विदेशबाट फर्किने नेपालीलाई बस्न काठमाडौंका पाँच तारे होटल !

काठमाडौं । सरकारले विदेशबाट फर्किने कामदार राख्न होटल क्वारिन्टिनहरु तोक्दै शुल्क पनि निर्धारण गरेको छ ।

विदेशबाट चार्टर्ड उडानमा फर्कने कामदारले विदेशबाटै होटल बुकिङ गर्नुपर्ने भनिएको छ । क्वारिन्टनका लागि पर्यटक स्ट्याण्डर्डदेखि पाँच तारे होटलसम्म तोकिएका छन् ।

विदेशबाट फर्किनेले एउटा कोठाको प्रतिदिन १५ सयदेखि ९ हजार रुपैयाँसम्मका कोठा लिन सक्नेछन् । जसमा खाना खाजाको खर्च पनि जोडिएको छ ।

पाँच तारे होटलमा बस्ने एक दिनको ९ हजार तथा पर्यटकस्तरको होटलले १८ सय तिर्नुपर्ने छ । तर १८ सय दुई जना बस्दा हो । सिंगल बस्दा भने २८ सय पर्नेछ ।

होटल व्यवसायी महासङ्घ, होटल एसोसियसन तथा व्यवसायीसँग छलफल गरेर क्वारेन्टिन होटलको सूची सार्वजनिक गरिएको बताइएको छ । ठमेल, ताहाचल, गौशाला, बत्तिसपुतली, दरबारमार्ग, सानो गौचरन, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावरी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानीलकण्ठ, लैनचौर कमलपोखरी र बागबजार क्षेत्रमा होटललाई क्वारेन्टिनका रूपमा प्रयोग गरिने छ ।

सरकारले विदेशबाट यात्रुको उद्धार शुरु गर्ने निर्णय गरेसँगै होटल क्वारिन्टिनको सूची सार्वजनिक गरेको हो ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यही भदौ २ गते कोभिड–१९ विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७ बमोजिम विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने र स्वेच्छाले होटल क्वारेन्टिनमा बस्ने व्यक्तिलाई राख्न होटल सूचीकृत गर्ने निर्णय गरेको थियो ।

टिप्पणी थप्नुहोस्