रुकुम पश्चिममा कोरोना नियन्त्रणमै सकियो १० करोड २२ लाख

-संवाददाता

रुकुम पश्चिम । रुकुम पश्चिमका स्थानीय कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि चार महिनाको अवधिमा १० करोड २२ लाख बढी खर्च गरेका छन् ।

आन्तरिक, संघीय तथा प्रदेश सरकारबाट र स्थानीय व्यक्ति तथा संघसस्थाबाट प्राप्त बजेट परिचालन गरेर कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा पूर्व तयारीको लागि चार महिनाको अवधिमा १० करोड २२ लाख ६८ हजार ३ सय ३४ बजेट खर्च गरेका हुन ।

रुकुम पश्चिममा भने यसको लागि गत आर्थिक वर्ष ०७६/०७७ को असार मसान्त सम्म १० करोड २२ लाख ६८ हजार ३ सय ३४ बजेट खर्च भएको हो । ६ ओटा स्थानीय तह र जिल्ला प्रशासन कार्यालय मार्फत चार महिनाको अवधिमा उक्त खर्च भएको हो ।

उक्त रकम मध्ये जिल्ला प्रशासन कार्यालय मार्फत १९ लाख ९९ हजार २ सय १ रुपैँया खर्च भएको छ भने १० करोड २ लाख ६९ हजार १ सय ३३ रुपैयाँ स्थानीय तहहरु मार्फत खर्च भएको छ । प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जिल्ला प्रशासन कार्यालयबाट भएको खर्च रकमले सबै स्थानीय तहमा स्वास्थ्य सामाग्री उपलब्ध गराइएको बताए । यसका साथै केहि सुरक्षाकर्मी र कर्मचारीहरुको लागि समेत आवश्यक स्वास्थ्य सामाग्री खरिद गरिएको प्रजिअ पौड्यालले बताए ।
सबैभन्दा बढी खर्च चौरजहारीमा

गत असार मसान्तसम्म सबैभन्दा बढि चौरजहारी नगरपालिकाले गरेको छ । चौरजहारीले ३ करोड ८९ लाख २० हजार ६ सय ५१ रुपैँया बिभिन्न शिर्षकमा खर्च गरेको चौरजहारी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । उनका अनुसार, पिसिआर ल्याब संचालन तथा स्वयमसेवक पारिश्रमिक समेत गरी ७४ लाख ९३ हजार ७ सय ८८ खर्च भएको छ ।

त्यस्तै, आईसोलेशन अस्पताल तथा क्वारेन्टिन निर्माणसँग सम्बन्धित कार्य र पिसिआर ल्याब संचालनको लागि १ करोड ९९ लाख ६१ हजार ९ सय सात रकम खर्च भएको छ । नगरपालिकाले दैनिक छाक टार्न मुस्किल भएका ६ सय २८ घर परिवारलाई २० लाखको राहत बितरण गरेको छ ।

अधिकृत केसीले प्राकृतिक प्रकोप रोकथाम, तयारी, उद्धार, राहात तथा पुनसर््थापना शिर्षक अन्तर्गत स्वास्थ्य समाग्री खरिद तथा जोखिम भत्ता लगायतको खर्च समेत गरेर ९४ लाख ६४ हजार ९ सय ५६ रुपैया खर्च गरिएको बताउँनुभयो । चौरजहारीले जिल्लामै पहिलोपटक पिसिआर परिक्षण प्रयोगशाला संचालनमा ल्याएको हो । यसका साथै नगरपालिकाले आईसोलेशन अस्पताल समेत सञ्चालनमा ल्याएको छ ।

आठबिसकोटमा अस्पतालमा खर्च बढी

आठबिसकोट नगरपालिकाले १ करोड ९६ लाख ६३ हजार ६ सय १२ रुपैयाँ खर्च गरेको जनाएको छ । नगरपालिकामा अस्पताल निर्माण तथा व्यवस्थापनको लागि १ करोड १७ लाख ८१ हजार ४ सय ७५ र क्वारेन्टिन निर्माण, संचालन तथा व्यबस्थापनको लागि ३१ लाख १४ हजार १ सय २४ रकम खर्च भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ध्रुवप्रसाद लम्सालले बताए ।

