पुटिनका कट्टर आलोचक नाभाल्नीलाई विष खुवाइएको पुष्टि

एजेन्सी । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विषाक्त पदार्थ खुवाइएको अस्पतालले पुष्टि गरेको छ ।

उपचार भैरहेको जर्मनीको बर्लिन स्थित अस्पतालले उनलाई विषाक्त पदार्थ खुवाइएको जनाएको छ ।

बर्लिनको च्यारिते अस्पतालले जारी गरेको वक्तव्यमा उनलाई विषालु पदार्थ दिइएको देखिएको उल्लेख गरेको छ ।

यसअघि रुसमा उनको उपचारमा संलग्न चिकित्सकहरुले विषाक्त पदार्थ नदेखिएको जनाएका थिए ।

रुसको आन्तरिक उडानमा रहेका बेला गत बिहीबार बिरामी परेलगत्तै कोमामा गएका नाभाल्नीको सुरुमा रुसमै उपचार भएको थियो ।

तर ज्यानको जोखिम रहेको भन्दै थप उपचारका लागि जर्मनी लगिएको हो । नाभाल्नीको उपचार गरिरहेका चिकित्सकहरुले सुरुमा उनलाई जर्मनी जान दिएका थिएनन् ।

उनीहरु पछिमात्र नाभाल्नीलाई विमान मार्फत जर्मनी जान दिन सहमत भएका थिए ।

नाभाल्नीका समर्थकहरुले उनले विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त पदार्थ मिलाइएको र सत्तापक्षले आफ्नो अपराध ढाकछोप गर्न खोजेको आरोप लगाउँदै आएका छन्

भ्रष्टाचार विरोधी अभियन्ता ४४ वर्षका नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक हुन् ।

टिप्पणी थप्नुहोस्