सिंहदरबार प्रवेश निषेध

काठमाडौं । कोरोना (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।

गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा प्रवेशमा कुनै समस्या नभएको तर सामान्यरुपमा भेटघाट, गफगाफका लागि भने ध्यान दिनै पर्ने भएकाले त्यसमा रोक लगाएको बताए ।

जोखिम नबढोस् भनेर ध्यान दिनुपर्ने भएकाले अत्यावश्यक कामबाहेकका लागि उक्त व्यवस्था लागू गरिएको उनले जानकारी दिए । भित्रबाट पास पठाएर प्रवेश अनुमति दिने कार्यमा पनि तत्कालका लागि रोक लगाइएको छ ।

अहिलेको जटिल परिस्थितिमा नागरिक आफैँले पनि सुरक्षा सावधानी अपनाउन र अत्यावश्यक काम नपरी बाहिर ननिस्किन तथा सिंहदरबार नआउनसमेत उनले अनुरोध गरेका छन् ।

टिप्पणी थप्नुहोस्