उनक अनुसार, स्वास्थ्य उपकरण तथा औषधिजन्य सामाग्री खरिदको लागि नगरपालिकाले ११ लाख ३३ हजार ३ रुपैंयाँ र बिपदको समयमा खटिएका कर्मचारीहरुलाई कार्यपालिकाको निर्णयअनुसार जोखिम भत्ता, खाजा तथा यातायात खर्चमा ३ लाख ३६ हजार ५ सय ३५ रकम खर्च भएको छ ।

अधिकृत लम्सालका अनुसार, गरिब तथा मजदुरी गरेर परिवार पाल्ने न्युन आयस्तर भएका सर्वसाधारणहरुलाई १८ लाख ६३ हजार ५ सय ४० रकम बराबरको राहत बितरण गरिएको छ भने देशका बिभिन्न स्थानमा रहेका सर्वसाधारणहरुलाई उद्धार गरेर नगरपालिका ल्याउँदा १४ लाख ३४ हजार ९ सय ३५ खर्च भएको छ ।

नगरपालिकाले स्थापनाको गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा बिभिन्न व्यक्ति तथा सस्थाले रु.१७ लाख २० हजार ७ सय ४० रुपैया जम्मा गरेको नगरपालिकाले जनाएको छ । आठबिसकोट नगरपालिकाले नगरमा आईसोलेशन अस्पताल समेत संचालन गरेको छ ।

मुसिकोट तेस्रो नम्बरमा
मुसिकोट नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत नरबिर खड्काले १ करोड ४६ लाख ९९ हजार ७ सय ३२ रुपैया कोरोनानयन्त्रण तथा रोकथाम कार्यको लागि खर्च भएको बताए । नगरपालिकाले बिभिन्न वडामा ज्याला मजदुरी गरेर जिविकोर्पान गर्दै आएका व्यक्तिहरुको लागि २७ लाख ४२ हजार ३ सय खर्च गरेर राहत समाग्री वितरण गरेको छ भने ३८ लाख ४२ हजार ४ सय ३२ रकम स्वास्थ्य सुरक्षा सामग्री खरिदको लागि खर्च गरेको छ ।

खड्काका अनुसार, नगरपालिकाले आईसोलेशन भवन निर्माणको लागि ३० लाख र क्वारेन्टिन व्यबस्थापन र सञ्चालनका लागि ४१ लाख ५० हजार खर्च भएको छ । नगरपालिकाले बिभिन्न स्थानबाट मजदुर र बिद्यार्थीलाई उद्धार गर्दा यातायात खर्च रु. ३ लाख ५० हजार र शंकास्पद बिरामीहरुलाई अस्पताल लैजाँदा एम्बुलेन्स भाडा शिर्षकमा १ लाख ४५ हजार खर्च भएको उल्लेख गरेको छ । त्यसैगरी कोरोना महामारी बिरुद्ध जनचेतनामुलक कार्यक्रम तथा सूचना प्रकाशन, प्रशारणको लागि ४ लाख ७० हजार रकम खर्च भएको छ ।

मुसिकोट नगरपालिकाले उक्त खर्च संघीय तथा कर्णाली प्रदेश सरकार, आन्तरिक र नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा भएको रकमबाट ब्यबस्थापन गरेको जनाएको छ । नगरपालिकाको प्रकोप व्यबस्थापन कोषमा नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरुबाट ८५ लाख ६८ हजार ८ सय ७७ प्राप्त भएको थियो भने बिभिन्न व्यक्ति र सस्थाबाट ४ लाख ५५ हजार १ सय ५ रुपैयाँ सहयोग स्वरुप प्राप्त भएको थियो ।

