कुलमानलाई सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको हो : डा. खतिवडा

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री डा।युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङका पक्षमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा भएको प्रशंसाका बारेमा असन्तुष्टी जनाएका छन् ।

बिहीबार मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्दै डा. खतिवडाले सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताए ।

पत्रकार सम्मेलनमा कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्नेबारेमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले सरकारले कुनै निर्णय गरि नसकेको बताए ।

डा. खतिवडाले भने, ‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन ।’ उनले भने, ‘मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यससम्बन्धि छलफल पनि केही भएको होइन ।’

केही दिनदेखि कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्त गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत सरकारलाई दबाब आइरहेको छ । भदौ २९ गते कार्यकाल सकिन लाग्दैछ ।

टिप्पणी थप्नुहोस्