जापानका आवे र नेपालका ओली

-किशोर नेपाल

जापानका प्रधानमन्त्री सिन्जी आबेले स्वास्थ्यको कारणले पदबाट राजिनामा दिएपछि बिश्व राजनीतिमा तरंग आएको छ । नेपालमा पनि आवेको राजिनामाले जनता तरंगित भएका छन । उनीहरुको भावना सामाजिक सन्जालमा पोखिएका छन । लामो समयदेखि मिर्गौला रोगी रहेका खडगप्रसाद शर्मा ओली देशको प्रधानमन्त्री भएपछि नेपाली जनता उनको अस्वस्थ्य शासन भोग्न बाध्य भएका छन । देशमा सरकार नभएको अवस्थाछ । घूसखोरी सामान्य भएकोछ । यो स्थितिमा नेपाली जनताले आबेको राजिनामाबाट प्रभावित भएर आफनो सरकार प्रमुखको राजिनामा पनि यसरी नै आए हुन्थ्यो भन्ने सोचेका छन भने त्यो असहज होइन । तर, राजिनामाको अर्को नाम हो त्यागपत्र । संसारमा यस्तो त्यागको भावना राखेर कामगर्ने वा आफनो अशक्त अवस्थाका कारण देश र जनताले दुःख नपाउन भन्ने नेता धेरै कम छन ।

त्याग भनेको बिशुध्द आध्यात्मिक भावना हो । मानिसका लागि आध्यात्मिक विचारको शक्ति संसारमा सबैभन्दा महत्वपूर्ण बिषय हो । वैचारिक शक्ति नै संसारमाथि शासनगर्ने मुख्य आधार हो । जो व्यक्तिले वैचारिक शक्ति र बिबेकका आधारमा शासन गर्दछ उसलाई नै महानभनिन्छ । महान बन्ने त्यो क्षमता हाम्रा अहिलेका कुनै नेतामा देखिएको छैन । जापानका आवे र नेपालका ओलीको तुलना नै हुन सक्दैन । नेतामा हुनुपर्ने अपरिहार्य गुण हो-दूर दृष्टि । आफ्ना साथी र सहयात्रीलाई कहाँसम्म र कसरी लैजाने पाएका छैनन ।

प्रधानमन्त्रीले वा कुनैपनि जिम्मेवार नेताले राजनीतिक, आर्थिक, वैज्ञानिक, सामाजिक, धार्मिक र वैचारिक सीमाहरूको पारम्परिक घेराबाट बाहिर निस्किएर मानिसहरूलाई प्रेरितगर्न सक्नुपर्छ । इतिहासमा आफ्नो अमिट छाप छोड्न सक्ने पथप्रदर्शक बन्नुपर्दछ, नेता । तर, अहिले के भइ रहेको छ ? कोरोना महामारी यसलाई पछ्याउँदै आएको भोकमरीको सन्दर्भमा के कुनै नेताले जनतालाई बाटो देखाउने हिम्मत गरेकोछ रु के कुनै नेताले सामाजिक क्षेत्र, राष्ट्रिय-अन्तर्राष्ट्रिय परिवेश र प्राज्ञ जगत् मा कुनै प्रकारको अनुभूति जगाउन सकेकोछ रु यतिबेला सबै नेता भर्चुअलमा समेटिएका छन । जनतासंगको दूरी व्हात्तै बढेकोछ । यसको प्रभाव कालान्तरसम्म रहन्छ ।

भविष्यका प्रति नेताको दृष्टि तीक्ष्ण र सही हुनै पर्दछ । फ्रान्सको राज्यक्रान्ति आधुनिक युगको अग्रणी घटना थियो । आधुनिक इतिहासको जानकारीराख्ने जो कसैले पनि यसलाई स्वीकार गरेको छ । त्यस बेलादेखि आजसम्म सयौं नेताहरु नायक र महानायकका रूपमा संसारमा स्थापित भएका छन् । परम्पराको साँघुरो घेराबाट बाहिर निस्किएर आफ्ना जनताको नेतृत्व गर्ने यिनै नायक र महानायकहरूले इतिहासका साना वा ठूला, अनुकूल वा प्रतिकूल, स्थानीय, क्षेत्रीय अथवा भूमण्डलीय परिधिमा आफ्नो अमिट छाप छोडेका छन् । आधुनिक संसारका महानायकको सूचीमा महात्मा गान्धी सबैभन्दा माथि छन् । उनका उपलब्धि महान् छन् । प्रभाव ऐतिहासिकमात्र होइन, प्रेरणादायी छ ।

