भेन्टिलेटर किन्न सांसद राजभण्डारीले दिए एक लाख रुपैंयाँ

काठमाडौं । नेपाल भेन्टिलेटर सर्भिसले संचालन गरेको सय दिनमा एक हजार भेन्टिलेटर अभियानमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाका सदस्य दिब्यमणी राजभण्डारीले आफूले पाउने पारिश्रमिकबाट एक लाख रुपयाँ हस्तान्तरण गरेका छन् ।

‘कोरोना महामारी बढ्दै जाँदा संक्रमितहरुले उपचार नपाउने अवस्था आउनु दुखद हो । संक्रमणको कारण गम्भीर बिरामी परेका व्यक्तिहरुलाई कृत्रिम स्वासप्रश्वासको आवश्यक्ता पुरा गर्न यो अभियान सहयोगी हुने बिश्वास लिएको छु’, सहयोग रकम हस्तान्तरण गर्दै सांसद राजभण्डारीले भने ।

अस्पतालहरुमा आवश्यक्ता भन्दा अति नै कम भेन्टिलेटर भएको कारण गम्भीर बिरामीले समेत प्रयोग गर्न अभाव देखिएको छ । अहिलेको विषम परिस्थितिमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले भेन्टिलेटर बैंकलाई सहयोग गरेको हुँ । यस्तो अवस्थामा यो अभियानमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दछु’, उनले भने, ‘बिवेकशील नेपाली नागरिकहरुलाई समेत यो अभियानलाई सहयोग गर्न अपिल समेत गर्दछु ।’

कोरोना प्रभाव बढ्दै जाँदा सांसद राजभण्डारीले संसद तथा संसदको समितिमा पटक पटक ध्यानाकर्षण गराएका थिए । राजभण्डारीले स्थानियस्तरमा पनि कोरोना प्रभावितहरुको लागि सहयोग गरेका थिए । सांसद राजभण्डारीले निम्न तथा मध्यमवर्गीय व्यवसायीहरुका लागि आफ्नो विजिनेस कम्प्लेक्सको भाडामा पनि छुट दिएका थिए ।

सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आउनु भएका सांसद राजभण्डारीले “सय दिनमा एक हजार भेन्टिलेटर अभियान”मा हौसला दिंदै जोडिनु भएकोमा हौसला मिलेको नेपाल भेन्टिलेटर सर्भिसेजका संस्थापक डा. विशाल ढकालले बताए । बिभिन्न संघ, संस्था तथा व्यक्तिहरु समेत अभियानमा जोडिने क्रम सुरु भएकोले समय भित्रै उदेश्यमा पुग्ने बिश्वास लिएको डा. ढकालले बताए ।

भेन्टिलेटरको अभावको कारणले गर्दा कोभिड–१९ का सिकिस्त बिरामीले उपचार नपाएर मृत्युसम्म भएका घटना बाहिरिन थालेपछि नेपाल भेन्टिलेटर सर्भिस सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उदेश्यले अभियान सुरु गरेको छ ।

नेपाल भेन्टिलेटर सर्भिसलाई परोपकारी संस्थाको रुपमा स्थापना गरिएको हो । भेन्टिलेटर लगायतका सघन उपचारका उपकरणहरुको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले अभियान सुरु गरेको ढकालले बताए ।

टिप्पणी थप्नुहोस्