‘सम्धी नियुक्ती’बारे ईश्वर पोखरेलको प्रष्टिकरण

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट गरेका छन् ।

उनले बुधबार विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर नभएको जनाएका हुन ।

“भएका काम विधिसम्मत, पारदर्शीतासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् ।

यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु”, उनले भनेका छन्, “मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका र गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु ।”

उनले विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध सङ्घर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ कुप्रचार गरिएको स्मरण गर्दै अहिले विगतको निरंकुश शाही शासनका तिनै मतियारहरू समेत नयाँ ढङ्गले आफ्नो विरूद्धमा स्वर उरालिरहेको उल्लेख गरेका छन् ।

पोखरेलका सम्धी नाता पर्ने राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा प्रा.डा. उपेन्द्रकुमार कोइराला नियुक्त गरेको चर्चा पछि सामाजिक संजालमा उनी विरुद्ध टिकाटिप्पणी भइरहेको छ । किनकी कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुन् ।

कोइरालालाई नेपाल सरकार (मन्त्री स्तर) बाट निर्णयले सोमबार बैंकको सञ्चालकमा नियुक्त गरिएको छ । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा पठाएपछि रिक्त रहेको अध्यक्ष कोइरालालाई बनाउने गरी सञ्चालक नियुक्त गरेको हो ।

टिप्पणी थप्नुहोस्