ओली र दाहालसँगको भेटमा देउवाको तीन बुँदे प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल बीच संवैधानिक परिषद्मा रिक्त पदमा नियुक्तीका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा रिक्त संवैधानिक अंगमा नियुक्ती र प्रतिपक्षी सहितको भागबण्डा बारे छलफल भएको हो ।

छलफलमा प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक राखेर रिक्त पदमा नियुक्ति गर्नुपर्ने प्रस्ताव राखेको र सभापतिले सल्लाह गरेर जवाफ दिने बताएको भेटमा सहभागी कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार भेटमा देउवाले प्रधानमन्त्रीलाई तीन वटा बुँदामा विशेष ध्यानाकर्षण गराएका हुन ।

देउवाले प्रधानमन्त्री ओलीलाई कोरोना महामारीमा बढ्दो चुनौती सामना गर्न सरकार असमर्थ देखिएको भन्दै महामारीसँग लड्ने ठोस योजना ल्याउँन आग्रह गरेका छन ।

यसैगरी आइसोलेसन र भेल्टिलेटरको पर्याप्त व्यवस्थापन गर्न किन ढिलाई गरेको भन्दै प्रधानमन्त्रीलाई देउवाले प्रश्न समेत गरेका छन ।

यस्तै सिन्धुपाल्चोकको लिदीवासीले सुरक्षित स्थानमा सार्न गुहार माग्दा पनि सरकारले ध्यान नपुर्‍याउँदा दुःखद घटना भएको भन्दै त्यसतर्फ समेत ध्यानाकर्षण गराएको कांग्रेस मुख्यसचिव पौडेलले जानकारी दिए ।

यसैगरी त्रिभुवन विश्वविद्यालय निश्चित विधिका आधारमा चलाउनेभन्दा पनि राजनीतिक पूर्वाग्रह देखिएको भन्दै देउवाले त्रिविमा देखिएका विवाद र विसंगतिउपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान दिन आग्रह समेत गरेको कांग्रेसले जनाएको छ ।

यसैगरी प्रजातन्त्रवादी प्राध्यापक संघको सभापतिलगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, कीर्तिपुरदेखि ठाकुरराम क्याम्पससम्मका विद्यार्थीलाई थुनामा राख्ने, विविध माग राखेर २६ दिनदेखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवादसमेत नगरिएको भन्दै देउवाले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री