सबैभन्दा बढी हिंसापूर्ण शताब्दी भनिएको समयमा गान्धीले सबैभन्दा विशाल र शक्तिशाली साम्राज्यसंग संघर्ष गरे । त्यो साम्राज्यको सामना गरे अहिंसात्मक तरिकाले । संसारको सम्पूर्ण जनसङ्ख्याको पाँच भागमध्ये एक भाग जनताको आवासका रुपमा रहेको भारतलाइ स्वतन्त्रता दिलाए । विशाल जनसमूहलाई राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका लागि उत्प्रेरित गरे । अहिंसात्मक आन्दोलनका लागि जनसाधारणलाई प्रेरित गरे । यसैको फलस्वरूप विश्वभरि नै उपनिवेशवादविरुद्ध आन्दोलनहरू सुरु भए । संयुक्त राज्य अमेरिका र दक्षिण अफ्रिकामा वर्णभेदवादी उत्पीडनको अन्त्य भयो ।

मानिस कुनैपनि राष्ट्रको सीमित इकाइ भएपनि उसको सृष्टि असीमित कार्यका लागि भएको हो । जनतालाई नेतृत्वको आवश्यकता छ । नेतृत्वको मूलमा शाश्वत जीवन मूल्य समाहित हुनुपर्दछ । अहिलेको नेपाली नेतृत्वलाई यो कुरा सुनाउनुको कुनै अर्थ छैन । किनभने, यो कसैको कुरा सुन्दैन । बितेका पाँच दशकमा विश्व परिदृश्यमा अकल्पनीय परिवर्तन आएको छ । आजको समयमा प्रायः सबै राष्ट्रका जनता स्वतन्त्र छन् र आफ्नो शासन आफैं चलाउँछन् । आधुनिक प्रविधिहरूले संसारलाइ सीमित गरिदिएको छ । श्रव्य, दृश्य र लिखित सन्देशहरू पलभरमै संसारभर सम्प्रेषित हुन्छन् । आज आर्थिक क्षेत्रमा ठूल्ठुला व्यावसायिक घराना र बहुराष्ट्रिय कम्पनीहरूको आधिपत्य छ, जसको कारोबारको प्रत्यक्ष प्रभाव लाखौं मानिसको जीवनमा पर्छ । यसलाई नियन्त्रण गर्न कुनै पनि राष्ट्रका नियम पूर्णतया सक्षम देखिएका छैनन् ।

चीनले सन यात् सेनको अनुसरण गर्‍यो, शस्त्र उठायो र जापानको हातबाट धरासायी भयो । भारतले इतिहासका सबैभन्दा अद्भूत र निहत्था व्यक्ति, महात्मा गान्धी, लाई आफ्नो नेता चुन्यो । त्यो नेताले काँधमा बन्दुक नबोकी चमत्कारिक क्रान्ति गरेर विश्वलाई अभिभूत तुल्यायो । चीन र भारतका बीचको फरक यही हो । यहाँ चीन वा भारतको नेतृत्वको उदाहरण दिनुको कुनै अर्थ छैन । यहाँका नेताहरुलाई त्यसको कुनै अर्थ छैन । उनीहरु लुब्धछन । उनीहरुलाई अहंकार र आडम्बरले थिचेकोछ ।

अहिले कोरोना काललाई नै हेरौं । नेतृत्वको लोभ र लिप्सा देखेर जनता ठूलो आश्चर्यमा परेका छन । देशको सीमानाभन्दा बाहिर कामगर्न गएका जनता फर्किन्छन । तिनीहरुले दुःख पाएका छन । अर्काको देशको हवाइ अड्डा वरपर कैयौं दिन सुत्न बाध्य छन । सरकार सुन्दैन । सरकारले सुनिदिएको भए वा नेताले बुझी दिएको भए यो दुःखमा पर्ने थिएनन जनता । आज नेपाली जनतालाई हाँक्ने नेताहरुको औकात के छ रु ती न बिद्यामा अब्बल छन, न बुध्दिमा तीक्ष्ण । अहिलेका दुइ प्रमुख ब्यक्तिको कुरा गरौं । प्रधानमन्त्री ओलीको योगदान उनी पन्चायतकालमा १२ बर्ष जेल बसे । उनले त्यसको प्रतिफल पाइ सके । अर्का प्रमुख प्रतिपक्षका नेता शेरबहादुर देउवा । उनको पनि मुख्य योग्यता पटक पटक जेल जानु र यातना पाउनु हो । उनले पनि त्यसको प्रतिफल पाइसके पटक पटक प्रधानमन्त्री बनेर । यी दुबैले न त जीवन मूल्य बुझेका छन, न त नीतिको महत्व । हरेक पटक चुनाव लडछन । साम-दाम-दण्ड-भेद नीति अपनाउँछन र चुनाव जित्छन । त्यसपछि जमिन्दारले जस्तो नगदे बाली उठाउन थाल्दछन । यस्तो नेतृत्व पाउने हामी नेपाली जनता के साच्चै अभागी होइनौं त ? साभार: जनकपुर टुडे

टिप्पणी थप्नुहोस्