संस्कृत विद्यालयमा अनलाइन भर्ना

धरान । सरकारले ठप्प रहेको शैक्षिक क्षेत्रलाई चलायमान बनाउन अनलाइन सहित वैकल्पिक माध्यमबाट पठनपाठन गराई चालु शैक्षिक सत्रलाई खेर नजाने नीति सार्वजनिक गरेपछि धरानमा सामुदायीक माविहरुले पनि कक्षा ११ को अनलाइन भर्ना खुला गरेको छ ।

धरानमा सामुदायिक विद्यालयहरु मध्ये सार्वजनिक सूचना जारी गर्दै पहिलो पटक कक्षा ११ मा अनलाइन विद्यार्थी भर्ना शुरु गर्नेमा धरान–१६ स्थित चन्द्र संस्कृत माध्यमिक विद्यालय पहिलो बनेको छ ।

संस्कृत र साधारण दुवै विषयमा पठन पाठन हुने चन्द्र संस्कृतले अनलाइन माध्यमबाट यथाशिघ्र पठन पाठन हुने जानकारी सहित भर्ना खुला गरेको हो । माविले अनलाइन भर्ना हुन लिंक सार्वजनिक गरी विद्यार्थीलाई सिट सुरक्षीत गर्न आव्हान गरेको छ ।

यसअघि संस्थागत कलेजबाट धरान–१ स्थित धरान आदर्श माविले शुक्रबार कक्षा ११ को पहिलो चरणको प्रवेश परिक्षा सञ्चालन गरेको जनाएको थियो । कलेजले साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ट्राभल एण्ड टुरीजम, एजुकेशन र ह्युम्यानिटिज संकायका लागि प्रवेश परीक्षा भएको हो ।

उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ सुनसरीका अनुसार धरानका दर्जन बढी संस्थागत कलेज तथा इटहरी, रामधुनी, कालाबञ्जर, तरहरा दुहवीका डेढ दर्जन बढी कलेजहरुले भर्ना प्रकृया श्ुरु गरेको जनाएको छ । हिसानले अनुसार भदौ १७ देखी ३० सम्म भर्ना खुला गरी असोज आसोज ५ गते देखि कक्षा सञ्चालन हुने जनाएको छ । सामुदायीक विद्यालयहरुले भने त्यस्तो संस्थागत जानकारी भने सार्वजनिक गराएको पाइन्न ।

धरानको संस्थागत विद्यालयहरुमा मध्ये धेरै पुरानो २०२१ सालमा स्थापना भएको चन्द्र संस्कृत माध्यमिक विद्यालयले कोरोना महामारिका बिचमा पनि छात्रवृतिको प्याकेजसहित कक्षा ११ मा भर्ना खुला गरेको जनाएको छ । शैक्षिक सत्र २०७७ का लागि मासिक तिर्नुपर्ने शुल्कलाई हटाएर छात्रावासको मासिक ४०० सय रुपैया अनुदान समेत निश्चित कोटा आन्तरिक छात्रवृतिको व्यवस्था समेत गरिएको प्रधानाध्यापक अजय शाहीले बताए ।

विद्यालयले संस्कृत र साधारण दुवैमा विषयमा विद्यार्थीको भर्ना मागेको छ । संस्कृत विषय रोज्ने विद्यार्थीले संस्कृत अनिवार्य पढ्नै पर्ने, साधारण धारमा संस्कृत नपढे पनि हुने र शिक्षा संकायमा पढ्न पाउने छन् ।

छात्रावासको सुविधा संस्कृत अध्ययन गर्ने टाढाटाढाका विद्यार्थीलाई प्राथमिकता दिइने प्रधानाध्यापक शाहीले बताए । उनका अनुसार आधुनिक कम्प्युटरको ल्यावको व्यवस्था, सुविधा सम्पन्न पुस्तकालयको सुविधा विद्यालयमा उपलव्ध छ । उक्त माविमा २०६७ सालदेखि कक्षा ११ र १२ पठनपाठन सञ्चालन भएको हो ।

अघिल्ला वर्षहरुमा सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउदै आएको चन्द्र संस्कृत माविमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । कुनैबेला विद्यार्थी खोज्न गाउँ गाउँ जानु परेकोमा अहिले विद्यालय खोज्दै विद्यार्थी आउने गरेको शिक्षक विष्णु कार्की बताउँछन् । यसपालीका शैक्षिक सत्रमा भदौ महिना लाइ भर्नाको समय राखेर असोज पहिलो हप्ताबाट अनलाइनकै माध्यमबाट पठाइ सन्चालन गर्ने गृहकार्य भईरहेको उनले बताए ।

शिक्षक कार्कीका अनुसार विद्यार्थीले यसपाली घरमै वसेर अनलाइन भर्ना फारम भरी अनलाइनै पढ्न पाउने व्यवस्था गरिएको छ । कक्षा ११ र १२ मा संस्कृत अन्तर्गत वेद, व्याकरण, साहित्य, ज्योतिष, कर्मकाण्ड पढ्न पाउँछन् भने आधुनिक विषयमा अंग्रेजी र नेपालीलाई मुख्य विषय राखेर पढ्न पाउनेछन् । पुर्वीय र पाश्चात्य दुवै विषय एकै थलोमा अध्ययन गर्न पाउनु नै यस विद्यालयको मुख्य आकर्षण रहेको छ । विद्यालयमा कक्षा ११ र १२ मा ४०–४० जनाको कोटा निर्धारण गरिएको प्रधानाध्यापक शाहीले बताए ।
तस्विरः गोविन्द निरौला ।

टिप्पणी थप्नुहोस्