शान्त छ बौद्ध स्तुपा, अशान्त छ मन

-मोनिका वाईबा

काठमाडौं । कोरोना भाइरस(कोभिड १९) ले विश्व आक्रान्त छ । काठमाडौं शहरमा निषेधाज्ञा छ । जसको असर शान्त र स्वच्छ रहने बौद्धनाथ स्तुपा क्षेत्रमा पनि परेको छ । स्तुपा जति शान्त छ त्यति यहाँका मानिसहरुको मन अशान्त ।

फुर्सदमा बौद्ध स्तुपा पुगेकाहरु कोभिड १९ को त्राशले अशान्त छन् । साँझ-बिहान शान्तिको खोजीमा जानेहरुलाई रोक लगाइपछि कतिपय मानिसहरु भने मुख्य द्वारबाटै भए पनि दर्शन गरेर फर्कन्छन् ।

निषेधाज्ञा संगै मानिसहरुको डर पनि बढ्नेक्रम जारी छ। स्तुपा परिसरमा कोहि नगएपनि वरपर भने बिहान बेलुका मानिसहरु सक्रिय देखिन्छ। खुद्रा पसल र सानो पसलहरु खोलिरहेका छन्। उनीहरु बाध्यताले पसलहरु खोलेको बताउँछन्। बिहान र बेलुका समयमा अलिअलि भए पनि व्यापार हुने आशमा बसिरहेका हुन्छन्।

कोभिड १९ को आगमनसंगै लकडाउन, स्यानिटाईजर, पिसिआर जस्ता धेरै अंग्रेजी शब्दहरु व्यापक भएपनि अहिले ‘रोग भन्दा भोक ठुलो’ बढी व्यापक भएको छ । स्वास्थ्यलाई जोखिममा राखेर भएपनि उनीहरु आफ्नो र परिवारको भोक मेटाउन चाहन्छन्।

यहाँक भरियाहरु पनि काम पाइहालिन्छ कि भनेर पर्खिरहेका छन् । उनीहरुलाई पनि कोभिडको डर भन्दा आफ्नो भोक ठुलो छ । रोगले भन्दा भोगले मरिनेभयो भन्दै दिनभर सामाजिक दुरीको पालना गरेरै भएपनि काम पर्खिरहन्छन् । कतिजनाले त काम बोलिहाले पनि फेरी संक्रमण हुने भन्दै काम नदिएको उनीहरुको भनाई छ।

त्यस्तै स्तुपा परिसरमा जिन्दगी गुजार्नेहरु पनि अहिले परिसर बाहिरै छन् । हुन त बौद्धनाथ क्षेत्र मगन्तेरहित घोषणा भएको करिब दुई वर्ष भयो तर पनि मगन्तेहरु हट्न सकेका छैनन् । उनीहरु परिसर बाहिर भएपनि वरपर गरिरहेका भेटिन्छन । अहिले पनि बौद्धनाथ क्षेत्रको फुलबारी टोल तिर उनीहरुको बाक्लो उपस्थिति देख्न सकिन्छ।

 

टिप्पणी थप्नुहोस्