनेछस्।”

फस्ट राजी भयो। तर उसले त्यो शक्तिको दुरुपयोग गर्यो। एउटी युवतीलाई गर्भवती तुल्याएर छोडिदियो। फस्टले गरेका यस्ता दुष्कर्मका उदाहरण धेरै छन्। जर्मन साहित्यमा उ एउटा नकारात्मक बिम्ब बन्यो।

पन्ध्रौँ शताब्दीको अन्त्यतिर बेलायती नाटककार क्रिष्टोफर मार्लोले आफ्नो नाटक मार्फत, फस्टलाई शक्ति पाएपछि मान्छे कसरी बिग्रिन्छ भन्ने उदाहरणका रुपमा युरोपभरी चर्चित बनाईदिए। त्यसको दुई सय वर्षपछि, जर्मनीकै जोनन वोल्फ्ग्यांग गोथेले मार्लोको नाटकको परिमार्जित संस्करण निकालेर भने, “फ़स्ट्लाई पढेर मात्र पुग्दैन। उनको चरित्रलाई बुझ्नु जरूरी छ। यो चरित्र संसारमा प्राप्य मद् र मांस भन्दा बढी लालसा राख्ने हामी सबैको प्रतिबिम्ब हो।”

गोथे ईन्स्टिच्युट काठमाण्डौमा पनि छ। दुई दशक अघि हामी त्यहाँ डा. दुर्गा भण्डारीको प्रवचन होस् वा आमसंचार सम्बन्धी डक्युमेन्टरी, त्यो हेर्न नबिराई पुग्थ्यौं। गोथे ईन्स्टिच्युट पहिले जस्तै छ कि छैन, मलाई अहिले थाहा भएन।

***** ***** ***** ***** ***** ***** ***** ***** *****

घर आईपुगें। सोचको राप र हिंडाईको ताप अनि काखी मुनिको पसिनाले लुगा लत्रम्म भएछ। ओलीजीले भन्नुभन्दा पहिले नै बिहानै खाली पेटमा मनतातो पानीसंग एक चम्चा बेसार निल्ने बानी छ। बेसारमा एण्टीबायोटिक अनि एण्टीअक्सिडेण्ट तत्व हुन्छ रे। आमाले भन्नुभएको। कोरोना शुरु हुनुभन्दा पहिले नै। त्यसमाथि मनतातो कागती पानीमा टिम्मुर हालेर पिउने श्रीमती जुनिताजीको नियम कायम छ।

नुहाएर फ्रेस हुन्छु। नेपालका अनलाईन न्यूज पोर्टलमा उही बासी समाचार छन्।

सेतोपाटी, रातोपाटी, हिमालखबर, अनलाईन खबर आदि ईत्यादि। भेट भयो भेट भयो भेट भयो; कोरोना कोरोना कोरोना।

उपलब्धी छैन। समाचार छ। समाचार यस्तो छ, जसले कुनै गन्तब्य तिर औंलो सोझ्याएकै छैन। हामी सबै शायद फस्टको एक्काईसौं शताब्दीका नयाँ संस्करण हौँ।

कोरोना आउनु अघि, जमाना अघि, बहुदल आएको दुई बर्ष पनि भएको थिएन होला, किशोर नेपालले सुरुचि साप्ताहिकमा झन्डै एक दर्जन समाजसेवी, एनजीओकर्मी आदि ईत्यादिको नामै किटेर एउटा लेख लेखेको सम्झिएँ।

लेख्ने मान्छेले बिर्सिसक्नु भयो होला, तर मलाई याद छ। किनभने उहाँले लिएका एक दर्जन नाम मध्ये एकाध त मेरै पारिवारिक परिधिका ठालूहरु थिए। त्यो बेला मैले सुरुचिमा आएका पाठक-पत्र सम्पादन गर्नुपर्थ्यो। उनीहरुको पत्र आएन। तर उनीहरु मेरो घरमा आए। मेरै आमाको हातको चिया खाएर मलाई अण्टसन्ट सुनाएर गए।

अचेलका ओलीहरु, प्रचन्डहरु, देउवाहरु, माकुनेहरु, बामेहरु अनि अहिलेका सम्पादकहरू (नाम लिंदा लामो हुन्छ), कर्मचारीहरु, बिचौलियाहरु मात्र होईन, मतदाताहरुले समेत फ़स्टले जस्तै आफ्नो आत्मा शैतानलाई बेचेका छन्।

जसले शैतानलाई आत्मा बेचेको छ, उसलाई भाँती पुर्याएर लेख्न, बोल्न अनि गर्न- सबैकुरा आउँछ।

फस्टहरुको लेखनले मगज छुन्छ, हृदय छुंदैन। फस्टहरु मखमली खोल ओढेर सुत्छन्, निन्द्रा हुँदैन। नौलखा सवारी चढ्छन्, गन्तब्य हुँदैन।

कुसुमहरु आधा गिलास थापेर निर्धक्क सडक नाप्छन्।

 

टिप्पणी थप्नुहोस्