निषेधाज्ञा हटाउन दबाबः जिल्ला प्रशासन पछि हट्यो

-हर्ष सुब्बा

धरान । सुनसरी जिल्ला प्रशासनले यसअघि जारी गरेको निषेधित क्षेत्र घोषणाबाट पछि हटेर मंगलवार देखी २ बजेसम्म बजार खुला गर्न सकिने सूचना जारी गरेको छ ।

यसअघि निषेधित क्षेत्रमा १० बजेसम्म मात्र बजार खुला गर्ने छुट दिएको थियो । धरानमा स्थानीय व्यवसायीहरुका माग अनुसार दिउँसो १ बजेसम्म बजार खुला राख्न सकिने समझदारी भएको थियो ।

पछिल्लो पटक देशव्यापी रुपमा कोरोना भाइरस संक्रमण नियन्त्रणको उपाय लकडाउन, निषेधाज्ञा मात्र नभएको भन्दै व्यवसायी, श्रमजीवि, सर्वसधारण सामाजिक सञ्जाल लगायत विभिन्न फोरममा दबाब बढाउँदै आएका छन् । यसै कारण निषेधाज्ञा जारी राख्नुपर्ने अडान राख्दै आएका सरकारी निकाय जिल्ला प्रशासनहरु पछि हट्न थालेको यसले संकेत दिएको छ ।

सुनसरी जिल्ला प्रशासनद्धारा मंगलवार जारी सूचनामा भनिएको छ ‘बजार बन्द तथा बन्द व्यवसाय १० बजेसम्म खोल्ने व्यवस्था मिलाइएकोमा उद्योगी, व्यवसायी तथ अन्य समेतको मागमा छलफल हुँदा भदौ २३ गतेबाट २ बजेसम्म खोल्न पाउने र सोको अनुगमन सम्बन्धित स्थानिय तह तथा उद्योग वाणिज्य संघले गर्ने’ भनिएको छ ।

व्यवसायी सर्वसाधारबाट बजार खुला गर्ने दबाब अनुसार प्रशासन पछि हट्दै बजारमा चहलपहल बढेपनि धरानमा कोरोना संक्रमणको जोखिम भने घटेको छैन । यसको नियन्त्रण लकडाउन, निषेधाज्ञा होइन् भनिएतापनि विकल्पका रुपमा विश्व स्वास्थ्य संगठनले दिएको स्वास्थ्य सुरक्षा प्रोटोकलको पालना व्यवसायी तथा सर्वसाधारण गरेको पाइदैन् । यसले फेरि महामारीको संकट भने निम्त्याउने आशंका एकथरी धरानबासीमा बढेको पाइन्छ ।

जिल्ला प्रशासनले अघिल्लो निषाधाज्ञा सम्बन्धि सूचनामा स्वास्थ्य सुरक्षा प्रोटोकललाई प्राथमिकता दिएको थियो । तर त्यस्को अनुगमन स्थानिय सरकार उपमहानगरपालिका, उद्योग वाणिज्य संघले कडाइका साथ गरेको पाइएको छैन् । प्रहरीले भने दिउँसो १ बजेपछि दोकान, व्यवसाय बन्द गर्न हकारपकार गर्ने काम गर्दै आएको देखिएको थियो । पसल खुलागर्ने समय बढाएपनि स्वस्थ्य सुरक्षाका उपाय लागु गराउने कार्यलाई गम्भीरतापूर्वक नलिए सर्वसाधारण जोखिममा रहने सम्भावना बढेको छ ।

अघिल्लो पटक जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञालाई नै धरान उपमहानगरपालिले कार्यान्वयन गर्ने भदौ १८ गते अधिकारीक फेसबुक पेज मार्फत सार्वजनिक सूचना जारी गरेको थियो । भोलीपल्ट देखी विहन १० बजेसम्म बजार खुला गर्ने भनिएकोमा सोही दिनको साँझ धरान बजार खुलेको थियो । स्वास्थ्य सुरक्षाका वैकल्पिक उपायहरु व्यवसायी, पसलेहरुले अवलम्बन गरेका थिएनन् ।

निषेधाज्ञामा पसलहरु सुरक्षा प्रोटोकलका शर्तहरुमा पसलका व्यवसायी, कर्मचारीले अनिवार्य मास्क र पञ्जा प्रयोग लगाउनु पर्ने साथै मास्क नलगाई आएका ग्राहकलाई सामान/वस्तु बिक्री वितरण गर्न नपाइने निर्देशन गरिएको छ । ग्राहकका लागि पसल बाहिर हात धुने साबुन पानी अथवा स्यानिटाइजर अनिवार्य रुपमा राख्नुपर्ने । पसललाई दैनिक डिसइन्फेकसन गर्नुपर्ने पैसा लेनदेन गरेपछि प्रत्येक पटक स्यानिटाइजर प्रयोग गर्न निर्देश गरिएको छ । मूल्यसुची अनिवार्य राख्नुपर्ने शर्तहरु छन् ।

होटेल तथा रेष्टुरेन्टले अनलाइन अर्डर वा होम डेलिभरी तथा ग्राहक आफै आएर प्याकिंग गरी लैजाने टेकअवे विधिलाई प्रयोग गरी संचालन गर्ने भनिएको छ । निषेधाज्ञामा अन्तरिक यातायाताको साधनमा दर्जन शर्त राखि सिटी सफारी चल्न छुट गरेको छ ।

सफारीका सट्टा धरानमा चल्ने टेम्पोहरु प्रत्येक दिन डिसइन्फेक्सन गर्नुपर्ने छ । चालकले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने छ । प्रवेश गर्नुपूर्व यात्रुलाई स्यानिटाइजर उपलब्ध गराउनु पर्नेछ । मास्क नलगाएको यात्रुलाई सवारीसाधनमा प्रवेश दिन पाइने छैन् । भाडा लिने दिने गर्दा अनिवार्य रुपमा स्यानिटाइज गर्ने । सवारी साधनभित्र खाद्यान्न बिक्री वितरण कार्य गर्न नपाउने । यातायात मापदण्ड पालना गरी बढीमा २ जना मात्र यात्रु बोक्न नपाउने भनिएको छ । ती शर्तहरु अक्षरश पालना भएका छैनन् ।

सर्वसाधारणलाई एकै स्थानमा जम्मा भई भेला, जुलुस, सम्मेलन, छलफल, गोष्ठी गर्न बन्देजलाई निरन्तरात दिइएको छ । हाट, मेला, जात्रा, महोत्सव, पार्टी, भोज, भिडभाड हुने कार्य नगर्ने पहिलेकै बन्देज जारी छ । तर धरानमा जनप्रतिनिधिहरुकै उपस्थितिमा कतिपय यस्ता कार्यक्रमहरु भने भएको स्थानीय सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा देखिएका छन् । बजार खुलेपनि यस्ता स्वास्थ्य सुरक्षका विकल्पहरु कार्यान्वयन गर्न स्थानिय सरकार, सुरक्षा संयन्त्र गम्भिर हुन जरुरी देखिएको छ । फोटोः रोशन दहाल

टिप्पणी थप्नुहोस्