लकडाउन गरेर मात्रै समस्याको हल नहुने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लकडाउन गरेर मात्रै समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको बताएका छन् ।

उनले लकडाउनका कारण आर्थिक समस्याहरु देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको प्रष्ट पारे ।

लकडाउन गरेर मात्रै कोरोनाको समस्या हल नहुने स्पष्ट पार्दै थापाले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रष्ट पारे।

गृहमन्त्री थापाले सीमाबाट नेपाल प्रवेश गर्ने १० वटा नाका तोकेपनि अझैपनि लुकिछिपी आउने क्रम नरोकिएको र यसको नियन्त्रणका लागि अधिकतम प्रयास भैरहेको बताए ।

अहिले पनि खुला नाकाहरु नियन्त्रणका लागि १ हजार २ सय भन्दा बढी बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको उनको भनाई थियो ।

गृहमन्त्री थापाले अहिले देशमा बाढी पहिरो र कोरोनाको संकट एकैपटक आएकाले यसको समाधानमा जटिलता पैदा गरेको उल्लेख गरे ।

विपदको समस्या गृहको मात्रै नभएर अन्य केही सरोकारवालाहरुको पनि समस्या भएकाले ती निकायहरुबीच तालमेल हुन नसक्दा उद्धार तथा राहत कार्यमा केही जटिलता आएको उनको भनाई थियो ।

टिप्पणी थप्नुहोस्