त्रिवेणीमा सबैभन्दा बढी खर्च

रुकुम पश्चिमका रहेका तीन ओटा गाउँपालिका मध्य त्रिवेणी गाउँपालिकाले सबैभन्दा बढी बजेट खर्च गरेको जनाएको छ । गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रणका लागि १ करोड २२ लाख १६ हजार ९२ बजेट खर्च गरेको स्वास्थ्य शाखा संयोजक बिरबहादुर डाँगीले बताए । उनकाअनुसार, गाउँपालिकाले सबैभन्दा बढी ५३ लाख ८८ हजार ४ सय ७२ रुँपैया क्वारेन्टिन सञ्चालन तथा व्यबस्थापनमा र ३४ लाख ७ हजार ५ रुपैया स्वास्थ्य सामाग्री खरिदमा खर्च गरेको छ ।

स्वयम् सेवक परिचालनमा १५ लाख ८१ हजार, आईसोलेसन वार्ड निर्माणमा ८ लाख २८ हजार, नागरिक उद्धारमा ५ लाख २९ हजार ९ सय, सूचना तथा संचार खर्चमा ९९ हजार २ सय र विविध शिर्षकमा ३ लाख ८२ हजार ५ सय १५ रकम खर्च भएको स्वास्थ्य संयोजक डाँगीले बताए । उक्त खर्चको व्यबस्थापनको लागि कर्णाली प्रदेश सरकारले १५ लाख र पालिकाले स्थापना गरेको कोषमा १० लाख जम्मा भएको र बाँकी खर्च गाउँपालिकाले ब्यहोरेको उनले बताए ।

बाँफिकोट गाउँपालिका
बाँफिकोट गाउँपालिकाले असार मसान्तसम्म बिभिन्न शिर्षकमा ९५ लाख ३२ हजार ३ सय ८३ रकम खर्च गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङले कोरोना रोकथाम तथा उपचारको लागि निर्माण गरिएका क्वारेन्टिनको ब्यबस्थापन र सञ्चालनका लागि १६ लाख ६० हजार २ सय २८ र स्वास्थ्य उपकरण तथा औषधिजन्य सामाग्री खरिदको लागि २१ लाख खर्च भएको बताए ।

अधिकृत गुरुङका अनुसार गाउँपालिकामा ३७ लाख ५० हजारको राहात बितरण गरिएको छ भने २० लाख २२ हजार १ सय ५५ रुपैयाँ जोखिम भत्ता शिर्षकमा खर्च गरिएको छ ।

सानीभेरीमा सबैभन्दा कम खर्च

जिल्लाको सानीभेरि गाउँपालिकाले भने गत असार मसान्तसम्म सबैभन्दा कम खर्च भएको जनाएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपाल सिं बिष्टले गाउँपालिकाले गत आर्थिक बर्षमा गाउँपालिकाले ५२ लाख ३६ हजार ६ सय ६३ खर्च गरेको बताए ।

गाउँपालिकाले औषधिजन्य सामाग्री खरिदको लागि ९ लाख ३६ हजार ३८ र क्वारेन्टिन संचालन तथा व्यबस्थापनको लागि २५ लाख ४४ हजार ३ सय ४२ खर्च गरेको छ । उनका अनुसार, खाद्यन्न तथा राहत वितरणको लागि १० लाख १ हजार ७ सय ८८ र पिसिआर परिक्षण तथा ढुवानीको लागि ३० हजार मात्र खर्च भएको छ ।

अलपत्र मजदुर तथा बिद्यार्थीको उद्धारको लागि यातायात शिर्षकमा ७ लाख २४ हजार ४ सय ९४ रकम खर्च भएको अधिकृत बिष्टले उल्लेख गरे । यातायात र राहत बितरणमा कर्णाली प्रदेश सरकारले सहयोग गरेको थियो भने अन्य सबै रकम गाउँपालिकाले ब्यहोरेको बिष्टले बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री