१०१ बर्षको उमेरमा विदा भए राष्ट्रकवि

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ बर्षको उमेरमा निधन भएको छ ।

मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा काठमाडौंको कपुर धारास्थित आफ्नै निवासमा निधन भएको हो ।

उनी केही दिन देखि अस्वस्थ थिए । घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङमा भएको थियो । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका उनी कुशल गीतकार पनि थिए ।

घिमिरेले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधाउपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए । प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन ।

घिमिरेले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाएका थिए । उनको कृति मध्ये नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले, (गीतिनाटक), हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर(किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।

टिप्पणी थप्नुहोस्