तीजपर्व भित्रियो तर छैन रौनक

काठमाडौं । स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने सुरसारमा हुन्थे ।

गाउँशहरमा तीज मेला, उत्सव चल्थे । विद्यालय, सामाजिक सङ्घसंस्था, महिलाका सङ्गठनलगायतले गच्छेअनुसार तीज पर्व मनाउँथे, महिलालाई दर खुवाउँथे । यसपालिको तीज पर्व खल्लो र निरस छ ।

महिलाको स्वतन्त्रताको पर्व घर र कोठामा खुम्चिएको छ । कोरोना सङ्क्रमणको त्रासले कतै बन्दाबन्दी त कतै निषेधाज्ञा छ ।

हुनत विहीबार तीज अन्तर्गत दरखाने दिन हो । यस्तो महासंकटका बेला पनि विभिन्न मीठा मीठा परिकारका साथ दर खाइदैछ ।

दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको अवसरमा महिला दिदी बहिनीलाई व्रतको अघिल्लो दिन दर खुवाउने गरिन्छ ।

दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।

दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्वयुक्त खानेकुरा खाने चलन रहेको छ ।

हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ ।

दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अरु चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ ।

पहिलेका दिनमा हरितालिका दिनको एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोलि राजधानीलगायतका क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन शुुरु भएको छ ।

परापूर्वक कालमा हिमालय पुत्री देवी पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन रहेको छ । यसपालाको तीज घरमै बसेर मनाउन सरकारले सबैलाई अपिल गरेको छ ।फोटो साभार : नागरिक दैनिक

टिप्पणी थप्नुहोस्